स्थानीय तह निर्वाचनको पूर्वतयारी तीव्र, तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

स्थानीय तह निर्वाचनको पूर्वतयारी तीव्र, तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौं : आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो पूर्वतयारी तीव्र पारेको छ। 

यसै क्रममा गत प्रतिनिधिसभा निर्वाचनपछि आयोगले पछिल्लो तीन महिनाको अवधिमा मात्रै देशभर १ लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। 

उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम  थिए।

आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको उनले बताए।

स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार ४ गतेको राष्ट्रियसभाको राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो। 

निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा, समयमा आवश्यक बजेट उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पद पूर्ति , मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति, आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए।

असार १०, २०८३ बुधबार १३:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।