ह्वाइट हाउसमा फर्किएकै वर्ष ट्रम्पले क्रिप्टो व्यवसायबाट कमाए १ अर्ब डलरभन्दा बढी

ह्वाइट हाउसमा फर्किएकै वर्ष ट्रम्पले क्रिप्टो व्यवसायबाट कमाए १ अर्ब डलरभन्दा बढी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएकै वर्ष क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब डलर  (करिब ७५० मिलियन पाउन्ड) भन्दा बढी आम्दानी गरेका छन्। 

ट्रम्पले सार्वजनिक गरेको सन् २०२५ को वार्षिक वित्तीय विवरणअनुसार उनले आफ्नै नाममा जारी गरिएको ‘ट्रम्प मेम क्वाइन’बाट मात्रै करिब ६३ करोड ५० लाख अमेरिकी डलर रोयल्टी प्राप्त गरेका छन्। चाखलाग्दो कुरा के छ भने, उनले पदभार ग्रहण गर्नुभन्दा केही दिन अघि सार्वजनिक गरिएको यो डिजिटल मुद्राको बजार मूल्य अहिले भने निकै ओरालो लागिसकेको छ।

रोयटर्सका अनुसार सन् २०२५ मा ह्वाइट हाउस फर्किएपछि ट्रम्प परिवारले क्रिप्टो सम्बद्ध परियोजनाहरूबाट कम्तीमा २ अर्ब ३० करोड डलर कमाएको अनुमान छ।

यस्तै, ट्रम्प र उनका छोराहरूद्वारा स्थापित क्रिप्टो कम्पनी 'वर्ल्ड लिबर्टी फाइनान्सियल' बाट मात्रै उनका कम्पनीहरूले झन्डै ८० करोड डलर प्राप्त गरेका छन्। पारिवारिक रूपमा बाँडफाँड गरिएको उक्त आम्दानीमा ५२ करोड डलरभन्दा बढी क्रिप्टो टोकन बिक्री र २५ करोड डलरभन्दा बढी 'वर्ल्ड लिबर्टी' व्यवसायको हिस्सा बिक्रीबाट प्राप्त भएको हो। रियल स्टेट (घरजग्गा) व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न सामग्रीहरूको बिक्रीबाट पनि उनले थप लाखौँ डलर कमाएका छन्।

उनले फ्लोरिडास्थित मार-अ-लागो क्लबबाट ७ करोड ७० लाख डलर र डोराल गल्फ क्लबबाट १२ करोड २२ लाख डलर आम्दानी भएको विवरणमा उल्लेख छ। त्यस्तै न्युजर्सी, स्कटल्याण्ड लगायतका गल्फ क्लबहरूबाट प्रत्येकले ३ करोड डलरभन्दा बढी आम्दानी भएको छ।

यसका अतिरिक्त ट्रम्प ब्रान्डका घडीको रोयल्टीबाट ४७ लाख डलर तथा ट्रम्प ब्राण्डेड बाइबल, जुत्ता, अत्तर र गितार बिक्रीबाट पनि उनले लाखौँ डलर आम्दानी गरेका छन्। 

प्रथम महिला मेलानिया ट्रम्पले पनि आफ्नो आम्दानी विवरण सार्वजनिक गरेकी छन्। उनले आफ्नो जीवनमा आधारित डकुमेन्ट्रीसँग सम्बन्धित लाइसेन्स सम्झौताबाट  १ करोड ७ लाख डलर तथा एनएफटी बिक्रीबाट करिब  ६० लाख डलर आम्दानी गरेको उल्लेख छ।

ट्रम्पले विभिन्न कानुनी मुद्दाको सम्झौताबाट पनि कुल  ८ करोड ६५ लाख डलर प्राप्त गरेको बताएका छन्। यसमा एबीसी, सीबीएस, मेटा, युट्युब र एक्सविरुद्धका मुद्दाबाट प्राप्त रकम समावेश छ। ह्वाइट हाउसका अनुसार तीमध्ये अधिकांश रकम ट्रम्पको भावी राष्ट्रपति पुस्तकालय तथा वासिङ्टन डीसी क्षेत्रका सार्वजनिक पार्क संरक्षणसम्बन्धी गैरनाफामूलक संस्थामा जानेछ।

राष्ट्रपति पदमा रहँदा व्यापारिक लाभ लिएको भन्दै आलोचना हुन थालेपछि ह्वाइट हाउसले भने यसको खण्डन गरेको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो सम्पूर्ण व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने गरी एउटा ट्रस्ट अन्तर्गत राख्नुभएको छ, त्यसैले यसमा 'स्वार्थको द्वन्द्व' वा हित बाझिने अवस्था छैन।

ह्वाइट हाउसकी उपप्रेस सचिव अन्ना केलीले भनिन्, "राष्ट्रपति ट्रम्पले अमेरिकालाई विश्वकै 'क्रिप्टो राजधानी' बनाउने योजना गर्वका साथ अघि बढाउनुभएको छ। राष्ट्रपति वा उहाँको परिवारले कहिल्यै पनि पदको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिने काम गरेको छैन।"

यसअघि बिटक्वाइनलाई ‘ठगी’ र ‘विपत्ति निम्त्याउने माध्यम’ भनेर आलोचना गर्ने ट्रम्पले दोस्रो कार्यकालमा भने क्रिप्टोकरेन्सी उद्योगप्रति मैत्रीपूर्ण नीति अपनाएका छन्। उनले डिजिटल सम्पत्तिसम्बन्धी ‘GENIUS Act’ मा हस्ताक्षर गर्दै अमेरिकालाई डिजिटल सम्पत्तिको विश्व नेतृत्वमा पुर्याउने लक्ष्य सार्वजनिक गरेका छन्।

'फोर्ब्स' म्यागजिनका अनुसार सन् २०२४ मा २.३ अर्ब डलर रहेको ट्रम्पको कुल सम्पत्ति हाल बढेर ६ अर्ब डलर पुगेको छ। त्यस्तै ब्लूमबर्गको अर्बपति सूचकांकले भने ट्रम्पको कुल सम्पत्ति ७.६ अर्ब डलर देखाएको छ।

असार १७, २०८३ बुधबार १२:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।