कफीको वैज्ञानिक छल : इनर्जी दिन्छ कि दिमागलाई ढाँट्छ ?
बिहान ओछ्यानबाट उठ्न गाह्रो हुँदा होस् वा दिउँसो कार्यालयको कुर्सीमा बसिरहँदा अल्छी लागेर हाइ आइराख्दा होस् हाम्रो उद्धारकर्ता बन्न सक्छ एक कप कडा कफी। कफीको पहिलो चुस्कीले नै शरीरमा एउटा नयाँ ऊर्जा सञ्चार गराएको महसुस हुन सक्छ अनि अल्छी कता भाग्छ कता!
तर के कफीले वास्तवमै शरीरलाई नयाँ इनर्जी दिन्छ त? विज्ञान भन्छ- दिँदैन, कफीले त केवल हाम्रो दिमागलाई झुक्क्याउँछ र एउटा मिठो छल गर्छ।
दिमागभित्रको त्यो 'अल्छी' रसायन
हामीले काम गर्दै जाँदा वा जागेर बस्दा हाम्रो दिमागमा 'एडिनोसिन' नामको रसायन बिस्तारै जम्मा हुन थाल्छ। यो रसायन जति धेरै जम्मा हुन्छ यसले दिमागका रिसेप्टरहरूमा बसेर त्यति नै धेरै अब तिमी थाक्यौ, तिम्रो शरीरलाई आराम चाहिन्छ भन्ने संकेत पठाउँछ। परिणामस्वरूप हामीलाई हाई-हाई आउँछ र अल्छी लाग्छ।
ठिक यही बेला जब हामी कफी पिउँछौँ, त्यसमा भएको क्याफिन रगतको माध्यमबाट हाम्रो दिमागमा पुग्छ। क्याफिनको आणविक संरचना दुरुस्तै एडिनोसिनसँग मिल्दोजुल्दो हुन्छ।
बाठो क्याफिनले दिमागमा पुग्ने बित्तिकै एडिनोसिन बस्ने ठाउँ कब्जा गरिदिन्छ। एडिनोसिनले दिमागलाई थाकियो भन्नै पाउँदैन, किनभने उसको ठाउँ त क्याफिनले छेकिसकेको हुन्छ। दिमाग झुक्किन्छ र सोच्छ ‘ओहो, शरीर त अझै फ्रेस नै रहेछ!’
तर कफीले शरीरमा कुनै नयाँ इनर्जी थप्ने होइन। यसले त केवल दिमागलाई थाकेको महसुस गर्न नदिन पर्दा' लगाइदिने काम मात्र गर्छ।
ह्याप्पी हर्मोनको बुस्टर
दिमागलाई झुक्क्याउने मात्र होइन, क्याफिनले शरीरमा डोपामिन र एड्रिनालिन जस्ता हर्मोनहरूको स्तर पनि बढाइदिन्छ। एड्रिनालिनले मुटुको धड्कन र रक्तसञ्चारलाई थोरै तीव्र बनाउँछ, जसले गर्दा हाम्रो ध्यान केन्द्रित हुन्छ र हामी सचेत मोडमा आउँछौँ।
विज्ञानको भाषामा कफी पिउनु भनेको शरीरलाई चाहिने ऊर्जा ऋण लिए समान हो। क्याफिनले एडिनोसिनलाई केही घण्टाका लागि रोक्न त सक्छ, तर त्यसलाई नष्ट गर्न सक्दैन। पृष्ठभूमिमा एडिनोसिन झन् झन् धेरै जम्मा भइरहेको हुन्छ।
जब ४–५ घण्टापछि क्याफिनको असर कम हुन थाल्छ, तब जम्मा भएका ती सबै एडिनोसिन एकैचोटि दिमागमा ओइरिन्छन्। यसलाई विज्ञानमा क्याफिन क्र्यास भनिन्छ। कफीको असर सकिएपछि अचानक पहिलेभन्दा झन् बढी थकाइ र अल्छी लाग्न थाल्छ।
त्यसैले, अल्छी भगाउन कफी उत्तम हतियार त हो, तर यो स्थायी समाधान भने होइन। कफीले दिमागलाई ढाँटेर केही घण्टा काम चलाउन त सकिन्छ, तर शरीरको वास्तविक थकान मेटाउन अन्ततः गुणस्तरीय निद्रा र आराम नै चाहिन्छ।
असार ११, २०८३ बिहीबार २०:३३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।