रैथाने उत्पादनलाई शहरसँग जोड्न बुटवलमा ‘गाउँको घर’

रैथाने उत्पादनलाई शहरसँग जोड्न बुटवलमा ‘गाउँको घर’

बुटवल : बुटवलको व्यस्त बजार सुख्खानगरमा पाइला टेक्नेबित्तिकै एउटा घरले जो कोहीको ध्यान तान्छ। कालो काठका झ्याल, माटोको रङ, पुराना नेवारी शैलीका झ्यालढोका, आँगन र वरिपरि सजाइएका घरेलु सामग्रीले शहरको बीचमै एउटा गाउँ उभिएजस्तो भान गराउँछ।

त्यही अनुभूति दिलाउन युवा उद्यमी समुन्द्र घिमिरे क्षेत्रीले ‘गाउँको घर’ सञ्चालनमा ल्याएका छन्। बुटवल-८, सुख्खानगरका समुन्द्रका लागि यो केवल व्यापार मात्र होइन, सात वर्षको वैदेशिक रोजगारीबाट फर्केर सुरू गरेका हुन्।

तीन दाजुभाइमध्येका कान्छा समुन्द्रले कक्षा १२ सम्मको अध्ययन पूरा गरेपछि रोजगारीको खोजीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए।

करिब सात वर्षको वैदेशिक बसाइका क्रममा उनले युरोपका केही देशको भ्रमण गर्ने अवसर पनि पाए। विकसित मुलुकको कृषि, पर्यटन र स्थानीय उत्पादनको बजारीकरणको शैलीलाई नजिकबाट नियालेका उनले त्यही अनुभवलाई आफ्नै गाउँमा उतार्ने सपना बोके।

फलतः सन् २०२० को दशैंको समयमा उनले वैदेशिक रोजगारी त्यागेर स्वदेश फर्किने निर्णय गरे। धेरैजसो युवाले विदेशमै आफ्नो भविष्य देखिरहेका बेला उनले भने आफ्नै माटोलाई सम्भावनाको केन्द्र बनाउने अठोट लिए।

गाउँबाट सुरु भएको आत्मनिर्भरताको यात्रा
स्वदेश फर्किएलगत्तै उनले पाल्पाको डुम्रे क्षेत्रमा १७ रोपनी जग्गा खरिद गरेर कृषि र ग्रामीण पर्यटनलाई सँगै अघि बढाए। त्यहीँ ‘गाउँको घर इको फार्म’ स्थापना गर्दै कृषि, आतिथ्य र ग्रामीण जीवनशैलीलाई जोड्ने अभ्यास सुरू गरे।

फार्ममा अहिले करिब ८ सय बोट कफी हुर्किरहेका छन्। कफीका बिरुवासँगै विभिन्न कृषि उत्पादन र ग्रामीण पर्यटनका गतिविधि पनि विस्तार हुँदै गएका छन्। यस फार्मले प्रत्यक्ष रूपमा आठ जनालाई रोजगारी समेत प्रदान गरेको छ।

‘विदेशमा बसेर धेरै कमाइ गर्न सकिन्थ्यो होला, तर आफ्नै गाउँमा केही नयाँ सिर्जना गर्दा पाइने सन्तुष्टि त्यहाँ कतै मिल्दैन। गाउँलाई छाड्ने होइन, गाउँलाई नै अवसर बनाउने सोचले म फर्किएको हुँ’, समुन्द्रले भने।

शहरमा गाउँको स्वाद
त्यही सोचको विस्तार हो, बुटवल उपमहानगरपालिका-८, सुख्खानगरमा करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘गाउँको घर’। यो कुनै सामान्य पसल मात्र होइन। यहाँ गाउँमा उत्पादन भएका खाद्यान्न, हस्तकला, परम्परागत पोशाक र स्थानीय उत्पादनहरू एउटै छानामुनि उपलब्ध छन्।

यसअघि ‘गाउँको घर इको फार्म’ सञ्चालन गर्दै आएका क्षेत्रीले अब गाउँका उत्पादनलाई सिधै शहरका उपभोक्तासँग जोड्ने उद्देश्यले ‘गाउँको कोसेली’, ‘गाउँको तरकारी’ र ‘गाउँको पोशाक’ को अवधारणालाई एउटै केन्द्रमा विस्तार गरेका हुन्।

गाउँको घरभित्र पस्नेबित्तिकै आधुनिक सुपरमार्केटभन्दा नितान्त फरक वातावरण भेटिन्छ। काठका र्याकहरूमा सजाइएका घरेलु सामग्री, माटाका भाँडा, पुराना रेडियो, हस्तकलाका सामग्री, परम्परागत सजावट र नेपालीपन झल्काउने प्रत्येक वस्तुले आगन्तुकलाई गाउँको सम्झना दिलाउँछन्।

यहाँ बिक्रीका लागि राखिएका सामग्रीहरू पनि नेपालका विभिन्न भूगोलबाट ल्याइएका छन्।

ढोरपाटनको आलुदेखि हुम्ला-जुम्लाको सिमी, कालो बोडी, रैथाने अन्न, विभिन्न हिमाली उत्पादन, स्थानीय घरेलु उद्योगका हस्तकलाका सामग्री, अल्लोबाट बनेका पोशाक, प्राकृतिक सामग्रीबाट बनेका दैनिक प्रयोगका वस्तु, काठका हस्तनिर्मित सामग्री तथा राउटे समुदायले बनाएका काठका कलात्मक सामग्री यहाँ उपलब्ध छन्।

