हैदराबादमा बन्यो ‘डोनाल्ड ट्रम्प एभेन्यु’; ट्रम्पले भने - ‘थ्याङ्क यू इन्डिया!’

हैदराबादमा बन्यो ‘डोनाल्ड ट्रम्प एभेन्यु’; ट्रम्पले भने - ‘थ्याङ्क यू इन्डिया!’

एजेन्सी : भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ। हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकको नाम परिवर्तन गरेर ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो।

आफ्नो नामबाट सडकको नामकरण गरिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले खुसी व्यक्त गर्दै भारतलाई धन्यवाद दिएका छन्। यसरी भारतमा सडकको नाम आफ्नै नाममा राखिने आफू पहिलो अमेरिकी राष्ट्रपति भएको दाबी समेत उनले गरेका छन्।

शुक्रबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा ट्रम्पले लेखेका छन्, "भारतको हैदराबादमा नयाँ डोनल्ड ट्रम्प एभिन्यु-यसरी सम्मानित हुने पहिलो अमेरिकी राष्ट्रपति। धन्यवाद।"

अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित एक विशेष समारोहका बीच यो सडकको नयाँ नामकरण गरिएको हो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र तेलंगानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्काले संयुक्त रूपमा एक स्मारकको अनावरण गर्दै सडकको उद्घाटन गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै अमेरिकी राजदूत सर्जियो गोरले अमेरिका-भारतको रणनीतिक सहकार्यमा हैदराबादको बढ्दो महत्त्व र योगदानको प्रशंसा गरे।

तेलंगाना सरकारका अनुसार यो नामकरणले संयुक्त राज्य अमेरिकाप्रति सम्मान प्रकट गर्नुका साथै अमेरिका–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन हैदराबादले खेलिरहेको भूमिकालाई झल्काउँछ। 

यो सडक अमेरिकी दूतावासको नजिक मात्र नभएर हैदराबादमा रहेका ठूला अमेरिकी प्रविधि कम्पनीहरू माइक्रोसफ्ट, गुगल र अमेजनका कार्यालयहरू जाने मुख्य मार्गमा पर्दछ।

असार १३, २०८३ शनिबार १३:३७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।