कतारको ग्यास उद्योगमा ठुलो विस्फोट, १८ जना बेपत्ता, ५४ घाइते

कतारको ग्यास उद्योगमा ठुलो विस्फोट, १८ जना बेपत्ता, ५४ घाइते

एजेन्सी : कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा भएको शक्तिशाली विष्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना श्रमिकहरू बेपत्ता भएका छन्।

कतारको गृह मन्त्रालयका अनुसार रास लाफान औद्योगिक सहरमा रहेको बर्जान ग्यास उद्योगमा सोमबार प्राविधिक गडबडीका कारण विष्फोट भएको हो। विष्फोट लगतै उद्योगमा लागेको आगोलाई कतारइनर्जीको आपतकालीन उद्धार टोलीले नियन्त्रणमा लिएको थियो।

रास लाफान औद्योगिक क्षेत्रमा अवस्थित ग्यास सुविधामा युद्धका कारण रोकिएको उत्पादन पुनः सञ्चालन गर्ने काम भइरहेका बेला विस्फोट भएको हो। युद्धका क्रममा इरानको आक्रमणपछि प्रभावित बनेको उक्त क्षेत्रमा कामदारहरू मर्मत तथा पुनःसञ्चालनको काममा जुटिरहेका थिए ।

कतार इनर्जीका अनुसार बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटपछि आगलागी फैलिएको थियो। प्रारम्भिक विवरणमा केही व्यक्तिमात्र घाइते भएको जनाइएको भए पनि केही घण्टापछि कतारको गृह मन्त्रालयले घाइतेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पुष्टि गरेको छ। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन। यद्यपि, उक्त घटनाले कतारको ऊर्जा पूर्वाधारमा पुनः गम्भीर असर पारेको आशङ्का गरिएको छ।

मन्त्रालयले ग्यास प्रशोधन केन्द्रबाट कुनै पनि हानिकारक रसायन वा ग्यास चुहावट नभएको र यसबाट सर्वसाधारणको सुरक्षामा कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित रास लाफान औद्योगिक क्षेत्र विश्वकै सबैभन्दा ठूलो एलएनजी निर्यात केन्द्र हो, जसले विश्वभरको कुल आपूर्तिको झन्डै पाँचौ भाग (२० प्रतिशत) उत्पादन गर्दछ।

बार्जान ग्यास प्लान्टको दैनिक उत्पादन क्षमता करिब एक अर्ब ४० करोड मानक घनफिट बिक्रीयोग्य ग्यास रहेको थियो। उक्त ग्यास मुख्यतः घरेलु विद्युत् उत्पादन तथा अरब प्रायद्वीपका मरुभूमि क्षेत्रमा सञ्चालन हुने महत्त्वपूर्ण पानी प्रशोधन तथा डिसेलिनेसन केन्द्रहरू सञ्चालन गर्न प्रयोग हुँदै आएको छ।

इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कडा बनाएपछि कतारले केही समयअघि ग्यास उत्पादन र निर्यात गतिविधि रोकेको थियो। त्यसका कारण आफ्ना अन्तर्राष्ट्रिय ग्राहकसम्म ग्यास आपूर्ति गर्न कठिन भएपछि उत्पादन स्थगित गरिएको थियो। पछिल्लो समय युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अगाडि बढ्दै जाँदा इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण केही खुकुलो पारेपछि कतारले पुनः निर्यात सञ्चालन गर्ने तयारी थालेको थियो।

यसअघि मार्च महिनामा इरानले प्रहार गरेको एक क्षेप्यास्त्र रस लाफान क्षेत्रमा खसेर ठूलो आगलागी भएको थियो। अधिकारीहरूका अनुसार त्यस घटनाले व्यापक क्षति पुर्याएको थियो। त्यही आक्रमणपछि कतारले उक्त क्षेत्रमा उत्पादन गतिविधि रोक्न बाध्य भएको थियो।

हालको विस्फोटले कतारको ऊर्जा उत्पादन, निर्यात क्षमता र विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ। युद्धपछिको पुनःस्थापनाको प्रयास भइरहेका बेला भएको यो दुर्घटनाले क्षेत्रीय अस्थिरताको असर ऊर्जा पूर्वाधारमा अझै कायम रहेको सङ्केत गरेको छ।

असार ८, २०८३ सोमबार १२:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।