अवैध नगद र सुनचाँदीसहित ज्याठाबाट भारतीय नागरिक पक्राउ

अवैध नगद र सुनचाँदीसहित ज्याठाबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौं महानगरपालिका-२५ ठहिटी बस्ने ३३ वर्षीय अमित इरगोन्डा घाली रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘काठमाडौंको ज्याठा ठहिटी एरियामा केही व्यक्तिले अवैध विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन, चाँदी ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले उनलाई पक्राउ गरेको हो।’

उनको साथबाट नेपाली रु सात लाख ३० हजार, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहँेलो धातुका विभिन्न टुक्रा १७ थान, (तौल ७५ ग्राम) तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए।

असार ११, २०८३ बिहीबार ११:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।