सदस्यता अद्यावधिको नाममा सभापति गगनले पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता भूपेन्द्रको दाबी

सदस्यता अद्यावधिको नाममा सभापति गगनले पार्टी कब्जा गर्न खोजेको कांग्रेस नेता भूपेन्द्रको दाबी

काठमाडौं : कांग्रेस नेता भूपेन्द्र जङ्ग शाहीले अद्यावधिको नाममा पार्टीको १५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेकाहरूले महाधिवेशनमा भाग लिन नपाउने भन्दै पार्टी कब्जाको प्रयास गरेको आरोप लगाएका छन्।

थापाले झापामा सदस्यता अद्यावधिक नगरेकाहरूको नाम वडा अधिवेशनका क्रममा नआउने र  सिस्टमले नचिन्ने भन्दै अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औ महाधिवेशनमा भाग लिन नपाउने बताएका थिए।

यो निर्णयले कांग्रेसमा योगदान गरेका, लामो समय आफ्नो ऊर्जा र जीवन समर्पण गरेका, रगत र पसिना बगाएका तमाम पार्टीका नेता कार्यकर्ताहरूको सदस्यता खारेज गर्नु लोकतान्त्रिक पार्टीमा फरक विचारलाई निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको शाहीले बताए।

“अहिले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरूलाई स्तब्ध र दुखित तुल्याएको’ उनले बताए।

“पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास बन्ने होइन। आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न  र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो” उनले भने।

असार १०, २०८३ बुधबार १४:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।