बालेन सरकारको ‘सुरक्षित होल्डिङ सेन्टर’मा डुब्यो सुकुमबासीको आत्मसम्मान

बालेन सरकारको ‘सुरक्षित होल्डिङ सेन्टर’मा डुब्यो सुकुमबासीको आत्मसम्मान

काठमाडौं : खोला किनारमा बाढीको डर हुन्छ भनेर बस्तीबाट उठाएर सरकारले कीर्तिपुरस्थित राधास्वामीमा बनाएको होल्डिङ सेन्टर  अहिले हिलोले भरिएको छ। जुन बाढीको त्रास देखाएर सरकारले सुरक्षा बल लगाएर बस्तीबाट धपायो होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरुले त्यही नियति भोगे।

वैशाख १२ गते बर्खाको समयमा बागमतीमा आउने ‘बाढीबाट सुरक्षित स्थानमा लान लागेको’ भन्दै सरकारले घर भत्काएर  १ सय ५४ जनालाई कीर्तिपुरको होल्डिङ सेन्टरमा राखेको थियो। तर शनिवार राति परेको वर्षाका कारण बागमती खोलाको बाढीले होल्डिङ सेन्टर पुरै डुब्यो।  सुकुमबासीले डोजरबाट जोगाएको अलिअलि सामान पनि सबै डुब्यो।

शुक्रवार राती आएको बाढीले डुबाएको सुकुमबासी होल्डिङ सेन्टर।शनिवार कीर्तिपुरको पुग्दा होल्डिङ सेन्टरमा सुकुमबासीका दैनिक प्रयोग गर्ने ओढ्ने अनि ओछ्याउने केही सद्दे देखिएनन्। औषधिदेखि बालबालिकाको किताबसम्म सबै हिलोमा डुबेका थिए।

सरकारले होल्डिङ सेन्टरको रासनपानी बन्द गराएर जवर्जस्ती लखेट्न खोजे पनि विकल्पहीन उनीहरू त्यहीँ बसिरहेका थिए। सरकारले खाना र पानी बन्द गरे पनि नहडबडाएका उनीहरूको बाढीको सामु केही लागेन। अन्तमा जसरी सुरक्षाकर्मीले बास उठाएर होल्डिङ सेन्टरमा जवर्जस्ती ल्याएको थियो त्यसरी नै शनिवार हिलोले लतपतिएकै सामानसँगै जबर्जस्ती बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा लग्यो।

अँध्यारो हुँदै गर्दा पनि केही परिवार भने अब अन्य होल्डिङ सेन्टर नजाने भनेर हिलोमै बसिरहेका छन्। यो समाचार तयार पार्दासम्म जम्माजम्मी १२ परिवार अझै पनि कीर्तिपुरको होल्डिङ सेन्टरमै बसेका छन्। उनीहरूसँगै साना बालबालिका समेत हिलो र पानीले भिजेको चिसो म्याटमा पल्टिरहेका थिए।

होल्डिङ सेन्टरमा हिलाम्मे भएको सुकुमबासीका सामानहरु। शनिवार साँझ होल्डिङ सेन्टर पुग्दा केही सुकुमबासीहरु भोक मेट्न बिस्कुट र चाउचाउ खादै थिए। केही हिलोबाट आफ्नो सामान निकाल्दै थिए। हिजोकैबीचमा बालबालिकाहरूको जोगिएको किताब र कापीहरू समेत पुरिएको थियो।

दश वर्षजतिका विश्वनाथ गुरुङ त्यही हिलोले छोपिएको किताब वरपरी देखिए। यो किताब कसको हो ? उनले छातीमा हात राखेर संकेत गरे ‘मेरो हो।’ नयाँ किताब हो यो ? भन्ने प्रश्नमा उनले अस्ति नै स्कुलमा दिने बेला तपाईँ पनि आउनु भएको थियो है भने।

उनले उकेराकर्मीलाई भने “बालेनलाई छिट्टै फेरि नयाँ किताब दिनु अनि अर्को पाली यस्तो हिलो हुने ठाउँमा हामीलाई नराख्नु भन्नु न” भन्दै उनी हिलो खेल्नतिर लागे।

उनीसँगै अहिले पनि दश जना भन्दा बढी बालबालिका यहाँ हिलोमै थिए। विश्वनाथ सात कक्षामा पढ्ने आफ्नो दिदीसँग हजुरआमाको साथमा यहाँ छन्। उनको हजुरआमा यी साना नानीहरुलाई राति नयाँ ठाउँमा नलाने भनेर बसेकी थिइन्।

सरकारी तथ्याङ्क अनुसार यो होल्डिङ सेन्टरमा ५८ जना बालबालिका छन्। चार जनालाई विभिन्न संस्थाले होस्टेलमा पढ्न लगे पनि बाँकी नजिकैको जनविकास माध्यमिक विद्यालयमा अस्थायी रूपमा पढ्दै थिए। विश्वदीपसँगै उनकी दिदी विष्णुमाया र अन्य बालबालिकाहरू त्यही पढ्दै आएका थिए।

बागमतीको बाढी पस्दा हिलाम्मे भएको बस्ने क्षेत्र अनि त्यतै पुरिएका सामान खोज्दै एक सुकुमबासी।तर होल्डिङ सेन्टर हिलोमा डुबेसँगै अब सरकारले अन्तै सार्न थालेको छ। त्यता स्कुल छ/छैन थाहा छैन। होल्डिङ सेन्टरसँगै अब उनीहरूको अस्थायी रूपमा पढ्न पाउने अधिकार समेत डुबेको देखियो।

