विवाहको एक महिनाअघि प्रेमीसँग मिलेर हुनेवाला श्रीमानको हत्या

विवाहको एक महिनाअघि प्रेमीसँग मिलेर हुनेवाला श्रीमानको हत्या

एजेन्सी : भारतको महाराष्ट्रस्थित पुणेमा एक युवतीले आफ्ना प्रेमीसँग मिलेर टीकाटालो भइसकेको हुनेवाला श्रीमानको बीभत्स हत्या गरेकी छन्।

पुणे पुलिसका अनुसार ती युवतीले प्रेमीको सहयोगमा हुनेवाला श्रीमानलाई ऐतिहासिक लोहगढ किल्लाको भिरबाट धकेलेर हत्या गरेकी हुन् र पछि यसलाई भवितव्य दुर्घटनाको रूप दिने प्रयास गरेकी थिइन्।

प्रहरीले हत्या अभियोगमा २६ वर्षीय मृतक केतन अग्रवालकी हुनेवाली श्रीमती सिया गोयल र उनका प्रेमी चेतन चौधरीलाई पक्राउ गरेको छ।

बिहे रोक्न हत्याको भयानक योजना
मृतक केतन र सियाको टीकाटालो गत फेब्रुअरीमा भएको थियो र आउँदो एक-दुई महिनाभित्रै विवाह गर्ने तयारी थियो। तर, सियाको विवाह हुनुअघि नै चेतन चौधरी नामका युवकसँग प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सिया केतनसँग विवाह गर्न राजी नभए पनि परिवारको दबाबका कारण नाइँ भन्न सकेकी थिइनन्। अन्ततः विवाहबाट बच्न र केतनलाई बाटोबाट हटाउन सिया र चेतनले उनको हत्या गर्ने योजना बुने।

योजना अनुसार, गत जुन १८ मा सियाले घुम्ने बहानामा केतनलाई लोहगढ किल्लामा लगिन्। केही समयपछि चेतन पनि त्यहाँ आइपुगे। मौका छोपेर चेतनले केतनलाई किल्लाको पश्चिमतर्फको गहिरो खोँचमा धकेलिदिए।

केतन भिरबाट खसेपछि सियाले ‘घुम्ने क्रममा खुट्टा चिप्लेर मंगेतर खोंचमा खसेको’ भन्दै चिच्याएर नाटक गरेकी थिइन् र सुरक्षाकर्मीलाई गुहारेकी थिइन्।

प्रहरी अनुसन्धान र प्राविधिक प्रमाण
सुरुमा प्रहरीले यसलाई दुर्घटना मानेर अनुसन्धान सुरू गरेको थियो। तर, केतनका आफन्तहरूले विगत केही दिनदेखि दुईबीच विवाद भइरहेको बताएपछि प्रहरीलाई शंका लाग्यो।

पुणे ग्रामीणका प्रहरी उपरीक्षक (एसपी) सन्दीप गिलका अनुसार प्राविधिक अनुसन्धान (मोबाइल लोकेसन र कल डिटेल) बाट घटनाको दिन चेतन चौधरी पनि लोहगढ किल्लामै उपस्थित रहेको प्रमाण फेला पर्यो।

त्यसपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले आफ्नो अपराध स्वीकार गरेका छन्। अदालतले दुवैलाई सात दिनको प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यद्यपि, आरोपित चेतनका वकिल राम शहानेले प्रहरीसँग चेतन घटनास्थलमा रहेको कुनै ठोस प्रमाण नभएको र केवल साथी भएकै आधारमा उनलाई फसाइएको दाबी मिडियासँग गरेका छन्।

मृतक केतनका बुबा विशाल अग्रवालले सियाको क्रूर सोचको आलोचना गर्दै भने, ‘यदि बिहे गर्न मन थिएन भने पहिले नै अस्वीकार गर्नुपर्ने थियो, हामी विवाह रद्द गरिदिन्थ्यौँ। कसैको २६ वर्षको छोरालाई मार्ने यस्तो क्रूर सोच कहाँबाट आउँछ?’

उनले यसअघि पनि चार जना मिलेर बाली टापु घुम्न जाने योजना बनाएको तर विमानस्थलमा केतनको मात्रै पासपोर्ट रहस्यमय रूपमा हराएकाले उनी जान नपाएको शंकास्पद घटना स्मरण गरे।

केतनकी आमा पाखी अग्रवालले आफूले बुहारी मानिसकेकी केटीले यति ठुलो धोका दिएको भन्दै आरोपीहरूलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरेकी छन्।

असार १०, २०८३ बुधबार १४:०७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।