ह्वाट्सएपमा अब फोन नम्बर बिना नै च्याट गर्न मिल्ने, युजरनेम फिचर रोलआउट सुरु

ह्वाट्सएपमा अब फोन नम्बर बिना नै च्याट गर्न मिल्ने, युजरनेम फिचर रोलआउट सुरु

एजेन्सी : लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूलाई फोन नम्बर बिना युनिक यूजरनेम आदानप्रदान गरेर च्याट गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ।

अब ह्वाट्सएप प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर अरूलाई नदिएरै, केवल 'युजरनेम' सेयर गरेर एकअर्कासँग च्याट गर्न सक्ने भएका छन्।

कम्पनीका अनुसार यो सुविधा आगामी केही महिनाभित्र विश्वभर रहेका प्लेटफर्मका करिब तीन अर्ब प्रयोगकर्तामाझ क्रमिक रूपमा उपलब्ध गराउने घोषणा गरेको छ।

ह्वाट्सएपका अनुसार प्रयोगकर्ताहरूले सोमबारदेखि नै एप भित्र गएर आफ्नो मनपर्ने युजरनेम 'रिजर्भ' गर्न सक्नेछन्। यद्यपि, यो फिचर अनिवार्य भने गरिएको छैन। प्रयोगकर्ताले चाहेको समयमा आफ्नो युजरनेम परिवर्तन गर्न वा हटाउन समेत सक्ने कम्पनीले जनाएको छ।

यो फिचर पूर्ण रूपमा लागू भएपछि, नयाँ व्यक्तिसँग जोडिनका लागि फोन नम्बर आदानप्रदान गरिरहनु पर्ने छैन। युजरनेम सेयर गरेरै कुराकानी सुरु गर्न सकिनेछ। साथै, पहिलेझैँ चित्त नबुझेका वा अपरिचित अकाउन्टहरूलाई ब्लक र रिपोर्ट गर्ने विकल्प यथावत रहनेछ।

तर युजरनेम भने बढीमा ३५ क्यारेक्टरको हुनुपर्नेछ। उच्च पदस्थ सरकारी अधिकारी र चर्चित सेलिब्रेटीहरूको नाम सुरक्षित राखिनेछ, जसले गर्दा अन्य सर्वसाधारणले उनीहरूको नाममा फेक अकाउन्ट बनाउन पाउने छैनन्।

अकाउन्ट खोल्नका लागि भने पहिलेझैँ फोन नम्बर आवश्यक पर्नेछ र यसको कुनै सार्वजनिक 'युजरनेम डाइरेक्टरी' (खोज्ने सूची) हुने छैन।

ह्वाट्सएपकी प्रोडक्ट हेड एलिस न्यूटन-रेक्सका अनुसार, विशेषगरी ग्रुप च्याटहरूमा आफ्नो व्यक्तिगत फोन नम्बर सेयर गर्न नचाहने प्रयोगकर्ताहरूको मागलाई सम्बोधन गर्दै यो फिचर ल्याइएको हो। यसले प्रयोगकर्तालाई आफ्नो पहिचान नियन्त्रण गर्ने थप स्वतन्त्रता दिनेछ।

यसअघि सन् २०२४ मा अर्को सुरक्षित म्यासेजिङ एप 'सिग्नल' ले पनि ठ्याक्कै यस्तै फिचर ल्याएको थियो।

यो फिचरलाई सकारात्मक मानिए पनि गोपनीयता विज्ञहरूले भने ह्वाट्सएपको आलोचना गर्न छाडेका छैनन्। अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक तथा 'प्राइभेसी इज पावर' की लेखिका कारिसा भेलिजले यो फिचर राम्रो भएपनि ह्वाट्सएप समग्रमा प्राइभेसी-फ्रेंडली एप नभएको बताएकी छिन्। 

उनी भन्छिन्, "यसले विज्ञापन र मार्केटिङका लागि प्रयोगकर्ताको धेरै 'मेटाडेटा' संकलन गर्छ। हामीले बिर्सनु हुँदैन कि ह्वाट्सएप मेटाको स्वामित्वमा छ, जसको प्राइभेसी ट्र्याक रेकर्ड सबैभन्दा खराब छ।"

यसैबीच, विगत ७ वर्षदेखि ह्वाट्सएपको प्रमुख रहेका विल क्याथकार्टले आफ्नो पद छोडेका छन्। अब उनको ठाउँ भारतीय फिनटेक स्टार्टअपका संस्थापक कुनाल शाहले लिने कम्पनीले जानकारी दिएको छ।

असार १६, २०८३ मंगलबार १२:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।