चोलेन्द्र पक्राउबारे प्रश्न गर्दा मन्त्री लम्सालले के भने?

चोलेन्द्र पक्राउबारे प्रश्न गर्दा मन्त्री लम्सालले के भने?

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा घरबाटै नियन्त्रणमा लिएको विषयमा सरकारका मन्त्रीहरू जवाफ दिनबाट पन्छिन थालेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वप्रधानन्यायाधीश राणालाई नियन्त्रणमा लिनुको कारणबारे सोधिएको प्रश्नमा आफूलाई त्यसबारे जानकारी नभएको भन्दै प्रश्न गृहमन्त्रीतर्फ पन्छाएका छन्।

प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूले मन्त्री लम्साललाई ‘यहाँहरूले पूर्वप्रधानन्यायाधीशलाई चाहिँ किन समाउनुभएको?’ भनी प्रश्न गरेका थिए।

जवाफमा मन्त्री लम्सालले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषय मात्र सोध्न आग्रह गर्दै भने, ‘मलाई विकास र पुनर्निर्माणसम्बन्धी कुरा सोध्नु... अरू विषय...।’

त्यसपछि पत्रकारले ‘तपाईं सरकारमै हुनुहुन्छ, मन्त्री हुनुहुन्छ’ भन्दै पुन: सोधेपछि मन्त्री लम्सालले गाडीको ढोका खोल्दै भने, ‘सबैलाई थाहा हुँदैन के! गृहमन्त्रीलाई सोध्ने कुरा गृहमन्त्रीलाई सोध्नुपर्यो नि!’

प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यरात पूर्वप्रधानन्यायाधीश राणालाई बाँसबारीस्थित निवासबाट दुई जना पिएसओसहित नियन्त्रणमा लिएको थियो।

राणाले बुढानीलकण्ठस्थित एक रिसोर्टमा अदालतमा विचाराधीन मुद्दासँग जोडिएका राजनीतिक दलका नेता, व्यापारी तथा प्रतिवादीहरूसँग निरन्तर शंकास्पद भेटघाट गरिरहेको सूचना राष्ट्रिय अनुसन्धान विभागमार्फत पाएपछि प्रधानमन्त्रीकै निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको स्रोतको दाबी छ।

यद्यपि प्रहरीले राणालाई पक्राउ पुर्जी दिएको छैन। प्रहरीले उनलाई असुरक्षा देखिएकाले ‘सुरक्षा दिन’ नियन्त्रणमा राखिएको दाबी गर्दै आएको छ।

बिना पक्राउ पुर्जी पूर्वप्रधानन्यायाधीशलाई मध्यरात नियन्त्रणमा लिइएको घटनाले कानुनी र राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला विभागीय मन्त्रीहरू भने यस विषयमा पन्छिन खोजेका छन्।

असोज १३, २०८३ मंगलबार १२:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।