‘आहा! अब जात्रा हाम्रो पनि भयो’
अनुहारमा थोरै आशंका र धेरै खुसी। चारैतिर महिलाको बाक्लो उपस्थिति। बिहीबार दिउँसो भक्तपुरको घट्खा टोल यसैगरी उल्लासमय बनेको थियो। सबैको ध्यान टोलको बीचमा रहेको भद्रकाली अजिमाको रथतर्फ केन्द्रित थियो। चर्को घाममा खास्टोले टाउको छोपेर महिलाहरू प्रतीक्षामा बसेका देखिन्थे।
उनीहरूको प्रतीक्षा जात्रामा पहिलो पटक रथ तान्नको लागि थियो। यसअघि महिलालाई रथ तान्न पाउने अवसर मिलेको थिएन। साथीहरूसँग घाम छल्दै झुण्ड-झुण्ड भएर कोही हाँसिमजाक गर्दै, कोही घडी हेर्दै, उत्सुकतापूर्वक बसिरहेका थिए। आइमाईले रथ तान्ने होइन कि भन्ने गाइँगुइँ कुरा चलिरहेको पनि सुनिन्थ्यो।
जात्राको भिडमा निकै उत्साहित देखिन्थिन्, प्रबिना बनमाला। ‘महिलाले रथ तान्न पाउने’ खबर सुनेदेखि उनी उत्साहित थिइन्। युवा उमेर समूहकी उनी यसअघि रथ तान्नकै लागि भनेर काठमाडौंको जात्रासम्म पुग्ने पनि गर्थिन्।
यसपटक भने आफ्नै टोलको ऐतिहासिक जात्रामा रथ तान्न पाउने भएपछि उनको अनुहारमा छुट्टै चमक थियो। “सधैँ जात्रामा केटाहरूले मात्र रथ तानेको देख्दा हामीलाई पनि तान्न मन लाग्थ्यो। तर हुलमुलमा हामी केटी मान्छेहरूलाई रमाइलो गर्नभन्दा पनि आफ्नो सुरक्षामै ध्यान दिन पर्ने बाध्यता हुन्थ्यो,” उनले भनिन्।
नेपाल भाषामा ‘नकिंजू खचा’ भनेर चिनिने अजिमाको रथ बिस्का जात्राको समयमा तानिने मुख्य रथ हो, जुन नयाँ वर्ष सुरु हुन चार दिनअघि तानिन्छ। त्यसपछि भैरवनाथको रथ तानेर जात्रा सुरु गरिन्छ। दुवै रथलाई जुधाएपछि दोस्रो दिन अजिमा आफ्नै देवघर फर्किन्छिन् भन्ने किंवदन्ती छ। उनलाई फकाउन फकाउनको गुठीबाट सगुन लाने चलन हुन्छ। सगुन आएपछि तेस्रो दिन रथलाई तौमढी टोलसम्म लगिन्छ।

यस वर्ष भने तेस्रो दिन रथलाई घट्खा टोलदेखि तौमढीसम्म लैजाँदा महिलाको पनि सहभागिता गराउने कुरा भद्रकाली अजिमा गुठीका नाइके तथा जात्राको आयोजक राम सुन्दर जधारी गुठियारहरुबीचमा सुनाउँछन्। त्यो खबर सबैतिर फैलियो। त्यसैले बिहीबारको जात्रामा महिलाको बाक्लो उपस्थिति देखियो।
“हाम्रो बिस्का जात्रामा दुई वटा रथ हुन्छन्, भैरव र अजिमा। भैरवको रथ ठूलो हुन्छ, सधैँ पुरुषले नै तान्ने। त्यसबेला अजिमाको रथ चैँ हामी महिलालाई तान्न दिए पनि हुन्थ्यो भनेर पहिला देखिनै लाग्थ्यो,” प्रबिना भन्छिन्, “हामीले तान्न पाउने भनेर निकै खुसी लागेको छ। हामी युवा भन्दा पनि हाम्रो आमा, माइजूहरू बढी खुसी हुनुहुन्छ।”
जन्मे देखिनै जात्रा हेरेर हुर्केकी उनलाई यसपटक भने ‘जात्रा हाम्रो पनि रहेछ’ भन्ने अनुभूति भएको बताइन्। नत्र यसअघि हरेक जात्रामा हुने भिडभाड र बेलाबेला झगडासमेत हुने अवस्था हुँदा ‘छोरी मान्छे नजिक नजाऊ’ भन्ने गरेको उनले सुनिरहनुपर्थ्यो।
