जेनजी अभियन्ता पक्राउलाई लिएर सरकारमाथि गगनको प्रश्न : 'राज्य यति धेरै असहिष्णु किन?'

जेनजी अभियन्ता पक्राउलाई लिएर सरकारमाथि गगनको प्रश्न : 'राज्य यति धेरै असहिष्णु किन?'

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अगुवाहरूलाई निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै लज्जास्पद र घोर निन्दनीय रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत थापाले बाढीपीडितको नाजुक अवस्थाबारे चासो राख्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरूमाथि प्रहरीले गरेको धरपकडको भर्त्सना गरे। प्रहरीले कीर्तिपुरबाट माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतका युवाहरूलाई नियन्त्रणमा लिएको थियो।

लोकतन्त्रमा नागरिकले प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार भएको उल्लेख गर्दै थापाले आलोचना गर्नेहरूलाई दमन गर्नु सत्ताको कायरता भएको टिप्पणी गरे। उनले आलोचनालाई दमन गरेर नभई संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व भएको स्मरण गराए।

"लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन। सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो," उनले लेखेका छन्, "फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!"

पक्राउ गरिएका सबै युवाहरूलाई अविलम्ब र निशर्त रिहा गर्न माग गर्दै थापाले भनेका छन्, "करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?" कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका बाढीपीडित सुकुमबासीहरूको अवस्थाबारे बुझ्न पुगेका जेनजी अगुवाहरूलाई शनिबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको थियो।

असार २७, २०८३ शनिबार २१:३९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।