चार वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध विमानस्थल

चार वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध विमानस्थल

बुटवल : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित उडानको प्रतीक्षामा छ।

लुम्बिनीलाई विश्वसँग प्रत्यक्ष जोड्दै पर्यटन र व्यापार प्रवर्द्धनको उद्देश्यले करिब ३५ अर्ब रुपैयाँको लगानीमा निर्मित विमानस्थल अहिले चार्टर उडान र आन्तरिक सेवामा मात्र सीमित हुन पुगेको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार भौतिक पूर्वाधार पूर्णरूपमा तयार भए पनि सरकारी नीतिगत समन्वयको अभाव र यात्रु व्यवस्थापनमा कमजोरी हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन सकेको छैन।

"अत्याधुनिक टर्मिनल भवन, अध्यागमन काउन्टर, एक्स-रे मेसिन, आधुनिक ब्यागेज प्रणाली र तीन किलोमिटर लामो रनवे सबै तयारी अवस्थामा छन्। यहाँ मुख्य चुनौती पूर्वाधारको अभाव होइन, यात्रु व्यवस्थापन र सरकारी नीतिगत समन्वयको कमजोरी हो," उनले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले बैंकक-भैरहवा-बैंकक रुटमा नियमित उडान सञ्चालन गरे पनि ‘विन्टर सिड्युल’ समाप्त भएपछि अहिले सेवा रोकेको छ।

विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याउन एयरलाइन्स, ट्राभल एजेन्सी, अन्तर्राष्ट्रिय एयरलाइन्सका जनरल सेल्स एजेन्ट (जीएसए) र म्यानपावर कम्पनीबिच समन्वय हुनु आवश्यक भए पनि सरकारी तवरबाट यसबारे ठोस पहलकदमी हुन सकेको छैन। अहिले पनि श्रम स्वीकृत लिन वा नवीकरण गर्न काठमाडौं जानुपर्ने बाध्यता यात्रुको छ।

भैरहवा विमानस्थलमा ‘इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) हवाई प्रविधिसमेत जडान गरिएको छ। कम दृश्यतामा पनि सुरक्षित अवतरण गराउन सक्ने यो प्रणाली सञ्चालनका लागि आवश्यक ‘सेकेन्डरी प्रोटेक्सन जोन’को केही भाग भारतीय भूभागमा पर्छ। यसबारे पनि सरकारले अहिलेसम्म भारतसँग कूटनीतिक पहल गरेर समाधान निकाल्न सकेको छैन।

सहुलियत धेरै, परिणाम कम
सरकारले अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, नेभिगेसन र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ। ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशतसम्म छुट र काठमाडौंको तुलनामा सस्तो हवाई इन्धनको व्यवस्था पनि गरिएको छ।

तर पनि विमान कम्पनीहरूले यहाँबाट उडान भर्न चासो दिएका छैनन्। विदेशी कम्पनीका विमानहरू मात्र होइन, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न चासो दिएका छैनन्। यस्ता एयरलाइन्सलाई बाध्यकारी बनाउन पनि सरकारले कुनै पहल गरेको छैन।

तथ्यांकले देखाउँछ कमजोर उपयोग
अन्तर्राष्ट्रिय उडानको तथ्यांकले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षाअनुसार गति लिन देखाउँछ। सन २०२२ देखि २०२६ को मे महिनासम्म एक हजार २१८ अन्तर्राष्ट्रिय उडान भए पनि जम्मा ६९ हजार ३१६ यात्रुले मात्रै सेवा लिएका छन्।

सन २०२३ मा यात्रु संख्या चार हजार ७५१ मा खुम्चिएको थियो भने सन २०२५ मा १९ हजार ५९० पुगे पनि यो विमानस्थलको क्षमताअनुसार सन्तोषजनक मानिँदैन। चालु वर्षको मे महिनासम्म भने चार हजार १५३ यात्रुले मात्र अन्तर्राष्ट्रिय उडान गरेका छन्।

निजी क्षेत्र भन्छन्: सरकारको स्पष्ट नीति कहिले ?
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरेको छ। साथै, विमानस्थललाई पर्यटक र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि थप सहज बनाउन आवश्यक सेवा-सुविधा विस्तार गरिने तथा अन्तर्राष्ट्रिय कार्गो सेवा सञ्चालनका लागि विशेष सहुलियत उपलब्ध गराइने बजेटमा बजेटमा उल्लेख छ।

