बिहीबारदेखि फेरि वर्षाको सम्भावना, घटस्थापनासम्मै मौसम बदली र चिसो बढ्ने
काठमाडौं : केही दिनअघिको अविरल वर्षा र बाढी-पहिरोको त्रास सेलाउन नपाउँदै मुलुकमा फेरि अर्को वर्षाको सम्भावना देखिएको छ।
पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली भई दशैंको पहिलो दिन अर्थात् घटस्थापनासम्मै झरी पर्ने र चिसो बढ्ने मौसमविद्हरूले बताएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायु सक्रिय हुने भएकाले बिहीबारदेखि घाम कम लाग्ने र पहाडी भेगका केही स्थानमा वर्षा सुरु हुनेछ।
त्यसपछि आगामी आइतबारदेखि असोज २५ गते घटस्थापनासम्म देशभर मौसम बदली भई लगातार झरी पर्ने र चिसो मौसम रहने सम्भावना छ।
यता, जल तथा मौसम विज्ञान विभागले पनि आफ्नो नियमित तीन दिने बुलेटिनमार्फत आगामी बिहीबारदेखि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले त्यसपछिको विस्तृत विवरण आउन बाँकी छ।
यसअघि असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण विशेषगरी पश्चिम नेपालमा ठूलो विपद् निम्तिएको थियो। सो बाढी-पहिरोमा परी २२ जनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक क्षति भएको थियो।
भर्खरै वर्षा थामिएर जनजीवन सामान्य बन्दै गर्दा र महान् चाड दशैंका लागि घर फर्कनेहरूको चहलपहल सुरू हुन लाग्दा फेरि मौसम बिग्रने संकेत देखिएपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन्।
असोज १३, २०८३ मंगलबार ०९:०७:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।