‘३६ को आँकडा’को रिलिज मिति लक, रेखाको क्याफेमा निरुताले बर्थडे मनाउँदा पूजा गायब!

‘३६ को आँकडा’को रिलिज मिति लक, रेखाको क्याफेमा निरुताले बर्थडे मनाउँदा पूजा गायब!

काठमाडौं : अभिनेत्री तथा निर्माता रेखा थापाले निर्माण गरेको बहुप्रतीक्षित फिल्म ‘३६ को आँकडा’को बल्लतल्ल रिलिज डेट त जुर्यो, तर रिलिज मिति तोक्ने दिनमै देखिएको एउटा दृश्यले भने नयाँ गसिप जन्माएको छ।

सोमबार अभिनेत्री निरुता सिंहको जन्मदिनको मौका छोपेर रेखाले आफ्नै ‘बीआर क्याफे’मा भव्य जमघट गराइन्। केक काटियो, खुसी साटासाट भयो र आगामी मंसिर १७ गतेलाई फिल्मको रिलिज मिति ‘लक’ गरियो।

कार्यक्रममा निरुतासँगै अभिनेता पुष्प खड्का, महेश त्रिपाठी, पूर्वमिस नेपाल उषा खड्गी र निर्देशक सबिर श्रेष्ठसमेत हाँसिमजाकमा रमेका थिए। तर, यो रमाइलो माहोलबाट फिल्मकी अर्की मुख्य अभिनेत्री पूजा शर्मा भने ‘गायब’ थिइन्!

आखिर पूजा किन आइनन् त?

हुन त केही समयअघि रेखा र पूजाबीच सामाजिक सञ्जालमा छेडखानी र ‘कोल्ड वार’ चलेको कुरा कसैबाट लुकेको छैन। फिल्मको नामजस्तै यी दुई नायिकाबीच साँच्चिकै ‘३६ को आँकडा’ परेकैले पूजा निरुताको बर्थडे पार्टी र फिल्मको घोषणा कार्यक्रममा नझुल्किएकी हुन् कि कार्यव्यस्तताले? शंका गर्ने ठाउँ टन्नै छ।

यसअघि गत चैत २७ मै रिलिज गर्ने भनिएको यो फिल्म प्राविधिक काम नसकिएको भन्दै रोकिएको थियो। अघिल्लो फिल्म ‘उपहार’ बक्सअफिसमा नराम्रोसँग पछारिएपछि रेखालाई यसपटक जसरी पनि हिट फिल्म दिनुपर्ने दबाब छ।

सायद त्यही भएर पनि रेखा यसपटक निकै ढुक्क देखिन्छिन्। उनले भनिन्, ‘निरुताको जन्मदिन पारेर मिति घोषणा गरेका हौँ, अब यो मिति सर्दैन, ढुक्क हुनुस्।’

दुई सौतेनी दिदीबहिनीबीचको टकराव, पारिवारिक ड्रामा, कमेडी र एक्सनको मसला भएको यस फिल्ममा रेखा र पूजा नै मुख्य भिडन्तमा देखिँदैछन्।

असोज १३, २०८३ मंगलबार ०९:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।