बजेटमा नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनीलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिने नीति पनि समावेश गरिएको छ। 

तर निजी क्षेत्र भने अझै पनि सरकारको नीति कार्यान्वयन प्रति शंका गर्छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले सरकारले छुट्टै हवाई नीति भैरहवा विमानस्थलका लागि ल्याउनुपर्ने बताए।

"सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्छ। काठमाडौंबाट उडान गर्नेहरूलाई अनिवार्य भैरहवाबाट पनि उडान र अवतरण गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्नुपर्छ। त्यसका लागि सरकारले आवश्यक पर्ने कार्यालयहरू भैरहवामा खोल्नुपर्छ," उनले भने।

पर्यटन व्यवसायी माधव नेपालले राज्यको अर्बौं रुपैयाँको लगानीलाई उपयोग हुने गरी सरकारले योजना बनाउनुपर्ने बताए। "विमानस्थल देखेर यहाँ स्तरीय होटलहरुमा लगानी भइरहेको छ। तर विमानस्थल सुनसान हुनु सरकारको लाचारीपन हो," उनले भने।

विमानस्थल हेरेर लगानी गरेको व्यवसायीहरू संकटमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा ठूला लगानीका होटल र पर्यटक पूर्वाधार बनिरहेका छन्। तर विमानस्थल अपेक्षित ढंगले सञ्चालन नहुँदा अहिले व्यवसायी मर्कामा परेका छन्। 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने भन्दै यस क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटलहरु खुले पनि अहिले केही होटल बन्द हुने अवस्थामा पुगेका छन्। कतिपय होटलहरु बैंकको लोन तिर्न नसकेपछि बैंकलाई नै बुझाउन बाध्य भएका छन्।

लुम्बिनीमा रहेको होटल ‘ग्रान्ड कस्मो लुम्बिनी’ सञ्चालन आएको केही वर्षपछि नै संकटमा परेको छ। ३५ वटा ‘भिआइपी रुम’सहित टपमा ‘स्वीमिङ’ पुल जडित यो होटल सञ्चालक  अक्रामउद्दिन खानले २० करोडको लगानीमा निर्माण गरेका थिए। तर कोभिड महामारी र विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यो होटल बैंकले तानेको हो।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले विमानस्थललाई लक्षित गरेर खोलिएका सुविधा सम्पन्न १ सय बढी होटलहरु बन्द भइसकेको बताए। "विमानस्थल हेरेर पर्यटक लक्षित होटलहरुमा खर्बौं रुपैयाँ लगानी भएको छ। तर अहिले होटल सञ्चालन अकुपेन्सी समेत नहुँदा होटल धमाधम बन्द हुने अवस्थामा पुगेका छन्," उनले भने।

उनले सरकारले अर्बौं रुपैयाँ लगानी गरेर तयार गरेको विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न गम्भीर पहलकदमी गर्नुपर्ने बताए। उनले भारतले निजी क्षेत्रसँग सहकार्य गर्ने बजेटमार्फत बताए पनि त्यसको स्पष्ट कार्ययोजना तत्काल बनाउनुपर्ने बताए।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत झन्डै ४० अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो विमानस्थलको औपचारिक उद्घाटन २०७९ साल जेठ २ गते २५६६ औँ बुद्ध जयन्तीका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य रूपमा गरेका थिए।

उद्घाटनकै दिन कुवेतको जजीरा एयरवेजले न्यारोबडी विमानमार्फत एक सय ७८ यात्रु लिएर भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान अवतरण गराएको थियो।

पछि कुवेत-भैरहवा रुटमा जजीरा एयरवेज र दुबई-भैरहवा रुटमा फ्लाइदुबईले सीमित उडानहरू सञ्चालन गरे। तर ती उडानहरू नियमित, दीर्घकालीन र व्यावसायिक रूपमा स्थिर हुन सकेनन्। त्यसपछि विमानस्थल लगभग घरेलु उपयोगमै सीमित हुन पुग्यो।

लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको यो विमानस्थलले पश्चिम नेपालमा आर्थिक क्रान्ति ल्याउने अपेक्षा गरिएको थियो। तर यात्रु माग कमजोर हुनु, अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न नसक्नु र नीति स्पष्ट नहुनुले परियोजना लक्ष्यभन्दा धेरै टाढा पुगेको छ।  
 

असार २६, २०८३ शुक्रबार २२:१९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।