घोषणामै ब्लकबस्टर ट्याग भिराएको प्रियंकाको मास्टर्नी भदौ १२ मै चल्ला कि सर्ला ?
काठमाडौं : पछिल्ला केही फिल्मले बक्स अफिसमा अपेक्षित सफलता पाउन नसकेको बेलामा अभिनेत्री प्रियंका कार्कीको लागि भदौ १२ गतेदेखिको समय चुनौतीपूर्ण छ।
किनभने सुरुवाती चरणमै ‘ब्लकबस्टर’ घोषणा गरिएको प्रियंकाको नयाँ फिल्म ‘मास्टर्नी’ भदौ १२ गतेबाट प्रदर्शनमा आउँदै छ। निर्माण पक्षले ‘ब्लकबस्टर’ भनेर प्रचार थालेको मास्टर्नीले घरेलु र विदेशी फिल्मको चापका बीच प्रदर्शन हुँदा व्यावसायिकरुपमा कस्तो नतिजा ल्याउला भनी यतिबेला चर्चा र चासोको विषय पनि बनेको छ।
अभिनेत्री कार्कीका पछिल्लो समय प्रदर्शनमा आएका ‘रावायण’, ‘मम्मी’ र ‘हेलो काशीराम’ जस्ता फिल्म व्यावसायिक रूपमा अपेक्षित सफलता प्राप्त गर्न सकेनन्। वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ले निर्मातालाई केही राहत दिलाए पनि उक्त फिल्ममा प्रियंकाको भूमिकाले खासै चर्चा पाउन सकेन।
हाल उनी अभिनीत अर्को फिल्म ‘आई एम जितबहादुर’ प्रदर्शनको तयारीमा छ। सुभेन्दु घोषले निर्देशन गरेको यस फिल्ममा प्रियंकाको महत्त्वपूर्ण भूमिका रहे पनि प्रचारप्रसार र दर्शकको चासो भने तुलनात्मक रूपमा न्यून देखिन्छ। अनलाइन टिकटिङ प्लेटफर्महरूमा देखिएको टिकट बिक्रीको अवस्थाले फिल्मको व्यापारप्रति संशय उब्जाएको छ।
उनी अभिनीत फिल्मको यही पछिल्लो रेकर्डले प्रियंका आफैँले निर्माण गरेको फिल्म ‘मास्टर्नी’लाई लिएर सिने जगतमा अहिले विभिन्न अड्कलबाजी भइरहेका छन्। फिल्मको ‘फर्स्ट लुक’ सार्वजनिक गर्दा नै ‘वर्षकै ब्लकबस्टर’ भनी प्रचार गरिएको थियो। प्रदर्शन अगावै गरिएको यस्तो दाबीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
भदौ १२ गते ‘मास्टर्नी’का लागि सहज भने देखिँदैन। सोही मितिमा नेपाली फिल्महरू ‘बेहुली’, ‘पार्वती’ र ‘जदौ’ पनि प्रदर्शनको तयारीमा छन्। साथै, सोही समयमा कन्नड अभिनेता यश अभिनीत दक्षिण भारतीय फिल्म ‘टक्सिक’ पनि प्रदर्शनमा आउने चर्चा छ।
ठूला विदेशी फिल्मको प्रभाव र घरेलु फिल्महरूकै प्रतिस्पर्धाका बीच ‘मास्टर्नी’ले हलमा कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै प्रष्ट हुनेछ। यद्यपि घोषणाकै समयमा ‘ब्लकबस्टर’को ट्याग दिइएको फिल्मले आफ्नै दाबीलाई सुखद व्यावसायिक नतिजामा बदल्न सक्छ वा सक्दैन भन्ने चासोको विषय बनेको छ।
असार ९, २०८३ मंगलबार १९:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।