अन्तिम १६ मा पुग्यो अमेरिका : बालगुनलाई सिधै रेड कार्ड, ३१ वर्षअघिको क्षण सम्झाइदिने टिलम्यान फ्रि-किक
एजेन्सी : सह-आयोजक अमेरिका विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
सान्टा क्लारामा भएको रोमाञ्चक खेलमा बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै अमेरिकाले अघिल्लो चरणमा बेल्जियमसँगको भेट पक्का गरेको हो।
खेलमा अमेरिकाका लागि फोलोरिन बालगुन र मलिक टिलम्यानले १-१ गोल गरे।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा बालगुनले मलिक टिलम्यानको पासलाई नियन्त्रणमा लिँदै गोल गरी अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ६४औं मिनेटमा बोस्नियाका रक्षापंक्तिका खेलाडी तारिक मुहरेमोभिचमाथि खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा बालगुनलाई सिधै रातो कार्ड देखाइयो।
यससँगै बालगुन सन् २००६ को विश्वकप फाइनलमा फ्रान्सका जिनेदिन जिदानपछि विश्वकपको नकआउट खेलमा गोल गर्ने र रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
जारी विश्वकपमा ३ गोल गरिसकेका उनी बेल्जियमविरुद्धको महत्त्वपूर्ण खेलमा भने प्रतिबन्धका कारण मैदान बाहिर रहनेछन्।
टिलम्यानको उत्कृष्ट फ्रि-किक
१० खेलाडीमा समेटिएपछि दबाबमा परेको अमेरिकाका लागि खेलको अन्तिम समयमा मलिक टिलम्यानले उत्कृष्ट फ्रि-किक गोल गर्दै जित सुनिश्चित गरे।
अमेरिकी खेलाडी सेर्जिनो डेस्टलाई लडाएपछि प्राप्त फ्रि-किकलाई टिलम्यानले बोस्नियाको रक्षात्मक पर्खालमाथिबाट सुन्दर प्रहार गर्दै गोलमा परिणत गरेका थिए।
सन् १९९४ मा एरिक वाइनाल्डापछि अमेरिकाका लागि विश्वकपमा सिधै फ्रि-किकबाट गोल गर्ने टिलम्यान दोस्रो खेलाडी बनेका छन्।
प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको अमेरिकाले सन् २००२ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो।
यसअघि सन् २००२ मा अमेरिकाले मेक्सिकोलाई २-० ले नै हराएको थियो। अब क्वाटरफाइनल प्रवेशका लागि अमेरिकाले बलियो टोली बेल्जियमको सामना गर्नेछ।
असार १८, २०८३ बिहीबार ०८:५९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।