भेनेजुएला भूकम्प : ९०० बढीको मृत्यु, ५० हजार बढी बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

भेनेजुएला भूकम्प : ९०० बढीको मृत्यु, ५० हजार बढी बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

एजेन्सी : भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ। सरकारी अधिकारीहरूका अनुसार भूकम्पमा ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन्। 

भूकम्पमा ५० हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको विवरण प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ।

भग्नावशेषमा थुनिएकाहरूको खोजी र उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

विभिन्न देशका नागरिकको मृत्यु पुष्टि

मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्।

हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र ५६ जना बेपत्ता रहेको जनाएको थियो।

चीनको सरकारी प्रसारक सिसीटिभीले काराकासस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै सात चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ। दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

स्पेनले पनि आफ्ना कम्तीमा पाँच नागरिकको मृत्यु भएको तथा ११९ जना अझै बेपत्ता रहेको जनाएको छ। भग्नावशेषबाट १४ जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन्। आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा करिब एक लाख ४७ हजार स्पेनी नागरिक बसोबास गर्दै आएका छन्।

ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना दुई नागरिक–एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा भवन भत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ। इटालीका करिब एक लाख ७० हजार राहदानीवाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ। 

ला गुइरा र काराकासमा व्यापक क्षति, भौतिक संरचना ध्वस्त

भूकम्पका कारण राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा दर्जनौँ भवनहरू भत्किएका छन्। अधिकारीहरूका अनुसार राजधानी उत्तरमा पर्ने 'ला गुइरा' क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यस क्षेत्रमा देशकै मुख्य विमानस्थल 'सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल' र एउटा ठूलो बन्दरगाह रहेका छन्।

भूकम्पपछि हालसम्म २१४ भन्दा बढी परकम्पहरू गइसकेका छन्। राष्ट्रिय सभाका प्रमुख जोर्गे रोड्रिगेजका अनुसार सयौँ अस्पताल र सपिङ सेन्टरसहित कम्तीमा एक हजार भौतिक पूर्वाधारका संरचनाहरूमा क्षति पुगेको छ।

अस्पतालहरूमा क्षति पुगेका कारण घाइतेहरूको उपचार अस्थायी स्वास्थ्य शिविरहरूमा भइरहेको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार टेलिभिजन सम्बोधनमार्फत हालसम्म दर्जनौँ मानिसलाई जीवितै उद्धार गरिएको र ला गुइरा क्षेत्रबाट मात्रै २४३ जनाको उद्धार भएको जानकारी दिए। तर, अझै पनि कम्तीमा १७२ जना भग्नावशेषभित्रै फसिरहेको आशंका गरिएको छ। भत्किएका भवनहरू बाहिर आफ्ना आफन्त जीवितै फेला पर्ने आसमा परिवारजनहरू पर्खिरहेका छन्।

उद्धार कार्य तीव्र, अन्तर्राष्ट्रिय टोली परिचालन

सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू भेनेजुएला आइपुगिसकेका छन् भने थप टोलीहरू आउने क्रममा छन्। संयुक्त राष्ट्रसङ्घसहित अमेरिका, युरोप र एसियाका दर्जनौँ राष्ट्रहरूले आफ्ना विशेषज्ञ उद्धार टोली र राहत सामग्री भेनेजुएला पठाएका छन्।

अमेरिकाले भेनेजुएलाका लागि १५० मिलियन डलर (करिब १५ करोड डलर) बराबरको सहायता सामग्री उपलब्ध गराउने र हाल जारी रहेका आर्थिक प्रतिबन्धहरूमा खुकुलो गर्ने घोषणा गरेको छ। साथै, अमेरिकी सेनाले उद्धार कार्यको समर्थनका लागि दुईवटा जहाज, हेलिकप्टर र विमानहरू पठाएको जनाएको छ।

ब्राजिलले विमानमार्फत ३६ जना अग्निनियन्त्रक, प्राविधिक र ९ टन उपकरण पठाइएको छ। ब्राजिलले शनिबार अर्को उडानमार्फत सोलार प्यानलबाट चल्ने १०० वटा पानी फिल्टर, औषधि र घुम्ती अस्पताल (फिल्ड हस्पिटल) पठाउँदैछ।

एल साल्भाडोरले ३०० जना उद्धारकर्मी तथा पारामेडिक्स र ५० टन उपकरण एवं औषधि पठाएको छ भने क्युबाली स्वास्थ्यकर्मीहरू पहिलेदेखि नै प्रभावित क्षेत्रमा परिचालित भई उपचारमा जुटेका छन्।

मेक्सिकोले सैन्य उद्धार टोली पठाएको छ भने भूकम्पको धक्का महसुस गरेको छिमेकी कोलम्बियाले ६० भन्दा बढी उद्धारकर्मी र १२ टन राहत सामग्री पठाएको छ।

स्पेनले दुईवटा सरकारी उद्धार टोली पठाइसकिएको छ र १० लाख युरो सहयोगको घोषणा पनि गरेको छ। 

फ्रान्सले तत्कालै ८५ जना विशेषज्ञ उद्धारकर्मीको टोली पठाएको छ भने स्विट्जरल्याण्डले ८० जना कर्मचारी, उद्धारका लागि तालिमप्राप्त कुकुर र १८ टन उपकरण परिचालन गरेको छ।

जर्मनीले ६ वटा सैन्य परिवहन विमान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने नेदरल्याण्ड्सले उद्धार टोलीका लागि २ मिलियन युरोको प्याकेज घोषणा गरेको छ।

चेक गणतन्त्रले पनि आफ्नो उद्धार टोली भेनेजुएला पठाउन तयारी अवस्थामा राखेको छ भने  इसाई धर्मगुरु पोप लियो १४ औँले भ्याटिकनका तर्फबाट सुरुवाती आपतकालीन सहायता स्वरूप १ लाख युरो पठाएका छन्।

यस्तै एसियाली देशहरूबाछ भारतले वायुसेनाका दुईवटा विमानमार्फत ४१ सदस्यीय मेडिकल टोली, एउटा फिल्ड हस्पिटल युनिट, दुईवटा पोर्टेबल अस्पताल र ३० टन राहत सामग्रीका साथै ६ टन औषधि पठाएको छ। मेडिकल टोलीमा ट्रमा व्यवस्थापन विशेषज्ञ र शल्यचिकित्सक (सर्जन) हरू सामेल छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करले भारत भेनेजुएलाको यो कठिन घडीमा साथमा रहेको बताएका छन्।

चिनियाँ सरकार र चिनियाँ रेडक्रस सोसाइटीले आपतकालीन मानवीय सहायता, उद्धार टोली र चिकित्सा राहत सामग्री पठाउने घोषणा गरेका छन्।

टर्कीले ६७ जना विशेषज्ञ उद्धारकर्मी, चिकित्सक र सहायता कार्यकर्ताको टोली इस्तानबुलबाट भेनेजुएला पठाएको छ।

इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (IFRC) ले तत्काल उद्धार र पुनरुत्थान कार्यका लागि २५ लाख डलरको आकस्मिक कोष जारी गरेको छ।

गत बुधबार भेनेजुएलाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर एकापसमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको थियो, जसलाई भेनेजुएलाको इतिहासमा एक शताब्दी यताकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ।

असार १३, २०८३ शनिबार ११:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।