शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा क्षेत्रमा व्याप्त दलीयकरण अन्त्य नगरेसम्म शैक्षिक प्रणालीमा सुधार सम्भव नहुने बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक नियुक्तिमा हुने ‘आफ्नो मान्छे’ रोज्ने प्रवृत्तिका कारण सार्वजनिक शिक्षा धराशायी बनेको धारणा राखे।

"शिक्षामा राजनीति भएको होइन, दलीयकरण भएको हो। व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे भन्ने सोचले शिक्षा प्रणालीलाई सबैभन्दा ठूलो क्षति पुर्याएको छ। अब ‘हाम्रो मान्छे’ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ," उनले भने।

विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको थापाको भनाइ थियो। उनले शिक्षकहरूले विद्यालयभित्र आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरेमा मात्र समाज र लोकतन्त्र सुदृढ हुने धारणा राखे। शिक्षकले आफ्नो भूमिकाका साथै सामाजिक नेतृत्वदायी भूमिका समेत प्रदर्शन गर्न सके त्यसबाट मुलुकलाई लाभ पुग्ने उनको तर्क थियो।

शिक्षाको उद्देश्य र गन्तव्यबारे राजनीतिक दलहरूबीच बहस हुनुपर्नेमा जोड दिँदै थापाले भने, “शिक्षा किन र कसका लागि भन्ने विषयमा राजनीतिक दलहरूले नै स्पष्ट छलफल गर्नुपर्छ। यो जिम्मेवारी अरू कसैले पूरा गर्न सक्दैन।”

निर्वाचनका क्रममा आफूले शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गर्दै उनले नेपालको भूगोल र स्थानीय आवश्यकता अनुसारका फरक-फरक शैक्षिक समस्या रहेकोले त्यसलाई सम्बोधन गर्ने गरी नीति निर्माणमा ध्यान दिनुपर्नेमा समेत जोड दिए।

विगतमा शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै उनले काठमाडौं र गत निर्वाचनमा चुनाव लडेको सर्लाहीको शैक्षिक अवस्थाबीच ठूलो अन्तर रहेको बताए। "हामी नेपालको शिक्षा प्रणालीको कुरा गर्छौं, तर काठमाडौं र सर्लाहीका शैक्षिक चुनौती एउटै छैनन् । एउटै नेपाल भए पनि दुवै ठाउँका समस्या फरक छन् । त्यसैले नीति बनाउँदा स्थानीय वास्तविकतालाई ध्यानमा राख्नुपर्छ," थापाले भने।

असार १९, २०८३ शुक्रबार १६:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।