‘नेपाली ब्रो’का परिवारको बयान- हाम्रो कुरा कहिल्यै सुनेन, ईश्वरीलाई अत्याचार गर्थ्यो; कारबाही होस्

‘नेपाली ब्रो’का परिवारको बयान- हाम्रो कुरा कहिल्यै सुनेन, ईश्वरीलाई अत्याचार गर्थ्यो; कारबाही होस्

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-६, पैँयुटारमा गत जेठ २२ गते बेलुका भएको ईश्वरी भुजेल हत्याकाण्डका मुख्य अभियुक्त कुमार थापा मगर (नेपाली ब्रो)का कुमारका परिवारले उनलाई कारबाहीको माग गरेका छन्।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा परिवारका सदस्यहरूले उनलाई कारबाही हुनुपर्छ भनेको उल्लेख छ।

बुवा जित बहादुर थापा, आमा बिन्दा कुमारी थापा, दिदी अनु थापा र बहिनी रोजिना थापाले बयानमा कुमारको चालचलन सुरुदेखि नै खराब रहेको र उनले ईश्वरीमाथि लगातार अत्याचार गरेको बताएका छन्।

बुवा जित बहादुर थापाको बयान:
ईश्वरी मेरी जेठी बुहारी र कुमार मेरो जेठो छोरा हुन्। विवाहपछि कुमारको चालचलन राम्रो रहेन। उसले परस्त्रीहरूसँग अनैतिक सम्बन्ध राख्न थाल्यो, जसले गर्दा बुहारीसँग सधैँ झगडा हुन्थ्यो।

बुहारी ईश्वरी सोझी थिइन्। उनले नेपाली सेनामा दुःख गरेर, शान्ति सेनामा समेत गएर कमाएको पैसाले पैयुँटारमा जग्गा किनेर घर बनाएकी थिइन्।

तर कुमारले प्रतिक्षा आचार्यसँगको प्रेम सम्बन्धका कारण बुहारीलाई शारीरिक र मानसिक रूपमा चरम यातना दियो। मैले र बुहारीले सम्झाउँदा उल्टै धम्की दिन्थ्यो।

जेठ २२ गते उसले बुहारीको घाँटी रेटेर हत्या गर्यो। आफ्नै छोरा भए पनि यस्तो जघन्य अपराध गर्ने कुमार थापा मगरलाई कानुन बमोजिम कडा कारबाही हुनुपर्छ।

आमा बिन्दा कुमारी थापाको बयान:
छोरा कुमारले हामी बुढाबुढीले भनेको कहिल्यै मानेन। ऊ आफूखुसी जे मन लाग्यो त्यही गर्ने र जता मन लाग्यो त्यतै हिँड्ने गर्थ्यो।

उसका हर्कतका कारण म डिप्रेसनको बिरामी भएँ र छोरी रोजिनाको घरमा बस्न बाध्य भएँ। उसले सामाजिक सञ्जालमा अन्य केटीहरूसँग रासलीला गरेका भिडियोहरू हालेर परिवारको बेइज्जत गर्यो।

बुहारी ईश्वरीलाई उसले पटक-पटक कुटपिट र यातना दियो। अन्ततः उसले बुहारीको ज्यान लियो। म बुहारीको न्यायको पक्षमा छु र मेरो आफ्नै छोरा भए पनि अपराधी कुमारलाई हदैसम्मको कानुनी सजाय हुनुपर्छ।

दिदी अनु थापाको बयान:
म आफैँ नेपाली सेनामा सह-सेनानी पदमा कार्यरत छु। मृतक ईश्वरी मेरो भाइकी श्रीमती हुन्।

भाइ कुमारले परस्त्रीसँग प्रेम सम्बन्ध राखेका कारण बुहारीसँग सधैँ घरायसी विवाद हुने गर्थ्यो। मैले दिदीको नाताले पटक-पटक दुवैलाई राखेर सम्झाउने र मिलाउने प्रयास गरेकी थिएँ। तर, भाइले आफ्नो बानी सुधारेन।

उसले बुहारीलाई विभिन्न किसिमका शारीरिक र मानसिक यातना दिएपछि बाध्य भएर बुहारीले वैवाहिक जबरजस्ती करणी र डिभोर्सको मुद्दा हालेकी थिइन्।

मुद्दा परेपछि पनि भाइले सुध्रिनुको साटो बुहारीलाई मार्ने धाकधम्की दिइरह्यो र अन्ततः जेठ २२ गते बाटो ढुकेर उसको बीभत्स हत्या गर्यो।

कानुनको रक्षक हुनुको नाताले म भन्छु- यस्तो जघन्य अपराध गर्ने मेरो भाइ कुमार थापा मगरलाई कानुन बमोजिम कडा भन्दा कडा सजाय हुनुपर्दछ।

बहिनी रोजिना थापाको बयान:
दाजु कुमार र भाउजू ईश्वरीबीचको विवादको मुख्य जड प्रतिक्षा आचार्य नै हुन्।

दाजुले प्रतिक्षासँग अनैतिक सम्बन्ध राखेर घरबार बिगारेका थिए। म र आमाले दाजुलाई सम्झाउन खोज्दा उनले सुध्रिनुको साटो उल्टै हामीमाथि जाइलाग्ने र धम्क्याउने गर्थे।

दाजुले भाउजूमाथि निरन्तर अत्याचार गरिरहे। भाउजूले दाजुविरुद्ध मुद्दा हालेपछि दाजुले उल्टै भाउजूको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा प्रचार गरे।

जेठ २२ गते दाजुले भाउजूको घाँटी रेटेर हत्या गरेको सुनेपछि म स्तब्ध भएँ। आफ्नै दाजु भए पनि भाउजूको ज्यान लिने प्रतिवादी कुमारलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्छ।

असार १८, २०८३ बिहीबार १२:४७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।