बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै संसदमा कांग्रेसको प्रश्न - ‘के रास्वपा संविधानभन्दा माथि छ?’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रश्न उठाएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद रेनुका काउचाले रास्वपाको सदस्यता वितरण प्रक्रियामा कानुनी उल्लंघन भएको दाबी गरेकी हुन्।
सांसद काउचाका अनुसार रास्वपाले औपचारिक रूपमा सार्वजनिक गरेको तथ्याङ्क र सूची हेर्दा १८ वर्षमुनिका ३५ हजार २५७ जना बालबालिकालाई पार्टी सदस्य बनाएको पाइएको छ।
‘एउटा तथ्यांकले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ, रास्वपा सदस्यता लिनेको सूची हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार २५७ जना सदस्य हुनुहुँदो रहेछ, औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालको कांग्रेसको ध्यानाकर्षण भएको छ,’ उनले भनिन्।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस किसिमको कानुनी व्यवस्थालाई स्मरण गराउँदै काउचाले प्रश्न गरिन्, 'यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरिएको छ, के रास्वपालाई यो व्यवस्था लागू नहुने हो? कि रास्वपा संविधानभन्दा माथि छ?'
सांसद काउचाले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने जोड दिँदै सरकारको दोहोरो चरित्रमाथि पनि प्रश्न गरिन्। विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहितका विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरिरहेको सरकारले, आफ्नै पार्टीमा भने कलिला बालबालिकालाई सदस्यता बाँडेको उनको आरोप छ।
असार १४, २०८३ आइतबार १२:१२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।