नेपाली गीतमा एआईको अवैध धन्दा : नारायण गोपालदेखि तुलसी पराजुलीसम्मको स्वर एआईको फन्दामा

नेपाली गीतमा एआईको अवैध धन्दा : नारायण गोपालदेखि तुलसी पराजुलीसम्मको स्वर एआईको फन्दामा

काठमाडौं : रैथाने लोकभाकाका स्रष्टा तुलसी पराजुलीको ‘खोटाङ जिल्ला दिक्तेल बजार’देखि ‘आकाशैको कालो बादल’लगायत गीत अहिले टिकटकमा भाइरल छ।

यी गीतका सक्कली सर्जक उनी नै हुन्। तर अहिले सञ्जालमा चलिरहेको गीतमा उनको स्वर छैन। कसैले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट विदेशी गायकको स्वर क्लोन गरेर उनको गीत बनाइदिएका छन्। नयाँ भर्सनको गीत सुनेर टिकटक बनाउनेहरूको ओइरो नै लागेको छ सञ्जालमा।

‘लमजुङे डाँडैमा हावा सरर’को सक्कली गायक खोज्ने हो भने मुस्किलै पर्छ। युट्युबमा बल्ल बल्ल एक वर्षअघि जिविहाङ राई र बबिता राईले यो गीत गाएको भिडियो भेटिन्छ। टिकटकतिर खोज्ने हो भने एआइको सहयोगमा अर्कैको आवाज क्लोन गरिएको क्लिपहरू टन्नै भेटिन्छन्।

गायक रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको ‘फूल टिप्ने मन भए’ पनि अहिले टिकटकमा व्यापक चलेको छ। तर उनीहरूको स्वरमा हैन। राजकुमार बगरको शब्द रचनाको यो गीतमा पनि एआइको प्रयोग गरेर अर्कैको स्वरमा बनाइएको छ।

एआईबाट बनाइएको यस्ता गीतहरू टिकटक र युट्युबमा करोडौँ भ्युजका साथ भाइरल भइरहेका छन्। तर त्यसमा सक्कली स्रष्टा भने गायब छन्। स्रष्टाको वर्षौँको साधनालाई मेसिनले चोरेर अर्कैले कमाउने धन्दा बनाइरहेका छन्।

पूर्वीय लोकभाकाका स्थापित गायक तथा स्रष्टा तुलसी पराजुलीको कालजयी गीतहरू ‘खोटाङ जिल्ला दिक्तेल बजार’ र ‘आकाशैको कालो बादल’ लाई एआईमार्फत कपी गरेर अनधिकृत रूपमा युट्युबमा अपलोड गरिएपछि उनी अब कानुनी उपचारको खोजीमा लागेका छन्।

उनी अहिले अमेरिकामा छन्। आफ्नो आवाज र सिर्जना अनुमतिबिना अर्कैले प्रयोग गरेको देखेर उनी आक्रोशित छन्।

"पछिल्लो समय नेपाली सङ्गीतमा एआईको व्यापक दुरुपयोग गरी स्रष्टाको सिर्जनालाई तहसनहस पार्ने काम भइरहेको छ," पराजुलीले आक्रोश पोखे, "यो पूर्ण रूपमा सिर्जनाको चोरी हो। यी सामग्रीहरू तुरुन्त नहटाइए प्रयोगकर्ताको पहिचान गरी कानुनी उपचारको बाटोमा जान बाध्य हुनेछु।"

पुराना मात्र हैनन् अहिले नयाँ गायकहरू पनि यसको मारमा परेका छन्। त्यसको प्रभाव स्टुडियोहरूमा पनि पर्न थालेको छ। गायक प्रताप दास एआईका कारण बजार सुकेको बताउँछन्। 

"एआईले गीत नै रेडी बनाएर दिन्छ," दासले एक अन्तर्वार्तामा भनेका छन्, "मैले हेर्दाहेर्दै कति वटा रेकर्डिङ स्टुडियोहरू बन्द भइसके। ६ महिना अघिसम्म फोन उठाउन फुर्सद नहुने म आफैँ अहिले फुर्सदिलो बनेको छु।"

