२५ करोडको लगानीमा धरानमा बन्यो स्मार्ट बसपार्क, काठमाडौंले 'भ्यु टावर' हेरेको हेर्यै

२५ करोडको लगानीमा धरानमा बन्यो स्मार्ट बसपार्क, काठमाडौंले 'भ्यु टावर' हेरेको हेर्यै

धरान : पूर्वी नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र धरानमा करिब २५ करोडको लगानीमा अत्याधुनिक स्मार्ट बसपार्क सञ्चालनमा आएको छ।

साँघुरो पुरानो बसपार्कका कारण ट्राफिक जाम, भिडभाडका कारण यात्रु, व्यवसायीसँगै धरानवासीले समेत सास्ती पाउँदै आएका थिए। सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०-५० प्रतिशत आन्तरिक स्रोतको साझेदारीमा निर्माण सुरु भएको बसपार्क बल्ल सञ्चालनमा आयो।

करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा फैलिएको बसपार्कको कूल लागत अनुमान ३३ करोड ७० लाख ४७ रुपैयाँ गरिएको थियो।

निर्माणको जिम्मा पाएको बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले २५ करोड ४१ लाख ६७ हजारमा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। अनुमानित बजेटभन्दा कम अर्थात् २४ करोड ८६ लाख नौ हजारमै आधुनिक संरचना तयार भएको जानकारी धरान उपमहानगरपालिकाका योजना शाखाका इन्जिनियर प्रकाश शर्माले दिए।

कस्तो छ त 'स्मार्ट बसपार्क'?

यो बसपार्क केवल गाडी रोक्ने ठाउँ मात्र होइन, बरु प्रविधि र आधुनिक सुविधायुक्त हब बनाउने प्रयास भएको देखिन्छ। यहाँ यात्रु र सवारी साधनका लागि वैज्ञानिक व्यवस्थापन गरिएको छ।

धरानमा शनिवारबाट सञ्चालनमा आएको नयाँ बसपार्क।मुख्य क्षेत्रमा एकै पटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने संरचना बनेको छ। भवनको भुइँतलामा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप व्यवस्थित रूपमा पार्क गर्न मिल्ने क्षमता छ।

करिब ३ सय यात्रु सहजै अट्ने सुविधा सम्पन्न आधुनिक प्रतीक्षालय, डिजिटल टिकट काउन्टर, एटिएम बुथ, र प्राथमिक उपचार कक्षको व्यवस्था छ।

सम्पूर्ण बसपार्क क्षेत्रको निगरानीका लागि सिसिटिभी क्यामेरा र सुरक्षा कक्ष स्थापना गरिएको छ। सार्वजनिक शौचालय, मिनीमार्ट तथा यात्रु ओराल्न र चढाउनका लागि मात्रै छुट्टै २२ वटा अटो अट्ने स्टेसन बनाइएको छ।

बसपार्क भवनको पहिलो तलामा १८ वटा आधुनिक व्यावसायिक सटरहरू निर्माण गरिएका छन्, जसले स्थानीय व्यापारलाई समेत सहयोग पुर्याउने देखिन्छ।

काठमाडौं हेरेको हेर्यै

यता काठमाडौंमा पनि पुरानो बसपार्कलाई आधुनिक बनाउने भन्दै निर्माणको काम सुरु भएको वर्षौँ भइसक्यो तर अहिलेसम्म बसपार्क निर्माणको काम सकिएको छैन।

सार्वजनिक निजी साझेदारीमा भ्यु टावर नाम दिएर आधुनिक बसपार्क बनाउन २०७१ मा सम्झौता भए पनि १३ वर्षमा पनि निर्माणको काम सकिएको छैन।

काठमाडौंको पुरानो बसपार्कमा निर्माण गर्न खोजेको भ्यु टावरसहितको बसपार्क र अहिलेको अवस्था।सम्झौतामा निजी कम्पनीले काठमाडौं भ्यु टावर निर्माण गरी ३० वर्षसम्म सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्ने सर्त छ। यसै आयोजनाका लागि २०७२ साल वैशाखदेखि पुरानो बसपार्कलाई खुलामञ्चमा सारिएको थियो र पछि त्यहाँबाट पनि हटाएर अहिले काठमाडौंका सार्वजनिक सवारीहरूलाई पिक एन्ड ड्रप प्रणालीमा चलाउने प्रयास भइरहेको छ।

तर निरन्तर विवाद र निर्माण कम्पनीको सुस्त कामका कारण सो क्षेत्रमा अझै आधुनिक बसपार्क बन्न सकेको छैन। तर धरानले सहजै ४ वर्षमा नयाँ र आधुनिक बसपार्क बनाएर सञ्चालनमा समेत ल्याइसकेको छ। पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो।

गोंगबुको नयाँ बसपार्क क्षेत्र पनि व्यापारिक स्वार्थ र महानगरपालिकाको कमजोर नियमनका कारण अस्तव्यस्त छ। बसपार्कको मुख्य लक्ष्यले बनाइएको सो क्षेत्र अहिले व्यापारिक स्वार्थको चपेटामा परेको छ।

असार १४, २०८३ आइतबार १०:४८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।