सुनिताले चेतावनी दिँदै भनिन्, ‘यदि मेरो जबरजस्ती विवाह गर्न खोजियो भने प्रहरीमा केस हाल्दिन्छु’

सुनिताले चेतावनी दिँदै भनिन्, ‘यदि मेरो जबरजस्ती विवाह गर्न खोजियो भने प्रहरीमा केस हाल्दिन्छु’

बुटवल : 'यदि मेरो जबरजस्ती विवाह गर्न खोजियो भने म सिधै प्रहरीमा उजुरी हाल्दिन्छु।' विवाह गरिदिन खोजेपछि ११ वर्षको उमेरमै रुपन्देहीकी सुनिता हरिजनले परिवारलाई ठाडै चुनौती दिइन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुजहमाकी सुनितालाई यही साहसले बालविवाह हुनबाट बचाएर उनको जीवनलाई नयाँ उद्देश्यतर्फ डोर्यायो।

परिणाम स्वरूप आज सुनिता रुपन्देही र कपिलवस्तुका तीन हजार पाँच सयभन्दा बढी किशोरीहरूको अभिभावक बनेकी छन्। उनी विगत आठ वर्षदेखि 'किशोरी अधिकार मञ्च'को अध्यक्षको रूपमा सक्रिय छन्, जसले बालबालिका र किशोरीहरूको हकअधिकार सुनिश्चित गर्न निरन्तर काम गरिरहेको छ।

अहिले २४ वर्ष पुगेकी सुनिताका लागि यो यात्रा सहज थिएन। ११ वर्षको बाल्य उमेरमा भोग्नुपरेको जबरजस्ती विवाहको प्रयासले उनलाई अहिले पनि झस्काउँछ। रातो साडी देख्दा उनलाई बाल्य अवस्थामा भोग्नुपरेको त्यही जबरजस्ती विवाहको सम्झना आउँछ र उनको शरीरमा काँडा उम्रिन्छन्।

"त्यो रातो साडी देख्ने बित्तिकै आज पनि मेरो मन पोल्छ", विगत सम्झिँदै सुनिता भन्छिन्, "यदि मैले त्यो बेला विद्रोह नगरेकी भए, सायद म आज यो संसारमा हुने थिइनँ। कि त कतै चार पर्खालभित्र उकुसमुकुस जीवन बिताइरहेकी हुन्थेँ, कि त आत्महत्याको बाटो रोजिसकेकी हुन्थेँ।"

जब ११ वर्षकै उमेरमा ‘पढ्ने सपना’ खोसियो

आजभन्दा १३ वर्ष अघि निरन्तर विद्यालय गइरहेकी सुनितालाई एक दिन आमाबुबाले विद्यालय जानबाट रोके। कारण थियो-बालविवाह।

सुनिताका दुई दिदीहरूको यसअघि बालविवाह भइसकेकाले यसपटक उनको पालो आयो। मर्चवारका एक युवकसँग उनको अर्को वर्षको लागि विवाह पक्का भयो। विवाहको तयारी एक वर्ष अघिदेखि नै सुरु भयो। 

लुगाफाटो किनियो, बेहुलीको रातो साडी पनि घरमा भित्रियो। सुनिताको विवाह गर्ने इच्छा त थिएन, तर बुवाआमा र दुई दाजुहरूको अगाडि उनको केही सीप लागेन। उनले एक वर्षसम्म स्कुल जान पाइनन्।

घरको काम र मजदुरी गर्दै दिन काट्दै थिइन्। एकदिन, विद्यालय छोडेका किशोरीहरूका लागि सञ्चालित परियोजना ‘उडान’ कक्षाका लागि नाम सङ्कलन गर्दै दुलामती यादव आइन्। उनले घरमै बसिरहेकी सुनिताको छटपटी देखिन्। सुनिताको पढ्ने इच्छा  देखेपछि उनको नाम लेखिन् र बुवाआमासँग बैठक बस्ने प्रस्ताव राखिन्।

