लगातार फिल्म फ्लप हुन थालेपछि स्क्रिप्टमा घोत्लिँदै दयाहाङ, 'पेन्सन पट्टा'ले फर्काउला त पुरानो क्रेज?
काठमाडौं : अभिनेता दयाहाङ राईका पछिल्ला फिल्मले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेका छैनन्। पछिल्लो समय प्रदर्शनमा आएका ‘मिरमिरे’ र ‘मितज्यु’ लगायतका फिल्मको व्यवसायीक अवस्था बक्स अफिस रिपोर्टमा कमजोर प्रदर्शन देखियो।
‘मितज्यु’ले बक्स अफिसमा लगानी सुरक्षित गर्न नसकेपछि दयाहाङ यतिबेला नयाँ फिल्म गर्ने मुडमा देखिँदैनन्। यतिबेला आफ्नै नाटकघर मण्डलामा बसेर फिल्मका स्क्रिप्टमा मेहनत गरिरहेका छन्।
सोही बीचमा उनले अभिनय गरेको फिल्म ‘पेन्सन पट्टा’आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ। अघिल्ला फिल्महरूको असफलताले सिर्जना गरेको व्यावसायिक दबाबलाई कम गर्न उनका लागि यो फिल्म सफल हुनुपर्ने चुनौती छ।
सोही क्रममा निर्माण टोलीले असार १५ को अवसर पारेर फिल्म ‘पेन्सन पट्टा’का तीन वटा फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य पात्र दयाहाङ राई र गौमाया गुरुङलाई प्रस्तुत गरिएको छ।
फिल्म अभिनेता तथा निर्देशक माओत्से गुरुङले यी पोस्टर रिलिज गरेर फिल्मको प्रचार थालेका हुन्। सार्वजनिक पोस्टरहरूले फिल्मको कथावस्तु, पात्रहरूको जीवनशैली, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई जीवन्त ढंगले प्रस्तुत गरेका छन्।
फिल्मको तीन पोस्टरमध्ये एउटामा दयाहाङ राई र गौमाया गुरुङ ग्रामीण परिवेशमा देखिएका छन्। गौमायाको काखमा बाख्राको पाठो देखिन्छ भने दयालाई सरल जीवनशैली प्रस्तुत भएका छन्।
दोस्रो पोस्टरमा दयाहाङ र गौमाया प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन्। जहाँ दुवै जना हात समातेर झरनाको बाटो हुँदै कतै हिँडिरहेका छन्, डोको बोकेर।
त्यसैगरी तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा देखिएका छन्। उनी यस फिल्ममा लाहुरेको भूमिकामा रहेको बुझ्न सकिन्छ भने गौमाया परम्परागत गुरुङ पहिरनमा प्रस्तुत भएकी छन्। गुरुङ समुदायको लाहुर जाने कथामा यो फिल्म निर्माण भएको संकेत गर्छ।
सार्वजनिक भएका पोस्टर र उनको क्यारेक्टर हेर्दा फिल्मले उनलाई उचाइ लैजाने देखिन्छ। तर फिल्मको कथा र पटकथाका साथै दर्शकको फिल्म हेर्ने मनसाय कस्तो छ भन्नेमा भर पर्छ। अनुभवी निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा दयाहाङ र गौमायाका अलावा बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्मको कथा पनि निर्देशक माओत्से आफैले लेखेका हुन्। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके),माया गुरुङ (हङकङ) र सपना गुरुङले निर्माण गरेको आरआर फिल्म्सले नेपालभर वितरण गर्दैछ।
यो फिल्मसँगै अन्य दुई फिल्म फिल्म ‘माया भनेको यस्तो होला’ र ‘अक्षरा’पनि प्रदर्शनमा आउँदै छन्। फिल्म ‘माया भनेको यस्तो होला’लाई अभिनेत्री रेखा थापाले निर्देशन गरेकी हुन् भने ‘अक्षरा’लाई विनयराज पौडेलको छ।
असार १५, २०८३ सोमबार १०:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।