साउनमा चार नेपाली फिल्म रिलिज : २२ गते ‘कमला मिस’ भर्सेज ‘हली’

साउनमा चार नेपाली फिल्म रिलिज : २२ गते ‘कमला मिस’ भर्सेज ‘हली’

काठमाडौं : आगामी साउन २२ गते नेपाली फिल्म हलमा दुई पुस्ता र दुई फरक धारका फिल्म प्रदर्शनमा आउने भएका छन्। एकातिर निर्देशक नीर शाहको ‘कमला मिस’ प्रदर्शनमा हुनेछ भने अर्कोतिर क्रान्तिकारी सन्देश बोकेको ‘हली’लाई पर्दामा देख्न पाइने छ। 

अनुभवी टिमसँग व्यावसायिक प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्न ‘हली’ युनिट यतिबेला खेतका गरादेखि स्कुलका कक्षाकोठासम्म आक्रामक प्रचारमा होमिएको छ।

असार १५ गते ललितपुरको सुनाकोठी पुगेर धान रोपेको फिल्म 'हली'को निर्माण टिमले त्यसपछि स्कुल तथा कलेजसम्म पुगेर प्रचार गरिरहेको छ। उनीहरू फिल्म प्रचारकै लागि दोहोरी कार्यक्रम इन्द्रेणीदेखि नव क्लबसम्म पुगेका छन्। यति धेरै प्रचारले दर्शकलाई हलसम्म कत्तिको तान्न सफल हुन्छ, त्यो भने प्रदर्शनपछि नै प्रष्ट हुनेछ।

ओम प्रतिकको लेखन तथा निर्देशक निर्माण भएको फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै स्वयं निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्।
 
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तिकारी शैलीको छ। जहाँ  देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ। फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्।

साउन महिनामा ४ वटा नेपाली फिल्मले प्रदर्शन गर्दैछन्। जसमा ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शन हुँदैछ भने ‘हली’ र ‘कमला मिस’ साउन २२ मा भिड्दै छन्। साउनको अन्तिम महिना अर्थात् २९ गतेदेखि एकलौटी ‘लज्जावती’ प्रदर्शनमा आउने तयारीमा छ।

असार २९, २०८३ सोमबार १६:१९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।