रत्यौली शैलीमा पूजा शर्माको ‘केटा लुक्स’
काठमाडौं : अभिनेत्री पूजा शर्मा अभिनीत पछिल्ला फिल्महरू प्रदर्शनमा आउन ढिलाइ भइरहेका छन्। रेखा थापाद्वारा निर्मित फिल्म ‘३६ को आँकडा’को छायांकन सकिएको लामो समय भइसक्दा पनि प्रदर्शन मिति तय हुन सकेको छैन।
यद्यपि उक्त फिल्म गत फागुन २७ गते प्रदर्शन हुने चर्चा गरिएको थियो। यतिबेला अर्को फिल्म ‘महाराजधिराज’को सुटिङमा व्यस्त रहेकी शर्माले यसैबीच आफ्नो नयाँ फिल्म ‘रत्यौली’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकी छन्।
आगामी फागुन २१ गतेलाई फिल्म प्रदर्शन मिति तोकिएको छ। महाशिवरात्रि र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति निर्माण टिमले असारमै लक गरिएको छ।
सामाजिक कथामा निर्माण हुने यस फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री शर्मालाई केटाको लुक्समा देख्न सकिन्छ। नाचिरहेको लुक्समा उनलाई यस फिल्ममा विजय बरालले साथ दिएका छन्। फरक लुक्स र क्यारेक्टरमा उनी प्रस्तुत हुन लागेको देखिन्छ।
फिल्मको शीर्षक अनुसार नै उनी यस फिल्ममा रत्यौली कै शैलीमा प्रस्तुत पोस्टरमा देखिन्छिन्। सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ।
पूजा शर्माको प्रस्तुति, सुरज आचार्यको निर्माण रहने यो फिल्ममा मुस्कान ढकालको निर्देशन रहनेछ। यो फिल्ममा अभिनेताका रूपमा विजय र अभिनेत्रीमा पूजा एक महिनाअघि नै फाइनल भइसकेका छन्। तर अरू कलाकार तथा प्राविधिकहरूको नाम भने निर्माण टिमले गोप्य राखेका छन्।
उनीहरूले बिस्तारै फिल्मको कलाकार तथा प्राविधिकहरूको नाम सार्वजनिक गर्ने मुडमा देखिएका छन्। नाईटिङ्गेल ईन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने भनियो यो फिल्ममा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले वितरण गर्ने पक्का भइसकेको छ।
यसअघि पूजा शर्माले सुदर्शन थापासँग मिलेर निर्माण गरेको फिल्म ‘रावायण’ले फ्लप भएको थियो। उक्त फिल्मबाट अभिनेत्री शर्माले दुई करोड हाराहारी घाटा लगाएको थियो। त्यो फिल्मको घाटा यसले उकास्ने दाउमा शर्मा देखिन्छन्।
असार १५, २०८३ सोमबार १४:१५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।