“सधैँ टाढाबाट मात्रै रमाइलो गर्नुपर्थ्यो। अब आफै नजिक गएर जात्रा मनाउन पाउने सोच्दा पनि निकै खुसी लागेको छ,” उनले भनिन्।
रथ तान्ने पाउने भएपछि उनले साथीहरू जम्मा पारिन्। जात्रा सुरु हुनुभन्दा अगाडि नै उनी जात्रामा पुगिन्। जात्रामा रथको रंगरोगन गर्ने, बाजा बजाउने, देउता बोक्ने, पूजा गर्ने सबै भूमिकामा पुरुषकै बर्चश्वदेखिन्छ। दुई दिन अघि मात्र महिलाले रथ तान्ने खबर बाहिरिए पनि केही पक्षले भने यस कुरालाई नरुचाएको समेत उनले थाहा पाएकी रहिछन्।
‘सानै देखि रथ तान्न मन लाग्थ्यो’
जात्रामा रथकै नजिक बसेर उत्साहित भइरहेकी अर्की हुन्, लक्ष्मी केसरी। उनको माइती घट्खा टोलमा हो। उनी बिहेपछि मात्र पाण्डु बजार पुगेकी थिइन्। उनी हजुरआमा भइसकिन्। सानैदेखि उनले बिस्का जात्रालाई नजिकबाट हेरेकी छन्। रमाइलो मानेकी छन्। तर यसपटक भने उनलाई झन् बढी रमाइलो लागेको बताइन्।
“आज अजिमा तान्ने भएर साथीभाइ सबै आएको जात्रामा। जात्रामा सधैँ रमाइलो हुन्छ। तर आज पहिलाभन्दा रमाइलो लागेको छ,” खुसी हुँदै उनले भनिन्, “सकेसम्म पुरै रथ तान्ने, नत्र डोरी मात्र समाउन सके पनि म खुसी छु। पहिला आइमाईहरूले सक्दैनन् भनेर छुन पनि दिँदैनथे।”

जात्रामा देउताको पूजा मात्र गर्नुभन्दा रथ पनि तान्न सानैदेखि उनको इच्छा रहेको सुनाइन्। तर पुरुषले मात्र तानेको देख्दा अनि छोरी मान्छेलाई रथको नजिक नजाऊ भनेको सुन्दा त्यो रथ ‘आफूले पनि तान्न मिल्छ’ भन्ने नै उनलाई लागेको थिएन रे।
त्यही भएर विवाहपछि भने उनी फुर्सद नहुँदा जात्रामा आउनै छाडिन्। तर यसपालि महिलाले रथ तान्ने कुरा सुनेपछि उनी सबै काम छोडेर जात्राकै लागि भनेर आएकी रहिछन्। “काठमाडौंको जात्रा पनि टिभीमा मात्र हेरेकी हुँ। अब रथलाई हाम्रो आफ्नै हातले छुने र तान्ने भनेपछि सबै साथी लिएर जात्रामा आएकी हुँ। हामीले तानेपछि जात्रा अब हाम्रो पनि हो,” उनले खुसी व्यक्त गरिन्।
उनीसँगै रथ तान्न तयार भएर बसेकी सुलोचना प्रजापति पनि निकै हर्षित देखिन्थिन्। “पहिला यसबेला यति धेरै मान्छे हुँदैन। तर अहिले आइमाईले तान्ने भनेपछि रथ तान्नको लागि र आइमाईले रथ तानेको हेर्नको लागि पनि धेरै मान्छे आएको छ,” उनले सुनाइन्। उनलाई पनि रथ तान्न दिइयो भने आफू सानो हुने बेला देखिनै रथ तानेर जात्रा मनाउने इच्छा रहेको सुनाइन्।
तीन बजे सुरु भनिएको जात्रामा पाँच बजेसम्म पनि सबै महिला निकै धैर्य भएर प्रतीक्षामा बसिरहेका थिए। “देउता पनि महिला हो। अब आज महिलाले नै रथ तानेर जात्रा मनाउने। खुसी लागेको छ। यसपालि राम्रोसँग भयो भने अर्को वर्ष पनि हाम्रो छोरीहरूले रथ तानेर रमाइलो गर्न पाउँछ। अब छोरी र नातिनीले रथ तान्नको लागि हामी जस्तो बुढी हुन नपर्ला,” उनले हाँस्दै भनिन्।
‘अब आइमाईले पनि रथ तान्छ !’