सङ्गीतकार दीपक शर्माको अनुभव पनि उस्तै निराशाजनक छ। उकेरासँगको कुराकानीमा उनले एआईको प्रभाव सुरु हुनुअघि र पछिको तुलना गर्दा गीत रेकर्डिङमा ५० प्रतिशत भन्दा बढीको गिरावट आइसकेको बताए।

“मलाई मात्र होइन, मसँग जोडिएका गायक, संगीतकार, एरेन्जर र स्टुडियो सबैको रोजगारी खोसेको छ। डिजिटल अल्गोरिदमले ओरिजिनल गीतभन्दा एआई निर्मित सामग्रीलाई बढी 'पुस' गर्दा मौलिक स्रष्टा को हुन् भन्ने नै इतिहास मेटिने खतरा छ" उनले भने।

कसरी बदलिन्छ सक्कली स्वर?

यसका लागि सबैभन्दा धेरै प्रयोग हुने विधि भनेको एआई भोइस क्लोनिङ नै हो। यसमा कुनै पनि गायकको पुराना गीतहरूबाट उनको स्वरको नमुना एआई सफ्टवेयरलाई राखिन्छ। एआईले त्यो स्वरको टोन, पिच, र शैली सिकेर नयाँ गीत बनाइदिन्छ। 

अर्को हो एआई भोइस चेन्ज। एउटाको स्वरमा रहेको गीतलाई अर्काको स्वरमा बदल्ने यस्तो कामलाई प्राविधिक रूपमा भोइस कन्भर्सन भनिन्छ। सङ्गीत उद्योगमा यसलाई एआई कभर पनि भनिन्छ। यहाँ ट्र्याक र शब्द एउटै रहन्छ तर गाउने गायकको स्वर एआईमार्फत 'डिपफेक' गरेर परिवर्तन गरिन्छ। अहिले सबैभन्दा धेरै चलेको यही हो।

प्रविधिलाई सहयोगी बनाउँदै शान्तीश्री र अर्जुन

उता बजार सङ्कुचित भइरहँदा केही कलाकारले भने एआईलाई चुनौती भन्दा पनि सहयोगी टुलका रूपमा प्रयोग पनि गर्न थालेका छन्।

चर्चित गायिका शान्तीश्री परियारलाई एआईले झन् व्यस्त बनाएको छ। उनले दैनिक तीनदेखि चारवटासम्म गीत रेकर्ड गरिरहेकी छन्।

"मलाई त एआई प्रविधिले झन् जोसिलो र व्यस्त बनाइदिएको छ," परियारले भनिन्, "नयाँ पुस्ताका भाइबहिनीहरूले एआईको सहयोगबाट ट्र्याक र कम्पोजिसनहरू तयार पारेर मलाई गाउन बोलाउनुहुन्छ। सही तरिकाले प्रयोग गर्न जान्ने हो भने यो फलदायी नै छ।"

सङ्गीतकार अर्जुन पोखरेल पनि एआईले सृजनशील मान्छेलाई विस्थापित गर्न नसक्ने दाबी गर्छन्। आफ्नो कम्पोजिसन कस्तो भयो वा ट्र्याक कस्तो बन्न सक्छ भनेर एआईबाट विकल्प लिन सकिने उनले बताए।

यता अर्का व्यस्त संगीतकार अर्जुन पोखरेल एआईले आफूलाई खासै फरक नपारेको बताउँछन्। उनी क्रियसन गर्ने मान्छेलाई एआई प्रविधिले असर नगरेको र एआईले क्रियसनकर्तालाई बरु चुनौती थपिएको बताउँछन्। 

उनी भन्छन्,‘केही गीतबाहेक एआईले जेनेरेट गरेका गीतहरू खासै चलेको जस्तो लाग्दैन। त्यो हिसाबले सोच्ने हो भने एआईले त्यति धेरै असर गरेको छैन।’