सुरुमा बुवाआमा बैठकमा बस्न समेत तयार भएनन्। तर दुलामतीको निरन्तरको प्रयासपछि उनीहरू सहमत भए। दुलामती र सुनिताका आमाबुबा रहेको उक्त बैठकमा सुनिताले भनिन्, "म बिहे गर्दिनँ, म पढ्न चाहन्छु।" तर, आमाबुबा राजी भएनन्। 

लामो छलफलपछि बुवाआमाले एउटा कडा सर्तमा एक वर्षका लागि विवाह रोक्न र पढ्न दिन मन्जुर भए। सर्त थियो- ‘घरको सबै काम, खेतबारीको काम, गाईगोरु हेर्ने र मजदुरी समेत सुनिता आफैँले गर्नुपर्ने।’

पढ्ने तीव्र इच्छा भएकी सुनिताका लागि यो कडा सर्त पनि स्वीकार्य थियो। उनी एकाबिहानै उठेर घर र खेतको काम भ्याउँथिन् र दौडिँदै ‘उडान’ कक्षामा पुग्थिन्।

उडानमा पढ्न मात्र सिकाएन्, बालविवाह विरुद्धका कानुन, लैङ्गिक समानताका बारेमा पनि बुझाइयो। उडान कक्षाबारे सुनिता सम्झिन्छिन्, "उडानमा अक्षर मात्र सिकाइँदैनथ्यो। त्यहाँ किशोरी अधिकार, बालविवाह विरुद्धका कानुन, लैङ्गिक समानता र जन्मदर्ताको महत्त्वबारे सिकाइन्थ्यो। उडानले मेरो भित्र सुतिरहेको आँट जगाइदियो। मलाई उडानले दोस्रो जन्म दिएको हो, त्यो मेरो दोस्रो आमा हो।"

समाजको लाञ्छना र घरभित्रै विद्रोह

‘उडान’ को कक्षा सकिएपछि सुनिताले सिधै कक्षा ८ मा भर्ना पाइन्। तर, सङ्घर्ष सकिएको थिएन। समाज र घरका पुरुष सदस्यहरू अझै बाधक थिए।

त्यही बिचमा भैरहवामा ३ दिने आवासीय तालिमको अवसर आयो। तर घरबाट अनुमति पाउने कुरै भएन। 

'होटेलमा बस्न गएपछि केटीको इज्जत जान्छ, गाउँमा नाक काटिन्छ' भन्दै दाईहरूले जान नमिल्ने बताए। सुनिता तीन दिनसम्म रोइरहिन्। छोरीको इच्छा देखेर आमाले बुवा र दाईहरूलाई थाहै नदिई सुनितालाई सुटुक्क तालिममा पठाइन्।

तालिमबाट फर्केपछि सिकेको कुरा व्यवहारमा उतार्न सुनिताले गाउँका किशोरीहरूलाई संगठित गर्न थालिन्। शनिबार-शनिबार खाजा खर्च कटाएर पैसा बचत गर्ने अभियान सुरु गरिन्।

सुरुमा कोही आएनन्, तर स्कुलकी शिक्षिकाको सहयोगमा २० जना किशोरी जुटे। एक वर्षभित्र ४५ जना किशोरी मिलेर २ लाख रुपैयाँभन्दा बढी बचत गरे। त्यो पैसाले उनीहरूले गरिब किशोरीहरूलाई कापी, किताब र झोला किनेर सहयोग गर्न थाले।

यसले समाजमा हलचल नै ल्यायो। छिमेकीहरूले बुवाआमालाई, ‘तिम्री छोरी धेरै जान्ने भई, यसले अरूका छोरीहरूलाई पनि बिगार्ने भई’समेत भने।

आमाबुबालाई यो कुरा बिझायो। यता सुनिताको एक वर्ष विवाह नगरिदिने सर्तको समय पनि सकियो। परिवारले पुनः विवाहको दबाब दियो। 