'म त आइमाईले रथ तान्छ भन्ने सुनेर आएको!' त्यही भिडबाट आफ्नो उत्सुकता सुनाउँदै सानुमाया महर्जनले भनिन्। घर र माइती घट्खा टोल नजिकै भएकी उनले अहिलेसम्म महिलाले रथ तानेको देखेकी छैनन्। त्यही भएर उनमा महिलाले रथ तानेको हेर्ने र आफै पनि त्यसमा सामेल हुने निकै इच्छा भएको बताइन्।
“अजिमाको रथ भैरवको भन्दा सानो हुन्छ। हामी महिलाले मजाले सम्हाल्न सक्छौं। मलाई पनि खुसी लागेको छ,” उनले भनिन्। उनले ब्यासीदेखिको साथीलाई ‘हाम्रोमा आइमाईले अब रथ तान्छ’ भनेर हेर्न बोलाएकी रहिछन्। उनको साथीहरू पनि निकै उत्साहित थिए।

“हामी मात्र होइन अहिले त सबै जना यता आइमाईले रथ तानेको हेर्न आएको छ। काठमाडौंदेखि आएको छ रे,” उनले सुनाइन्, “जात्रा त हामीले बच्चादेखि मनाएको, हेरेको। तर आजको जात्रा हाम्रो लागि पनि नयाँ हो।”
भद्रकाली अजिमा गुठीका नाइके तथा जात्राको आयोजक जधारीलाई जात्रा सुरु हुनुभन्दा आधा घण्टासम्म पनि महिला रथ तान्न सामेल हुन्छ कि हुँदैनन् भन्नेमा शंका थियो। कारण, महिला सहभागिताको कुराले गुठियारहरू खुसी थिएनन्। अजिमाको पूजा कर्मचारी कुलका पुजारीले तान्त्रिक विधिबाट गर्छन्। जधारी भने देवताको संरक्षक गर्नेमा पर्छन्।
केही वर्ष अघि देखिनै जात्रामा प्रत्यक्ष रूपमा महिला सहभागिता गराउन खोजे पनि माहोल नबनेको जधारी सुनाउँछन्। तर, यसपटक गुठियारहरुबीचमा मतभेद रहे पनि उनले रथ तान्नुभन्दा दुई दिन अघि मात्र महिला सहभागी गराउने कुरा गरे।
उनले बोलेको कुरा तुरुन्तै सबैमाझ पुगे। महिलाहरू निकै खुसी भए। तर गुठियार अझै खुसी भएका थिएनन्। त्यसैले देउतालाई सगुन लिन पनि नजाने हुन् कि भन्ने उनलाई लागेको थियो। त्यही भएर ३ बजे रथ तान्ने भनिए पनि गुठिले बाजासहित सगुन साढे चार बजे मात्र आइपुग्यो।
रथ भने पाँच बजेपछि मात्र तान्न सुरु गरियो। त्यसबेला सम्म हजारौको संख्यामा महिलाको उपस्थिति देखियो। छोरीदेखि आमा र हजुरआमासम्मको उपस्थिति रहेको जात्रामा महिला सहभागिता निकै दमदार देखियो। आधा घण्टाभन्दा कम समयमै सफलतापूर्वक अजिमाको साथ घट्खा टोलदेखि तौमढी टोल पुगेको थियो।
‘होस्टे, हैसे’ महिलाको आवाजमा भक्तपुर केही बेर गुञ्जायमान रह्यो। पाँच तले मन्दिर नजिक पुगेर रोकिएको रथलाई सबैले हर्षका साथ ढोगेर जात्राको समापन गरे। पसिनाले भिजेका महिलाको अनुहार गर्मीले रातोतातो देखिन्थ्यो। तर थकान भने शून्य। पसिना पुछ्दै हँसिलो अनुहार बोकेर उनीहरू घर फर्किए। त्यही बेला रथ तानेको एक महिलाले भनिन्, “अब त हामी आइमाईले पनि रथ तान्यो। साँच्चै बलियो रहेछु भन्ने लाग्यो। म सबैभन्दा खुसी भएको आज नै हो।” उनी पसिना पुछ्दै भिडमा बिलाइन्।

“किन जान्ने हुन्छस् भन्नेहरूको लागि पनि हाम्रो आजको जात्रा सफल भयो। आज सानो रथ तान्नुभएका दिदी आमाहरूले अब अर्को वर्ष ठुलो रथको पनि एउटा/दुइटा डोरी समाएर जोडिन पाउनु भयो भने म त झन् खुसी हुन्छु,” नाइके जधारीले उकेरासँग भने, “जात्रा अब चैँ हामी सबैको हो। हामी सबैको भयो।”
‘मातृसत्ता हुँदा भएको भनिएको कुरा यसपटक हामीले देख्यौं’
लिच्छवीकाल देखिनै बिस्का जात्रा मनाउँदै आएको कथन भेटिन्छ। यस्तो अवस्था महिलाहरू प्रत्यक्ष रूपमा पहिलो पटक जोडिन पाउँदाको खुसी साँच्चै हेर्ने लायकको देखिन्थ्यो। इतिहासमा मातृसत्तात्मक समाजको कुरा भएको समयमा नै महिलाले ‘नकिंजू खचा’ अजिमाको रथ तानिने कथन समेत सुनेको बताउँछन्, पुजारी कृष्ण गोपाल कर्माचार्य।
तर जीवित रहेका पुस्ता यसको साक्षी नभएको भन्दै उनले भने, “हामीले पनि यो अहिले सम्म भोगेको, देखेको कुरा होइन। तर मातृ सत्तात्मक समाजमा भएको भनिएको करा यसपटक हामीले सभ्य र भव्य रूपमा भएको देख्यौं।”
पुरुषमा पनि ‘बलिया’ भनिएकाहरूले भैरवको रथ तान्ने गरेको र अजिमा रथलाई भने उपेक्षा गरेर बालकहरूलाई तान्न लगाउँदै आएको उनले सुनाए। रथ तान्ने कुनै नियम नभए पनि पितृसत्तात्मक समाजको धारणाले ‘आफू सर्वश्रेष्ठ’ भएको ठानिने कारणले महिला उपेक्षामा परेको उनको भनाइ छ। यसपटक अजिमाको रथ जात्रा हेर्न आउने हरेक जाती र ठाउँको महिलाले ताने।
वैशाख ४, २०८३ शुक्रबार १९:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।