शनिवार सुरक्षाकर्मी र प्रधानमन्त्री वालेन्द्र शाहको टिमका सदस्यहरू होल्डिङ सेन्टरमा रहेका सुकुमबासीलाई अन्त जान फकाइरहेका थिए। तर असार १९ गतेबाटै खाना र पानी समेत नदिएर लखेट्न खोजेको सरकारको प्रतिनिधीप्रति उनीहरूको भरोसा देखिएन।

केही ठाउँ नछाड्ने भनेर त्यतै बसिरहेका थिए। केही भक्तपुरको बोडेमा रहेको कृषि तालिम केन्द्र, नगरकोटको खरिपाटीमा रहेको विद्युत् तालिम केन्द्रमा जान प्रहरीको पछि लागेर बस चढिरहेका थिए।

हिलाम्मे डसनाको छेउमा डुबेको पुस्तक।त्यहाँ प्रहरीले कसलाई कुन होल्डिङ सेन्टरमा लगिएको भन्ने जानकारी दिएन। अहिले यहाँका विस्थापितलाई लगिएको बोडेको होल्डिङ सेन्टरमा पहिला अन्य स्थानबाट विस्थापित गरिएका सुकुमबासीहरु बसेका थिए। सरकारले अब खाना दिन नसक्ने भनेर त्यहाँका सुकुमबासीहरुलाई जवर्जस्ती लखेटेको थियो।

खरिपाटीको होल्डिङ सेन्टर पनि त्यसरी नै खाली गर्न खोजे पनि अझै केही परिवारहरू बसिरहेका छन्। सरकारले नगरकोटको तालिम केन्द्रमा रहेका सुकुमबासीहरुलाई भने जवर्जस्ती बसमा राखेर काठमाडौंको सडकमा ल्याएर छाडेको थियो।

सरकार विरुद्ध बोलेको जरिवाना: दश हजार रुपैयाँ र नौ दिन हिरासत !

त्यही हिलोका बिचमा भेटिए डम्बर तामाङ जो वालेन्द्र शाह नेतृत्वको सरकार विरुद्ध बोल्दा पक्राउ परेका थिए। उनी नौ दिन प्रहरी हिरासतमा बसेर १० हजार धरौटीमा छुटेका रहेछन्।

“बल्ल बल्ल त सरकारले पढाउने भनेर मेरो नानीहरूलाई नजिकैको विद्यालयमा पढ्न दिएको थियो। अब म यहाँबाट फेरि त्यति टाढा कसरी जाऊँ?” डम्बरले उकेरासँग भने “म त कतै पनि जान्न। सरकारले हाम्रो स्थायी बन्दोबस्त गर्नै पर्छ।”

हिलाम्मे टहरामा सामान खोज्दै एक बालिका।उनी अनामनगर स्थित प्रहरी कार्यालयमा थुनिएका थिए। अहिले श्रीमतीसँगै चार वर्ष र आठ वर्षकी दुई छोरीसँगै उनी होल्डिङ सेन्टरमा छन्। साना नानीहरूलाई लिएर यो भन्दा टाढा नजाने भन्दै उनी टेन्टमै बस्ने बताए।

“बरु पहिला नै केही गर्दैनौ भनेको भए हुने। तर व्यवस्थापन गर्छौँ भनेर लगभग तीन महिना यसरी राखियो। हामीलाई त कहीँको पनि बाँकी राखेनन्,” हिलोबाट खुट्टा झिक्दै मदन कामीले भने। सन्तान बिरामी भएपछि सँगै श्रीमान-श्रीमती नै कान्ति बाल अस्पतालमा गएको बेलामा सेल्टरमा बाढी पसेको रहेछ।

पाँच वर्षीय उनको छोरीको आँखा पाकेको र ११ महिने सन्तानलाई  बेस्सरी ज्वरो आएपछि उनीहरू अस्पतालमै बसेका रहेछन्। उनले शनिवार बिहानै बाढी आएको थाहा पाए। उनले अस्पतालको चिकित्सकलाई हामी सुकुम्बासी हौँ भनेपछि ‘ल तपाईँहरूको ठाउँ त डुबिसक्यो नि’ भनेका रहेछन्। त्यसपछि उनी दिउस होल्डिङ सेन्टर आइपुगे।

हिलाम्मे सामान बोकेर अर्को सेल्टरमा जाँदै एक सुकुमबासी ।उनी आउँदा लगभग सबै सामान हिलोले पुरेर पनि सुकिसकेका थिए। उनले बिरामी सन्तान र श्रीमतीलाई प्रहरीको गाडीमा राखेर बोडेको होल्डिङ सेन्टरमा पठाए। उनी भने केही सामान बचेको छ कि भनेर खोज्दै थिए।

“मेरो नानीहरूलाई सन्चो भएको भए म यतै बसेर सामानहरू खोज्थे। तर उनीहरूलाई मेरो आवश्यकता छ। यो देशमा गरिबलाई यतिसम्म रुवाउँछन् भनेर आज झन् बढी महसुस भयो” उनले भने।

असार २८, २०८३ आइतबार ००:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।