‘कर्मा’पछि फिल्म ‘बा : एक योद्धा’मा देखिने भए अनिल

‘कर्मा’पछि फिल्म ‘बा : एक योद्धा’मा देखिने भए अनिल

काठमाडौं : आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी मुख्य भूमिकामा देखिने भएका छन्। निर्माण पक्षले कलाकारहरू सार्वजनिक गर्ने क्रममा बुढाथोकी फिल्मको प्रमुख पात्रमध्ये एक रहेको जानकारी दिएको हो।

अभिनेता बुढाथोकीले यसअघि फिल्म ‘कर्मा’मार्फत अभिनय यात्रा सुरु गरेका थिए। विपीन कार्कीको मुख्य भूमिका रहेको उक्त फिल्ममा उनी दोस्रो मुख्य भूमिकामा देखिएका थिए। ‘बा : एक योद्धा’ उनको दोस्रो फिल्म हो।

बुढाथोकी भन्छन्, “पहिलो सिनेमाबाट प्राप्त प्रतिक्रियाले उत्साहित छु, यसमा अघिल्ला कमजोरीहरू सुधारेर थप सशक्त अभिनय गर्ने प्रयास गरेको छु।”

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि एउटा पिताले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीलाई मुख्य कथावस्तु बनाएको छ। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा यो फिल्म प्रदर्शन हुन लागेको हो।

संगीत क्षेत्रमा स्थापित व्यक्तित्व हरि लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा र पटकथा समेत लम्साल आफैँले लेखेका हुन्। फिल्ममा अनिलका साथै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको पनि मुख्य भूमिका रहनेछ।

वसन्त लम्सालले निर्माण गरेको यस फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन्। फिल्मको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

असार ११, २०८३ बिहीबार २२:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।