मिलन चाम्सले बनाउने भए मदनकृष्णको बायोपिक; महेश र केकी मुख्य भूमिकामा

मिलन चाम्सले बनाउने भए मदनकृष्णको बायोपिक; महेश र केकी मुख्य भूमिकामा

काठमाडौं : हास्यकलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्म (मदनकृष्ण) निर्माण हुने भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर निर्देशक मिलन चाम्सले मदनकृष्णको बायोपिक निर्माण गर्ने घोषणा गरे।

मदनकृष्णको नाममा बायोपिकको मुख्य भूमिकामा महेश त्रिपाठीले रहने छन् भने उनकी श्रीमतीको भूमिकामा केकी अधिकारी देखिनेछन्। फिल्म निर्माण घोषणाका लागि आयोजित कार्यक्रममा केही रोचक दृश्यहरू देखिए।

बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश निर्वाह गर्ने घोषणा हुँदा हलमा ताली बज्यो भने पत्नीको भूमिकामा अभिनेत्री केकी अधिकारी रहने जानकारी दिइँदा हलमा हाँसो उठ्यो।

पर्दामा केकीलाई आमाको भूमिकामा पाउने विषयलाई लिएर यमन श्रेष्ठ र सासूको रूपमा पाउने विषयमा उनकी पत्नीले रमाइलो मानेका थिए। सो क्रममा केही समय कार्यक्रममा हाँसोको माहोल बनेको थियो।

उद्घोषक नरेश भट्टराईले 'केकीलाई कसरी सासू भन्ने?' भनेर ठट्टा गर्दा मदनकृष्णकी बुहारीले पनि मुस्कुराएको दृश्य रोचक देखिन्थ्यो। सासू गुमाएको लामो समयपछि फिल्मको पर्दामा सासूको पात्र देख्न पाउँदाको क्षण कस्तो होला भनेर उनमा उत्सुक जस्तो पनि देखियो। जेहोस् उनी र यमन दुवैले रमाइलो मानेको देखिन्थ्यो। 

यद्यपि वरिपरि हाँसोको माहोल भए पनि मदनकृष्ण श्रेष्ठ भने केही गम्भीर देखिएका थिए। आफ्नो बायोपिक निर्माण हुन लागेको घोषणा भइरहँदा उनी निकै भावुक मुद्रामा देखिन्थेँ।

मदनकृष्णको बायोविकमा मदनकृष्णका छोरा यमनका साथमा सहकर्मी हरिवंश आचार्य, राजाराम पौडेल, किरण केसीको पनि मुख्य भूमिका रहने छ। फिल्म आगामी भदौको दोस्रो हप्ताबाट फ्लोरमा जाने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको पटकथा तथा लेखन यम थापाले गर्दै छन्। उनको पछिल्लो फिल्म ‘लालीबजार’हो जुन प्रदर्शनरत छ।
 
भिन्टेज मोसन पिक्चर्सले निर्माण गर्न लागेको यस बायोपिक फिल्मलाई राजकुमार श्रेष्ठले लगानी गर्न लागेका हुन्। यसअघि निर्देशक चाम्सले दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’मा निर्माण गरेका थिए। जसको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालको अभिनय गरेकी थिइन्। 

उनको अभिनयले प्रशंसा पाएको थियो भने लगानी उठाउन सकेन। गत वर्ष गोल राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बो बायोपिक ‘अञ्जिला’निर्माण गरेका थिए। यस फिल्मले भने दश करोडभन्दा माथिको व्यापार गरेको थियो। अब मदनकृष्णको बायोपिक कस्तो बन्ला त ? अञ्जिलाजतिकै चर्चा र कमाई गर्छ कि, फिल्म ‘ब्लाइन्ड रक्स’ रिलिजपछि नै थाहा होला। 
 

असार ९, २०८३ मंगलबार १५:४५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।