हार नमान्ने प्रकाश : भारतीय कम्पनीविरुद्ध दिल्लीमा मुद्दा जिते, खरानीबाटै उठेर फेरि उद्यम गरे

हार नमान्ने प्रकाश : भारतीय कम्पनीविरुद्ध दिल्लीमा मुद्दा जिते, खरानीबाटै उठेर फेरि उद्यम गरे

बुटवल : आगो निभिसकेको थियो, तर प्रकाश भुसालको मनभित्रको हुरी शान्त भएको थिएन। बुटवल मिलनचोकस्थित डेल्टा भवनमा रहेको उनको व्यवसायको नामोनिसान मेटिएको थियो।

पसलमा न सामान बाँकी थिए, न लगानी। वर्षौंको रगत-पसिनाले खडा गरेको संरचना खरानीमा परिणत भएको थियो। त्यहाँ बाँकी थियो त केवल जलेका अवशेष, एउटा रित्तो ठाउँ र तिर्न बाँकी दायित्वको लामो सूची।

त्यस घडी प्रकाशसामु दुईवटा मात्र विकल्प थिए- कि त गुमेको हिसाब गर्दै निराशामा डुब्ने, कि शून्यबाटै फेरि उठ्ने।

उनले दोस्रो बाटो रोजे।

आगलागी भएको केही दिनमै उनले १० वटा सिलाइ मेसिन जुटाए, पाँच जना कालिगढ राखे। कच्चा पदार्थ उधारोमा ल्याउने व्यवस्था मिलाए र फेरि कपडा उत्पादन सुरु गरे।

करोडौंको व्यवसाय गुमाएर सडकमा पुगेका उनी हिम्मत नहारी एउटा सानो गार्मेन्टका सञ्चालक बने। त्यही सानो तर आत्मविश्वासी सुरुवातले अहिले तीनवटा आउटलेट, करिब ६० जनालाई रोजगारी र बुटवल बाहिरसम्मको बजारको आकार लिइसकेको छ।

एउटा गणितको प्रश्नले बदलिएको आत्मविश्वास
प्रकाशको बाल्यकाल सहज थिएन। उनी जन्मिएको छ महिनामै आमाबुबाको सम्बन्ध टुट्यो। आमाको काखबाट वञ्चित उनले हजुरआमा र बुबाको संरक्षणमा अर्घाखाँचीको गाउँमा बाल्यकाल बिताए।

माओवादी द्वन्द्वका कारण बोर्डिङ स्कुल बन्द भएपछि सरकारी विद्यालय हुँदै कक्षा ८ बाट उनको पढाइ बुटवलको अक्सफोर्ड स्कुलमा सुरु भयो।

गाउँबाट सहर आएकाले आफू अरूभन्दा कमजोर छु भन्ने उनलाई लाग्थ्यो। तर, कक्षा ९ को एउटा घटनाले उनको जीवनको दिशा नै बदलिदियो।

तत्कालीन गणित शिक्षक दिनेश भुसालले बोर्डमा एउटा जटिल प्रश्न लेखे। अगाडि बसेका ‘जान्ने’ भनिएका विद्यार्थीले हल गर्न सकेनन्। पछाडि बसेका प्रकाशलाई पनि आफूले मिलाउँछु भन्ने पक्का थिएन, तर उनले हिम्मत गरे। बोर्डमा गए र प्रश्न हल गरिदिए।

त्यो क्षण एउटा सामान्य कक्षाको घटना मात्र रहेन, उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो।

‘मेहनत नगरेर पो नसकिने रहेछ। भोलि सरले जे पढाउनुहुन्छ, त्यो आजै पढ्ने हो भने पक्कै सकिन्छ भन्ने लाग्यो’, उनी विगत सम्झन्छन्।

त्यसपछि गणितमा उनको रुचि यति बढ्यो कि कक्षा १० मा पुग्दा उनी ९ कक्षाका विद्यार्थीलाई गणित पढाउन थालिसकेका थिए। सँगसँगै उनको मनमा व्यवसायको बीउ पनि अङ्कुराउन थालेको थियो।

कापीमा लेखिएको २२ पृष्ठको सपना
कक्षा ९ मै उनले ‘स्टुडेन्ट कम्प्लेक्स’ सञ्चालन गर्ने महत्त्वाकांक्षी अवधारणा बुने। विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने सबै सामग्री र सेवा एकै छानामुनि उपलब्ध गराउने उनको सोच थियो।

