गुटको विजारोषण गर्दै रास्वपा नेतृत्व, ३३ प्रतिशतले मात्रै छान्यो पदाधिकारी

गुटको विजारोषण गर्दै रास्वपा नेतृत्व, ३३ प्रतिशतले मात्रै छान्यो पदाधिकारी

काठमाडौं : गुटको निर्माण नगर्न चेतावनीसहित शुरू भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन गुटको जन्म गराउँदै सकियो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन समापन हुन छ दिन लाग्यो।

पहिलो महाधिवेशनको उद्घाटन जुन उत्साहका साथ शुरू भएको थियो, समापनसम्म त्यो उत्साह कायम हुन सकेन। पदाधिकारीको निर्वाचनमा पार्टी सभापतिले मतसम्म नहाल्ने वातावरण बन्यो।

खसेको मत प्रतिशत उस्तै उत्साहहीन देखियो। महाधिवेशन प्रतिनिधिको संख्याबाट शुरू भएको विवाद अन्तिमसम्म कायम रह्यो। केन्द्रीय सदस्यको निर्वाचनमा डिजिटल चिटबाट शुरू भएको गुटबन्दी पदाधिकारीको निर्वाचनसम्म आइपुग्दा सार्वजनिक रूपमै संगठित भयो।

सर्वसम्मत सभापति भएका रवि लामिछाने नै ग्यालेक्सी टेलिभिजनको योजना बनाउँदादेखिका सहयात्री र सहकारी ठगीमा पनि सँगै जोडिएका विपिन आचार्यलाई महामन्त्रीमा जिताउन सक्रिय भएर लागे।

प्रारम्भमा पदाधिकारी पनि सर्वसम्मत गर्ने प्रयास गरेका रवि उपसभापतिमा विराजभक्त श्रेष्ठलाई मनाएर स्वर्णिम वाग्लेलाई सर्वसम्मत गराउन सफल भए। तर, महिला उप-सभापति, महामन्त्री र सह-महामन्त्रीमा सफल हुन सकेनन्।

महामन्त्रीमा आफ्नै समूहका नेताहरू प्रतिष्पर्धामा उत्रिएपछि भने उनी विपिनको नाममा केहीलाई ब्याक गराउन सफल भए।

गुटगत प्रतिष्पर्धा निषेध भनिए पनि महामन्त्रीमा उम्मेदवारी दिएर ब्याक भएका रवि पक्षका नेताहरूले खुला रूपमा विपिनलाई समर्थन गरे। यसमा नयाँ शैलीको राजनीतिको अभ्यासबाट जन्मिएको विवेकशील साझाबाट आएका रन्जु दर्शना र समीक्षा बास्कोटा पनि मिसिए।

यसले संस्थापन समूहमै रहे पनि मनिषा झा एक्ला पारिए। अर्कोतिर वालेन्द्र शाह समूहले पनि खुलेरै आफ्नो गुट प्रवर्धन गरे। केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म आफ्नो गुटका नेताकप प्रचार गराउन प्रधानमन्त्री शाहको मिडिया समूह र सन्जाल सक्रिय रहे।

उनीहरूले केन्द्रीय सदस्यमा सचिवालमा रहेकाको प्रचारमा आफ्नो संयन्त्र सार्वजनिक रूपमा परिचालन गरे भने पदाधिकारीमा महिला उप-सभापतिमा डा तोसिमा कार्की र सह-महामन्त्रीमा असिम साहको प्रचार गरेर आफ्नो नयाँ समूहको जन्म गराए।

पदाधिकारीमा जम्मा ३३ प्रतिशत मत
रास्वपाको पहिलो महाधिवेशनमा ४ हजार बढी महाधिवेशन प्रतिनिधि सहभागी भए। देशभरबाट कुल ३ हजार ८ सय ४९ जना र प्रवासका १७० जना गरी कुल चार हजार १९ जना महाधिवेशन प्रतिनिधि थिए।

केन्द्रीय सदस्य चयनको मतदान बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म (१२ घण्टा) चलेको थियो। जसमा २ हजार ९५९ मत विद्युतीय मेसिनमा र ४९ मत गरी कुल तीन हजार ८ मत खसेको रास्वपाले सञ्चारकर्मीलाई सूचना दिन सञ्चालनमा ल्याएको मिडिया डेस्कको ह्वाट्सएप ग्रुपमा उल्लेख छ।

जसमा प्रवासको शत प्रतिशत मत नै प्राप्त गर्ने केन्द्रीय सदस्यका उम्मेदवार बने- उपसभापति स्वर्णिम वाग्ले।

कुल चार हजार १९ प्रतिनिधिमध्ये केन्द्रीय सदस्यको निर्वाचनमा करिब ७४.८४ प्रतिशत सहभागी भएका थिए। तर, पदाधिकारीको निर्वाचनको समय अझ पछाडि धकेलिँदा यो सहभागिता अझ घट्न पुग्यो।

६ पदाधिकारी चयनका लागि निर्वाचन हुनुपर्नेमा खुला उपसभापतिमा स्वर्णिम वाग्ले सर्वसम्मत भएपछि ५ पदाधिकारीका लागि निर्वाचन भयो। तर, छैटौं दिनसम्म आइपुग्दा धेरै प्रतिनिधिहरू घर फर्किसकेका थिए।

पदाधिकारी चयनको मतदानमा विद्युतीय मेसिनबाट १ हजार २८९ जना र प्रवासबाट ५३ जना गरी कुल १ हजार ३४२ जना प्रतिनिधिले मात्र मतदान गरे। कुल पदाधिकारीको यो जम्मा पदाधिकारीको निर्वाचनमा करिब ३३.३९ प्रतिशत मात्र हो।

खसेको मतमध्ये जसले बढी मत ल्यायो उही विजय हुने कानुनी प्रावधान रहे पनि पदाधिकारीमा एक तिहाई मतबाट निर्णय हुँदा रटजनीतिक प्रश्न भने उठ्छ नै!

महाधिवेशन व्यवस्थित हुन नसक्दा प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाहसहित अधिकांश प्रतिनिधि मत नै नहाली फर्किए।
 

असार १३, २०८३ शनिबार १२:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।