रास्वपा पतन हुने लिङ्देनको दाबी, राप्रपाले कार्यशैली बदल्नुपर्नेमा जोड

रास्वपा पतन हुने लिङ्देनको दाबी, राप्रपाले कार्यशैली बदल्नुपर्नेमा जोड

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पतन निश्चित रहेकोले बलियो वैकल्पिक शक्तिका रूपमा आफ्नो पार्टी स्थापित बन्ने दाबी गरेका छन्। 

काठमाडौंमा शनिबार आयोजित पार्टीको काठमाडौं जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलामा उनले रास्वपाको पतनपछि राप्रपालाई बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न पार्टीको कार्यशैली र संरचनामा आमूल परिवर्तन आवश्यक रहेकोसमेत बताए।

लिङ्देनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै। तर त्यसपछि हामी उठ्नको लागि अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ। हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर हामी जानुपर्छ। हामीले आम जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, सुध्रियो भन्ने सन्देश दिनुपर्नेछ। त्यस किसिमको क्रियाकलापका लागि अब हामी तयार हुनुपर्छ।”

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै सम्पन्न हुने भन्दै उनले महाधिवेशनको मिति परिवर्तन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे। 

लिङ्देनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमै गर्ने भएका छौं। महाधिवेशनमा जान कुनै कुराले रोक्दैन। मिति परिवर्तनको कुनै सम्भावना छैन। महाधिवेशनको पूर्व तयारीका क्रममा गर्नुपर्ने स्थानीय तहको अधिवेशनहरुमा सक्रिय रूपले सहभागी हुन सबैलाई आग्रह गर्दछु।”

पार्टी छोडेर जाने नेताहरूको विषयमा उनले वर्तमान परिस्थितिलाई अस्वाभाविक रूपमा नलिन कार्यकर्तालाई आग्रह गरे। आफू मृत्युको मुखबाट फर्किएर आएकाले अहिलेको जीवनलाई ‘नाफाको जीवन’ ठानेको उल्लेख गर्दै उनले संगठनमा आएको चुनौतीबाट विचलित नहुने बताए।

लिङ्देनले राष्ट्रवादी शक्तिलाई समाप्त पार्न देशी-विदेशी शक्तिहरूले घेराबन्दी गरिरहेको आरोप समेत लगाए। “इतिहासमा युद्धका नियममा अथवा राजनीतिमा लडाइँबाट भाग्नेहरू जितेका वा लुक्नेलाई कसैले पनि बहादुर भनेको इतिहास छैन। अहिले राप्रपालाई अप्ठ्यारो परेकै बेला यसलाई कमजोर मात्र होइन, समाप्त नै पार्न विगतमा झैँ देशी-विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन," उनले भने, "अहिले चारैतिरबाट यो एउटा राष्ट्रवादी शक्तिलाई कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइरहेको बेला लुक्ने र मैदान छोड्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन।”

असार १३, २०८३ शनिबार १७:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।