यसका लागि उनले व्यावसायिक प्रस्ताव कसरी बनाउने भन्ने पुस्तक पढेर २२ पृष्ठ लामो योजना तयार पारे र विद्यालयका प्रधानाध्यापकलाई देखाए। सानै उमेरमा उनको व्यावसायिक सुझबुझ प्रस्ट भइसकेको थियो।

२०६० सालमा एसएलसी उत्तीर्ण भएपछि विज्ञान पढ्न तिलोत्तमा क्याम्पस भर्ना भए। त्यहाँ उनी पढाइमा मात्र सीमित रहेनन्, विद्यार्थीको हकहितका लागि क्यान्टिनको गुणस्तर सुधारको आन्दोलनको नेतृत्व नै गरे।

पछि इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न काठमाडौं पुगे पनि उनको मनले भने उद्यमशीलतातर्फ नै तानिरह्यो। अन्ततः उनी बुटवल नै फर्किए।

२५ हजारबाट सुरु भएको पहिलो उद्यम
बुटवल फर्किएपछि उनले ट्युसन पढाउन थाले। एउटा घरले तीन महिना पढाएको पैसा दिएन, तर अन्यत्रबाट जम्मा भएको करिब २५ हजार रुपैयाँलाई उनले व्यक्तिगत खर्चमा उडाएनन्। बरु सात जना साथीसँग मिलेर त्यही रकमबाट एउटा शिक्षण संस्था खोले।

त्यतिबेला बुटवलमा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गराउने संस्था सीमित थिए। उनीहरूले ब्रिज कोर्स, नमुना परीक्षा र शैक्षिक सेमिनार सञ्चालन गरे। व्यवसाय विस्तार हुँदै चितवन र दाङसम्म पुग्यो।

तर, प्रकाश तत्कालीन मुनाफामा मात्र नभई दीर्घकालीन संरचना बनाउन चाहन्थे। साझेदारहरूसँग सोच नमिलेपछि उनी त्यहाँबाट बाहिरिए, तर उनको उद्यमशील यात्रा रोकिएन।

तीन लाखबाट युनिफर्म बजारमा प्रवेश
शैक्षिक क्षेत्रलाई नजिकबाट बुझेका उनले बुटवलमा व्यवस्थित युनिफर्म व्यवसायको सम्भावना देखे। आफूसँग भएको तीन लाख र भिनाजुसँग लिएको तीन लाख गरी जम्मा ६ लाख रुपैयाँमा उनले व्यवसाय थाले।

विद्यालयमा परम्परागत पोसाकको सट्टा टिसर्ट र ट्र्याकसुटलाई युनिफर्मका रूपमा प्रयोग गर्ने नयाँ अभ्यास उनले भित्र्याए। नयाँ शैली भएकाले पुराना व्यवसायीबाट विरोध पनि खेप्नुपर्यो, तर उनको व्यवसायले गति लिँदै गयो।

मेसिन नआएपछि भारतको अदालतसम्मको सङ्घर्ष
व्यवसाय चलिरहेकै बेला उनले नेपालमा उत्पादन नहुने एल्युमिनियम कन्टेनर (मःम तथा खाद्य सामग्री प्याक गर्ने) उद्योग खोल्ने सपना देखे। रूपन्देहीको सैनामैनामा जग्गा लिएर संरचना बनाए।

मेसिन खरिदका लागि भारतीय कम्पनीलाई ठूलो रकम अग्रिम पठाए। तर, सम्झौताअनुसार मेसिन आएन।

लामो समयसम्म मेसिन पनि नआउने र पैसा पनि फिर्ता नपाउने अवस्था आएपछि उनले भारतीय कम्पनीविरुद्ध दिल्लीस्थित साकेत अदालतमा मुद्दा दायर गरे। त्यही बेला कोरोना महामारी सुरु भयो। परिवार र आफन्तले ज्यानको माया मारेर पैसा माया मार्न सुझाए, तर प्रकाश पछि हटेनन्।

१० वर्ष लामो कानुनी लडाइँ लडेर अन्ततः उनले मुद्दा जिते र आफ्नो रकम फिर्ता ल्याएरै छाडे। मेसिन नआएका कारण उद्योगको योजना पूरा नभए पनि उनको लडाकु स्वभाव भने प्रमाणित भयो।

त्यसपछि उनी २५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत परियोजनामा जोडिए। लगानीकर्ता र सञ्चालक समितिसँग मिलेर वित्तीय व्यवस्थापनमा काम गरे।

तर, पछि व्यवस्थापन र साझेदारीको समीकरण फेरिएर आफ्ना योजनाहरूमा नियन्त्रण गुमेपछि उनी त्यहाँबाट पनि बाहिरिए र पुनः आफ्नै पुरानो क्षेत्र- कपडा व्यवसायमै फर्किए।

