कैदीबन्दीको रकम असुली गरेको आरोपमा विराटनगरबाट अभिषेक गिरी पक्राउ
विराटनगर : मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रूपमा रकम असुली गरेको आरोपमा प्रहरीले शनिबार विराटनगरबाट अभिषेक गिरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-८ स्थित उनको निवासबाट ४८ वर्षीय गिरीलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गरिरहेको विशेष सूचनाका आधारमा उनको घर खानतलासी गरेर गिरीलाई पक्राउ गरिएको हो।
कारागारका कैदीबन्दीहरूलाई उपलब्ध गराइने दैनिक भत्ता, लत्ताकपडा खर्च तथा अन्य रकममा असुली गर्ने गरेको उनीमाथि आरोप छ। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरी केही समयअघि मात्रै कारागारबाट छुटेका गिरी कारागारभित्र रहँदा चौकीदारको जिम्मेवारीमा रहेका थिए।
कारागारबाट मुक्त भए पनि उनले त्यहाँको आन्तरिक प्रशासनमा हस्तक्षेप गरी अवैध असुलीलाई निरन्तरता दिएको बताइएको छ। पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका गिरीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असार १३, २०८३ शनिबार १७:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।