'आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ?'
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले एउटा नागरिकले आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने स्थिति सिर्जना हुनुले राज्य सञ्चालनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै थापाले उक्त घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताएका छन्।
"हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नै पर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ?," उनले अगाडि भनेका छन्, "राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?"
नागरिकले राज्यबाट आड र भरोसा पाउनुपर्नेमा किन चुकेका छन् भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ छ। भविष्यमा कुनै पनि नागरिकले यस्तो कठोर बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै मृतक नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने उल्लेख गर्दै थापाले गणेश नेपालीका परिवारलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अनुरोध गरे।
"यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो," उनले भनेका छन्, "यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ-आफ्नो ठाउँबाट सोचौं र सक्दो सहयोग गरौं।"
असार २६, २०८३ शुक्रबार १४:३३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।