६ करोडको लगानी र त्यो कालो दिन
बुटवलमै उनले ‘नेपाली लुगा घर’ सुरु गरे। व्यवसाय विस्तार हुँदै जाँदा लगानी करिब ६ करोड रुपैयाँ पुगिसकेको थियो। यसमध्ये करिब एक करोड रुपैयाँ मासिक १७/१८ प्रतिशतसम्मको उच्च ब्याजदरमा ऋण लिइएको थियो। जोखिम ठूलो भए पनि व्यवसाय राम्ररी फस्टाइरहेको थियो।

तर, ६ असार २०८१ को दिन उनको जीवनमा बज्रपात बनेर आयो।

डेल्टा भवनमा भएको भीषण आगलागीले उनको व्यवसाय खरानी बनायो। दमकल समयमै प्रभावकारी रूपमा नचल्दा उनको आँखा अगाडि नै वर्षौंको मेहेनत दन्किरहेको आगोमा स्वाहा भयो।

आगलागीले करोडौंको सम्पत्ति मात्र जलाएन, उनलाई अकल्पनीय दबाबमा धकेल्यो। बैङ्कको ऋण, कर्मचारीको दायित्व, र परिवारको जिम्मेवारी जस्ताको तस्तै थियो। श्रीमती नर्सका रूपमा कार्यरत थिइन्, तीन छोराछोरी विद्यालय पढ्दै थिए। हिजोसम्म सफल व्यवसायी रहेका प्रकाश आज अचानक सडकमा आइपुगेका थिए।

१० वटा मेसिनबाट फेरि उठ्ने साहस
विपत्तिले मानिसलाई कि त सधैंका लागि लडाउँछ, कि अझ बलियो बनाएर उठाउँछ। प्रकाशले हार मानेनन्। आगलागी भएको केही दिनमै उनले फेरि गार्मेन्ट व्यवसाय सुरु गर्ने साहसिक निर्णय गरे।

यसपटक उनीसँग करोडौं लगानी थिएन। मात्र १० वटा सिलाइ मेसिन, ५ जना कालिगढ र अदम्य साहस थियो। कपडा किन्ने पैसासमेत नहुँदा आपूर्तिकर्ताको विश्वास जितेर उधारोमा कच्चा पदार्थ ल्याए। ठूलो स्टक राख्ने जोखिम नलिई अर्डरअनुसार मात्र सामान तयार पार्ने नीति लिए।

सुरुवाती दिनमा उनी आफैं कपडा नाप्थे, गुणस्तर जाँच गर्थे र खर्च कटौतीका उपाय खोज्थे। कामको हरेक प्रक्रियामा उनी आफैं खटिए। उनको इमानदार मेहेनतले बिस्तारै रङ्ग ल्याउन थाल्यो।

आज उनको गार्मेन्ट व्यवसायले बुटवलका तीन स्थानमा आउटलेट विस्तार गरिसकेको छ। ५ जनाबाट सुरु भएको रोजगारी अहिले ६० जनाको हाराहारीमा पुगेको छ। स्थानीय बजार मात्र होइन, सुर्खेत र धनगढीसम्मका विद्यालय, सङ्घसंस्था र फेन्सी पसलहरूबाट अर्डर आइरहेको छ।

कापीको त्यो सपना अझै जिउँदै छ
कक्षा ९ मा हुँदा कापीमा कोरिएको ‘स्टुडेन्ट कम्प्लेक्स’को योजनादेखि आजको गार्मेन्ट उद्योगसम्म आइपुग्दा प्रकाशले अनेकौं हन्डर खाए। शिक्षण संस्था चलाए, उद्योग खोल्न भारतको अदालत धाए, जलविद्युतमा हात हाले र करोडौंको साम्राज्य खडा गरेर आगोमा गुमाए।

यति धेरै उतारचढावका बाबजुद उनको उद्यमशीलताको भोक अझै मरेको छैन। "मैले एसएलसी दिँदा सोचेको कन्सेप्टबाट म अलिकति पनि विचलित भएको छैन," उनी दृढताका साथ भन्छन्।

अब उनको एउटै लक्ष्य छ- स्वदेशी उत्पादनलाई बढावा दिँदै नेपाली कपडा र जुत्ताको उत्पादनतर्फ आफूलाई पूर्ण रूपमा समर्पित गर्ने। खरानीबाट उठेका प्रकाश, अब नेपालको उद्यमशीलताको आकाशमा चम्किलो उज्यालो छर्ने तयारीमा छन्।

असोज १४, २०८३ बुधबार ०७:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।