शहरमा सहजै नपाइने यस्ता उत्पादनलाई एउटै स्थानमा ल्याउने प्रयासले ‘गाउँको घर’लाई विशिष्ट बनाएको समुन्द्र बताउँछन्। प्लास्टिकको विकल्पका रूपमा बाँसबाट बनेका ब्रस, काइँयो, चम्चा, काँटा, पानीका बोतल र चिया छान्ने जाली लगायतका सामग्रीले पनि उपभोक्ताको ध्यान आकर्षित गरेका छन्।

किसानदेखि कालिगढसम्मको बजार
नेपालका अधिकांश घरेलु उत्पादनहरू बजार नपाएर ओझेलमा पर्ने गरेका छन्। 'गाउँको घर' ले त्यस्ता उत्पादनलाई उपभोक्तासम्म पुर्याउने भरपर्दो माध्यम बन्ने प्रयास गरिरहेको छ।

घरेलु उद्योग, साना उद्यमी, महिला समूह, स्थानीय किसान र परम्परागत सीप बोकेका समुदायबाट उत्पादित सामग्रीलाई बजार उपलब्ध गराउने यसको मुख्य लक्ष्य हो। यसले गाउँका उत्पादक र शहरका उपभोक्ताबीचको दूरी घटाउने समुन्द्रको विश्वास छ।

‘गाउँको घर’को अर्को विशेषता यसको विविधता हो। प्राकृतिक अल्लोबाट तयार गरिएका कपडा तथा पहिरन, घरेलु उद्योगमा बनेका हस्तकलाका सामग्री, बाँस र काठका घरेलु सामग्री, राउटे समुदायले निर्माण गरेका परम्परागत काठका भाँडा र कलाकृति यहाँका प्रमुख आकर्षण हुन्। यसले नेपाली मौलिक उत्पादनलाई व्यावसायिक बजारसँग जोड्ने काम गरेको छ।

खस्यौली बजारदेखि गाउँको घरसम्म
‘गाउँको घर’ अचानक जन्मिएको अवधारणा होइन। यसको जग केही वर्षअघिदेखि समुन्द्रले सञ्चालन गर्दै आएको ‘खस्यौली बजार’ अभियानले तयार पारेको हो।

बुटवलको पुरानो फिल्म हल परिसरमा प्रत्येक शनिबार लाग्ने खस्यौली बजारमा गाउँका किसान, घरेलु उद्यमी, महिला समूह र हस्तकलाकर्मीले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने अवसर पाएका थिए। त्यहाँ सिस्नोदेखि कोदोको पीठो, स्थानीय जातका गाईको घिउदेखि हस्तनिर्मित झोला, र बाँसका सामग्रीदेखि अल्लोका कपडासम्म एउटै स्थानमा भेटिन्थे।

शनिबारमा मात्र सीमित रहने बजारलाई स्थायी स्वरूप दिने उद्देश्यले अहिले ‘गाउँको घर’ सञ्चालनमा आएको हो।

समुन्द्र भन्छन्, ‘गाउँमा उत्पादन गर्ने मानिसको कमी छैन, तर उत्पादनलाई बजारसम्म पुर्याउने संयन्त्र अझै कमजोर छ। त्यसैले किसान, कालिगढ र उपभोक्ताबीचको दूरी घटाउने उद्देश्यले यो स्थायी केन्द्र सञ्चालनमा ल्याइएको हो।’

गाउँलाई भविष्य बनाउने अभियान
समुन्द्र गाउँलाई कम आँक्ने सोच बदल्दै गाउँमै सुनौलो सम्भावना खोज्न सकिन्छ भन्ने सन्देश दिन लागिपरेका छन्।

पाल्पाको इको फार्ममा आठ जना र बुटवलस्थित गाउँको घरमार्फत परिवारका सदस्यबाहेक पाँच जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइसकेका उनले भविष्यमा अझ धेरै युवाका लागि गाउँमै अवसर सिर्जना गर्ने योजना बनाएका छन्।

‘हामी विदेशबाट सीप र अनुभव लिएर फर्कियौँ भने गाउँ आफैँमा एउटा उद्योग बन्न सक्छ। मेरो लक्ष्य गाउँका किसानले उत्पादन गरेका वस्तुले उचित मूल्य पाउने वातावरण बनाउनु हो। गाउँको उत्पादन गाउँमै सीमित नहोस्, शहरको भान्सासम्म पुगोस् भन्ने मेरो चाहना हो’, उनले आफ्नो उद्देश्य प्रस्ट्याए।

विदेशबाट फर्किएर गाउँलाई नै आफ्नो भविष्य बनाउने उनको यो यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएको छ। गाउँको माटो, गाउँको पसिना र गाउँको उत्पादनलाई सम्मान गर्ने अभियानका रूपमा ‘गाउँको घर’ ले शहरमा गाउँको सुवास फैलाइरहेको छ।

असार २२, २०८३ सोमबार १२:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।