उनले केही गीतका सिर्जनाहरू कुन शैलीबाट दर्शकलाई मन पर्ने बनाउन सकिन्छ भन्ने हिसाबले एआईलाई प्रयोग गर्न सकिने बताए।

धेरै स्रष्टाहरूले पुराना गीतहरूलाई फरक ढंगले,त्यसको ट्र्याक र एरेन्जमेन्ट फरक बनाएर रमाइलो लिइरहेको भन्दै केही वर्षपछि श्रोताको मन ओर्जिनलतर्फ फर्कने दाबी गरे।

“तर यसैमा भर पर्नु हुँदैन," पोखरेल भन्छन्, "अन्ततः श्रोताहरू पुनः ओरिजिनल सङ्गीतको भाव र मौलिकतामै फर्कनेछन्।"

वरिष्ठ सङ्गीतकार राजु सिंह अहिले स्रष्टाहरूलाई एआइले मारमा पारेको बताउँछन्। तर एआईका गीतहरू एकैनासका हुने र मानवीय संवेदना नहुने भएकाले यो केसी समयमै असफल भएर श्रोताहरू मौलिक स्वरमै फर्कने तर्क गर्छन्।

विश्वले एआईलाई  कस्दै, नेपालमा सुरसार छैन

नेपालमा एआई र कपिराइट (प्रतिलिपि अधिकार) सम्बन्धी कानुन अझै अस्पष्ट र फितलो छ। तर, अन्तर्राष्ट्रिय सङ्गीत उद्योगले एआईको यो अतिक्रमण विरुद्ध कडा कानुनी पर्खाल बनाउन थालिसकेका छन्।

अमेरिकामा कलाकारहरूको अनुमतिबिना उनीहरूको आवाज र रूप  एआईमार्फत कपी गर्न नपाइने गरी कडा कानुन प्रस्ताव गरिएको छ। यसले तुलसी पराजुली वा नारायण गोपालको सन्ततिको अनुमतिबिना एआई भर्सन बनाउनेलाई जेल सजाय र ठुलो जरिवाना गराउँछ।

विश्वको सबैभन्दा ठुलो म्युजिक कम्पनी यूएमजीले स्पोटिफाइ र एप्पल म्युजिक जस्ता स्ट्रिमिङ प्लेटफर्मबाट एआई जेनेरेटेड गीतहरू हटाउन लगाएर कपिराइट संरक्षणको नजिर स्थापित गरिसकेको छ।

युरोपमा लागू भएको नयाँ नियम अनुसार कुनै पनि एआई कम्पनीले गीत वा सङ्गीत ट्रेनिङ गराउँदा कुन-कुन ओरिजिनल गीत प्रयोग गरेको हो त्यसको पारदर्शी विवरण दिनुपर्छ र स्रष्टालाई रोयल्टी तिर्नुपर्छ।

यता नेपालमा भने अहिलेसम्म यस्तो कुनै बलियो सुरसार देखिन्न। तर नेपाली सङ्गीत बजारलाई एआईको अवैध लुटबाट जोगाउन अब टुल मात्र नभई कपिराइट स्ट्राइकको बलियो नीति आवश्यक रहेको सङ्गीतकर्मीहरूको निष्कर्ष छ।

सङ्गीतकार अर्जुन पोखरेल पुरानो मौलिक गीत एआईमार्फत दुरुपयोग गरेर पैसा कमाइरहेकाहरूमाथि हकदार वा सम्बन्धित कम्पनीले डिजिटल प्लेटफर्महरूमा तुरुन्तै कपिराइट क्लेम गर्न सुझाव दिन्छन्।

कानुनी रूपमा आफ्ना च्यानल र कन्टेन्ट रजिस्टर गरेपछि कसैले पनि सिर्जना चोर्न नपाउने भन्दै यसमा डिजिटल साक्षरता र कपिराइट कानुनको कार्यान्वयन महत्वपूर्ण पक्ष रहेको बताउँछन्।

असार १२, २०८३ शुक्रबार १७:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।