दोलखामा नौ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला

दोलखामा नौ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका-२ बारेपाबाट विगत नौ दिनदेखि बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

गत जेठ ३१ गतेदेखि हराएकी १२ वर्षीया मौसम थामी मंगलबार दिउँसो बिगु गाउँपालिका-४ स्थित सिंगटी खोलाको किनारमा मृत भेटिएकी हुन्।

प्रहरीका अनुसार कालिञ्चोक गाउँपालिका-२ बस्ने राम बहादुर थामीकी छोरी मौसम जेठ ३१ गते बिहान ११ बजे आफ्नै घरबाट हराएकी थिइन्।

मानसिक स्वास्थ्यमा समस्या रहेकी मौसम हराएपछि परिवारले असार १ गते इलाका प्रहरी कार्यालय सिंगटीमा खोजतलासका लागि हुलियासहित निवेदन दिएका थिए।

खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो साढे १ बजे बालिकाको आफ्नै घरभन्दा करिब ४ किलोमिटर टाढा बिगु गाउँपालिका-४ सल्लेरी झोरुङस्थित सिंगटी खोला किनारमा शव फेला परेको थियो।

आफन्तहरूले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी सहायक निरीक्षक शिवहरि अधिकारी र प्रहरी निरीक्षक विष्णुहरि फूँयालको नेतृत्वमा छुट्टाछुट्टै टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

घटनास्थलको प्रारम्भिक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शवलाई पोस्टमार्टमका लागि बुधबार साँझ चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

असार १०, २०८३ बुधबार ०९:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।