बैंककको एक बारमा भीषण आगलागी : ३० जनाको मृत्यु, सुरक्षा लापरवाहीबारे अनुसन्धान सुरु
एजेन्सी : थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
दुर्घटनापछि थाई अधिकारीहरूले बार व्यवस्थापनको गम्भीर लापरवाहीका कारण यो क्षति भएको हुन सक्ने आशंका गर्दै विस्तृत अनुसन्धान सुरु गरेका छन्।
दुर्घटनामा बाँच्न सफल प्रत्यक्षदर्शीहरूका अनुसार आगलागी हुँदा आपत्कालीन निकासका ढोकाहरू बन्द थिए भने बाहिर निस्कने मार्ग देखाउने कुनै पनि साइनबोर्ड राखिएका थिएनन् ।
थाई प्रहरीका अनुसार स्टेज नजिकैबाट सुरु भएको आगो बार सजावटका लागि प्रयोग गरिएका अत्यधिक प्रज्वलनशील सामग्रीहरूका कारण तीव्र रूपमा फैलिएको थियो।
प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको सर्ट सर्किटका कारण आगो सल्केको र तत्कालै बारको सम्पूर्ण विद्युत आपूर्ति बन्द भएको देखाएको छ प्रहरीले जनाएको छ।
मंगलबार बिहानसम्म पहिचान भएका २७ जना मृतक र ७० भन्दा बढी घाइतेमध्ये २४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
उद्धार टोलीका अनुसार अधिकांश पीडितहरू बारको अन्तिम भागमा रहेको शौचालयमा मृत फेला परेका थिए। विज्ञहरूका अनुसार आगो लागेपछि ग्राहकहरू ज्यान जोगाउन शौचालयको दिशातिर भागेका थिए, तर त्यहाँ पुगेपछि बाहिर निस्कने बाटो नपाउँदा उनीहरू भित्रै थुनिएका थिए।
इन्जिनियरिङ इन्स्टिच्युट अफ थाइल्याण्डका अग्नि सुरक्षा विज्ञ बुसाकोर्न साएनसुकले घटनास्थलको निरीक्षणपछि भने, "शौचालयनजिकैको आपत्कालीन ढोका लक गरिएको थियो भने मुख्य प्रवेशद्वारका दुईवटा ढोकाहरू पनि फर्निचर र अन्य सामानले आंशिक रूपमा थुनिएका थिए। यदि आपत्कालीन संकेत चिन्हहरू बलिरहेका भए, मानिसहरूले ढोका थुनिएको देख्न सक्थे र सायद त्यसलाई खोलेर निस्कन सफल हुन्थे।"
पूर्वाधार इन्जिनियरिङका विशेषज्ञ प्राध्यापक वोर्साक कानोक नुकुलचाईका अनुसार धेरैजसो पीडितहरूको मृत्यु आगोले पोलेर भन्दा पनि विषाक्त धुवाँका कारण भएको हो। प्रज्वलनशील सामग्री र प्लास्टिकका फूलहरूका कारण आगो सल्किएपछि कार्बन मोनोअक्साइड र हाइड्रोजन साइनाइड जस्ता घातक ग्यासहरू उत्पादन भएका थिए, जसलाई अग्निविज्ञानमा 'टक्सिक ट्वीन्स' भनिन्छ। यसले मानिसलाई केही सेकेन्डमै बेहोस बनाउँछ।
उक्त बार 'मनोरञ्जन स्थल'का रूपमा नभई 'लाइभ म्युजिकसहितको रेस्टुरेन्ट' का रूपमा दर्ता भएको पाइएको छ। जसका कारण यसले आगोप्रतिरोधी सामग्री प्रयोग गर्नुपर्ने कानुनी बाध्यता थिएन। यस घटनापछि बैंकक प्रशासनले रेस्टुरेन्ट र बार दुवैमा प्रयोग गरिने निर्माण सामग्रीसम्बन्धी नियमहरूको पुनरावलोकन गरिरहेको जनाएको छ।
थाई सञ्चारमाध्यम पीबीएस थाइका अनुसार उक्त बारका सञ्चालकको स्वामित्वमा रहेको अर्को एउटा पब पनि सन् २०१९ को डिसेम्बरमा थाइल्याण्डको यासोथोन प्रान्तमा जलेर नष्ट भएको थियो। यद्यपि, सो घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने भएको थिएन।
असार ३०, २०८३ मंगलबार १३:५१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।