एमाले वरिष्ठ नेता बनेपछि भण्डारीले भनिन् : ‘पार्टीमा एकता कायम गरी ऊर्जा दिन राजनीतिमा फर्किएँ’

एमाले वरिष्ठ नेता बनेपछि भण्डारीले भनिन् : ‘पार्टीमा एकता कायम गरी ऊर्जा दिन राजनीतिमा फर्किएँ’

रुपन्देही : एमालेको वरिष्ठ नेता एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा एकता कायम गरी थप ऊर्जा दिन, पुस्ताबीचको दूरी जोड्न र राष्ट्रिय हितको रक्षाका लागि आफू सक्रिय राजनीतिमा आएको बताएकी छन्।

मंगलबार बुटवलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले पार्टीले आफूलाई दिएको जिम्मेवारी स्वीकार गरेर जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताइन्। एमालेले यही असोज ८ गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।

बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गरिरहेको बताइन्। विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन्।

विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको उल्लेख गर्दै उनले २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको बताइन्।

“नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ”, उनले भनिन्।

जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा उनको जोड छ। मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उनले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर एकता कायम गर्नुपर्ने धारणा राखिन्।

एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने धारणा राखिन्। पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पुस्ताबीचको दूरी अन्त्य गरी सबै पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताइन्। शान्तिपूर्ण परिवर्तनका लागि लामो र निरन्तर यात्रा आवश्यक रहेको उनको भनाइ छ।

असोज १३, २०८३ मंगलबार २०:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।