तर, यसपटक सुनिता ११ वर्षकी अबोध बालिका थिइनन्। कानुन बुझिसकेकी सुनिताले चेतावनी दिँदै भनिन्, "यदि मेरो जबरजस्ती विवाह गर्न खोजियो भने म सिधै प्रहरीमा केस (उजुरी) हाल्दिन्छु।"
 
सुनिताको चेतावनीले उनको परिवार विवाहको हठबाट पछि हट्न बाध्य भयो। कानुनको डरले उनीहरू रोकिँदै गए र बिस्तारै आमा-बुवा पनि सुनितालाई नै साथ दिन थाले।

परिवारको साथ र समर्थन पाएपछि सुनिता निरन्तर किशोरीको अधिकारको क्षेत्रमा लागिन्। उनी २०७४ सालमा किशोरी अधिकार मञ्चमा जोडिइन्। २०७५ मा मञ्च दर्ता भयो र उनी उपाध्यक्ष चुनिइन्। 

उनले लुम्बिनी सांस्कृतिक नगरपालिकाका १३ वटै वडामा पुगेर २५-२५ जनाका दरले किशोरीहरू सङ्गठित गरिन्। हेर्दाहेर्दै ७ सय किशोरी मञ्चमा जोडिए। स्थानीय सरकारले सुनिताको काम देख्यो र उनको क्षमताको कदर गर्न थाल्यो। हिजो होटेल जान रोक्ने तिनै दाईहरू आज सुनितालाई गर्वका साथ मोटरसाइकलमा राखेर विभिन्न कार्यक्रमहरूमा पुर्याउन र ल्याउन थालेका छन्।

मञ्चमा घरेलु हिंसा, अपहरणको चङ्गुलबाट उम्केका, डिभोर्स  भएका र बालविवाहको पीडा भोगेका किशोरीहरू छन्। सुनिता र उनको टोलीले घर-घरमा गएर नागरिकता नभएका, स्कुल छोडेका किशोरीहरूका आमाबाबुसँग हात जोडेर उनीहरूलाई पुनः शिक्षाको मूलधारमा ल्याएका छन्।

यो अभियान सामाजिक चेतनामा मात्र सीमित छैन्। सुनिताले किशोरीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन ‘दिदीबहिनी परियोजना’ सँग समन्वय गरेर विभिन्न सीपमूलक तालिमहरूको समेत व्यवस्था गरेकी छन्।

कुनै बेला स्थानीय सरकारका प्रतिनिधिहरू समेत सुनितालाई निरुत्साहित गर्दै भन्थे, "तिमी सानो जातकी केटी हौ, तिम्रो कुरा कसले सुन्छ? कसैले साथ दिँदैनन्।" आज तिनै स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू हरेक काम सुनिताको संस्थासँग सहकार्य गरेर मात्रै गर्छन्।

यो ठुलो रूपान्तरणको जग त्यही ’उडान’ कक्षा र दुलामती यादवको एउटा सानो प्रयास थियो। संस्थाले ११ वर्षको उमेरमा सुनितालाई दिएको त्यो सानो अवसर र काउन्सिलिङले आज ३५ सय किशोरीहरूको जीवन मात्र बदलिएको छैन, बरु कपिलवस्तु र रुपन्देहीका सयौँ गाउँहरू बालविवाहमुक्त बन्ने दिशामा अघि बढेका छन्।

हिजो आफ्नै घरमा आँखा जुधाएर बोल्न नसक्ने सुनिता आज हजारौँको भीडमा निर्धक्कसँग हक र अधिकारका कुरा गर्ने साहस राख्छिन्। हिजो लाञ्छना लगाउने समाज आज सुनिताको सफलतामा गर्वका साथ ताली बजाउँछ। हिजो छोरी बिग्रेको देख्ने छिमेकीहरू आज आफ्ना छोरीहरूलाई अर्ती दिन्छन्- "बन्नु त सुनिता हरिजनजस्तै बन्नू !"

असार १३, २०८३ शनिबार १९:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।