‘हिरो रिटर्न्स’पछि पुनः रेखा थापासँग अभिनेता श्रेष्ठको सहकार्य
काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते (तीजको अवसर) मा देशभर प्रदर्शन हुने भएको छ।
आठ वर्षपछि निर्देशनमा फर्किएकी थापाले पहिलो पटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर यस फिल्मको निर्देशन गरेकी हुन्।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता दिल श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ। फिल्ममा नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल लगायतका कलाकारहरूको पनि अभिनय छ।
सन् २०११ मा ‘पर्खी राख है’बाट डेब्यु गरेका अभिनेता दिल श्रेष्ठको यो तेस्रो फिल्म हो। यसअघि सन् २०१८ मा प्रदर्शन भएको ‘हिरो रिटर्न्स’मा पनि उनले रेखा थापासँगै काम गरेका थिए।
करिब ६ वर्षको अन्तरालपछि पर्दामा फर्किएका श्रेष्ठले अनुभवी कलाकारहरूसँगको सहकार्यले आफूलाई थप जिम्मेवार बनाएको र अघिल्ला कमजोरीहरूलाई सुधार्ने प्रयास गरेको बताएका छन्।
ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको फिल्म हाल पोष्ट प्रोडक्सनको चरणमा छ।
असार ७, २०८३ आइतबार १३:४८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।