मेडिकल काउन्सिल र अनुसन्धान परिषद्सहित स्वास्थ्यका चार निकायमा नयाँ नेतृत्व, मन्त्रीले गराइन् शपथ
काठमाडौं : सरकारले स्वास्थ्य क्षेत्रका चार प्रमुख नियामक तथा अनुसन्धान निकायहरूमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी), नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी), नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) र आयुर्वेद चिकित्सा परिषद्मा नयाँ नेतृत्व चयन गरिएको हो।
नवनियुक्त चारै जना पदाधिकारीहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि (पीएचडी) गरेका छन्।
उनी यसअघि सन् २०१४-२०१६ मा काउन्सिलको पदेन सदस्य र सन् २०१९-२०२३ सम्म मनोनीत सदस्यका रूपमा कार्यरत रहेका थिए। उनीसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक क्षेत्रमा लामो अनुभव छ।
यस्तै, स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। युक्रेनबाट एमबीबीएस र न्याम्सबाट अर्थोपेडिक्स तथा ट्रमामा एमएस गर्नुभएका डा. जोशीले भारतको अपोलो अस्पतालबाट फेलोसिपसमेत गरेका छन्।
यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका निर्देशक र सेती प्रादेशिक अस्पतालमा वरिष्ठ सर्जनका रूपमा काम गरिसकेका डा. जोशी यसअघि पनि एनएचआरसीको सदस्य सचिव थिए।
त्यसैगरी, स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत थिए। उनले भारतको राजीव गान्धी विश्वविद्यालयबाट स्नातक र राजस्थानको निम्स विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।
यसका अलावा, आयुर्वेद चिकित्सा परिषद्को रजिष्ट्रार पदमा डा. हरि शरण अर्याल नियुक्त भए। त्रिभुवन विश्वविद्यालयबाट बीएएमएस र कायचिकित्सामा एमडी गरेका डा. अर्याल हाल नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टर छन्।
उनी नरदेवीस्थित आयुर्वेद अस्पतालका पूर्व कन्सल्टेन्ट तथा सिंहदरबार वैद्यखाना विकास समितिका पूर्व कार्यकारी सदस्यसमेत हुन्।
भदौ ५, २०८३ शुक्रबार १३:५४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।