भारतको अरुणाचल प्रदेशमा आकस्मिक बाढी : ६ जिल्ला प्रभावित, १ जनाको मृत्यु र ४ जना बेपत्ता

भारतको अरुणाचल प्रदेशमा आकस्मिक बाढी : ६ जिल्ला प्रभावित, १ जनाको मृत्यु र ४ जना बेपत्ता

एजेन्सी : भारतको अरुणाचल प्रदेशमा भीषण वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

भारतीय सञ्चारमाध्यमले अधिकारीलाई उद्धृत गर्दै जुन २३ र २४ को रातमा भएको मुसलधारे वर्षाका कारण राज्यका ६ वटा जिल्लाहरू—केयी पन्योर, कामले, क्रा दादी, कुरुङ कुमे, लोअर सुबानसिरी र अपर सुबानसिरीको यातायात र सञ्चार सम्पर्क विच्छेद भएको उल्लेख गरेका छन्। 

बाढीले केयी पन्योर जिल्लाको याजाली क्षेत्रमा रहेको सार्वजनिक क्षेत्रको जलविद्युत आयोजना (एनईईपीसीओ) वरपरका क्षेत्रमा सबैभन्दा बढी असर पुर्याएको छ, जहाँ करिब ५० वटा घरहरू क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी उपरीक्षक अंगद मेहताका अनुसार बाढीमा परेर ज्यान गुमाउनेमा (एनईईपीसीओ) को विवेकानन्द केन्द्रीय विद्यालयकी ३५ वर्षीया शिक्षिका निर्मला गुप्ता रहेकी छन्। उनको शव लामो खोजीपछि फेला पारिएको थियो। 

१३ वर्षीय बालकसहित बेपत्ता भएका अन्य चार जनाको खोजीका लागि राष्ट्रिय र राज्य विपद् व्यवस्थापन बल, प्रहरी तथा स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको छ। क्षतिको आँकलन र जीवितहरूको खोजीका लागि भारतीय वायुसेनाले हवाई निरीक्षण समेत गरेको छ।

बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

मुख्यमन्त्री पेमा खाण्डुले घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका २८ वटै जिल्लाका अधिकारीहरूलाई मनसुनजन्य विपद्का लागि उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्।

आसाममा 'हाई अलर्ट'

अरुणाचल प्रदेशको माथिल्लो क्षेत्रमा भएको अत्यधिक वर्षा र नदीहरूको बहाव बढेपछि तल्लो तटीय राज्य आसाममा पनि खतरा बढेको छ। आसाम सरकारले ब्रह्मपुत्र र त्यसका सहायक नदीहरूमा जलस्तर बढ्न सक्ने भन्दै धेमाजी, लखिमपुर, बिश्वनाथ र सोनितपुर लगायतका जिल्लाहरूमा 'हाई अलर्ट' जारी गरेको छ।

आसामका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले नागरिकहरूलाई बाढी प्रभावित क्षेत्रमा नजान र नदीहरूमा साना डुङ्गाबाट यात्रा नगर्न आग्रह गरेका छन्।

असार ११, २०८३ बिहीबार १५:०२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।