डा. शिरिषको उपचार अनुभव : जेनजी आन्दोलनमा आधा दर्जन दाँत झारिएका ती प्रहरीको अनुहार सम्झँदा...

डा. शिरिषको उपचार अनुभव : जेनजी आन्दोलनमा आधा दर्जन दाँत झारिएका ती प्रहरीको अनुहार सम्झँदा...

काठमाडौं : डा. शिरिषचन्द्र रेग्मी कृत्रिम दन्तरोग (प्रस्थोडोन्टिस्ट) विशेषज्ञ चिकित्सक हुन्।

नेपाल प्रहरीमा जागिरे रहेका उनले कर्तव्य पालनाका क्रममा आन्दोलनको भीडमा परेर घाइते भएका धेरै प्रहरी तथा सर्वसाधारणको उपचार गरी नयाँ दाँत हालिदिएका छन्।

दाँतको समस्या लिएर अस्पताल पुग्ने बिरामीको औषधि उपचार गर्नुका साथै कृत्रिम दाँत बनाइदिनु उनको चिकित्सकीय दैनिकी हो।

उनै डा. शिरिषले आफ्नो चिकित्सकीय पेसाका सिलसिलामा देखेका, भोगेका र हृदय छोएका केही जीवन्त अनुभवहरू यहाँ साटेका छन्:

जेनजी आन्दोलनमा आधा दर्जन दाँत गुमाएका ती प्रहरी
डा. शिरिषले आफ्नो पेसागत जीवनमा धेरै व्यक्तिको दाँतको सफल उपचार गरेका छन्। दाँतको समस्या भएका कयौं व्यक्तिको चिकित्सकीय विधि अपनाई कृत्रिम दाँत हाल्नुका साथै दाँत भरिदिएका छन्।

तर, उपचार गरेका बिरामीमध्ये एक प्रहरीको कृत्रिम दाँत राखिदिएको घटना भने डा. शिरिषको स्मृतिमा अझै ताजा छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका त्रासदीपूर्ण घटना सम्झँदा अझै पनि उनको शरीरमा एक किसिमको कम्पन हुन्छ।

आन्दोलन साम्य भएको केही दिन भइसकेको थियो। डा. शिरिष नेपाल प्रहरी अस्पतालको ओपिडीमा बिरामीको परीक्षणमा व्यस्त थिए। प्रहरीको पोसाकमाथि सेतो एप्रोन लगाएका उनी दाँतको समस्या लिएर आएका बिरामीहरू जाँचिरहेका थिए। त्यस दिन अस्पतालमा बिरामीहरूको निकै चाप थियो।

त्यही भीडका बीच एक जना प्रहरी जवान ओपिडी कक्षमा प्रवेश गरे। जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर उनको अनुहारमा गम्भीर चोट पुगेको थियो र दाँतहरू पनि झरेका थिए।

डा. शिरिषले उनको परीक्षण गरे। आन्दोलनकारीको आक्रमणमा परेर ती जवानले आधा दर्जनभन्दा बढी दाँत गुमाएका थिए। चोटका कारण उनको अनुहारको अवस्था निकै दयनीय देखिन्थ्यो।

घाइते प्रहरीको चोटको प्रकृति हेरेर डा. शिरिषले उपचार प्रक्रिया अगाडि बढाए। एउटै सङ्गठनमा कार्यरत भएका कारण उपचारका क्रममा उनले थप व्यावसायिक जिम्मेवारी महसुस गरे।

विस्तृत क्लिनिकल परीक्षणपछि उनले ती प्रहरीको झरेका दाँतहरूको ठाउँमा कृत्रिम दाँत राखिदिने निर्णय गरे। आवश्यक चिकित्सकीय प्रक्रिया पूरा गरी डा. शिरिष र उनको टोलीले दाँत प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गर्यो।

दाँत प्रत्यारोपणपश्चात् ती प्रहरीले ऐनामा हेर्दा आफ्नो दाँत र अनुहार पहिलेकै स्थितिमा देख्दा उनमा खुसीको मुस्कान छायो। आफ्नो उपचारले बिरामीको मुहारमा छाएको मुस्कानले डा. शिरिषलाई पेसागत सन्तुष्टि प्रदान गर्यो। यद्यपि, आन्दोलनका ती हिंसात्मक घटनाहरूको स्मृति भने उनी सम्झन चाहँदैनन्।

उनी कामना गर्छन्, "देशमा यस्ता हिंस्रक आन्दोलनहरू कहिल्यै नहुन्।"  जेनजी आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाउनुपरेको थियो। आन्दोलनका क्रममा कयौं प्रहरीको अनुहारमा चोटपटक लाग्नुका साथै दाँत भाँचिएको अनुभव उनले सुनाए।

उनी भन्छन्, "जेनजी आन्दोलनमा मात्र होइन, अन्य विभिन्न आन्दोलनहरूका क्रममा पनि अनुहारमा चोट लागेका र दाँत भाँचिएका थुप्रै प्रहरीको मैले उपचार गरेको छु।"

कर्तव्य पालनाका क्रममा आन्दोलनमा परी दाँत भाँचिएका प्रहरीहरूको अवस्था देख्दा उपचारका क्रममा डा. शिरिषको मन खिन्न हुन्छ।

उनी भन्छन्, "कहिलेकाहीँ ती घाइते प्रहरीहरू आफ्ना साना छोराछोरी लिएर उपचारका लागि अस्पताल पुग्छन्। आफ्ना बुबाको अनुहारमा लागेको चोट देखेर डराएका उनीहरूका छोराछोरीको अनुहार देख्दा मन भारी हुन्छ।"

जब दाँत नभएकी आमै अस्पतालमा पैसा नभएर रोइन्
त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा बिरामीको उपचार गर्दाको एउटा घटना डा. शिरिष प्राय सम्झिरहन्छन्। करिब नौ वर्षअघिको कुरा हो, जतिबेला उनी त्यहाँ दन्त चिकित्सामा एमडीएस अध्ययनरत थिए।

करिब ६५ वर्षीया एक महिला दाँतको उपचारका लागि वीर अस्पताल आएकी थिइन्। अस्पताल पुगे पनि उपचार कसरी गर्ने जानकारी नहुँदा उनी अन्योलमा थिइन्।

उनी कक्षा ११ मा अध्ययनरत एक नातेदारको सहयोगमा दन्तरोग विभागको ओपिडीसम्म आइपुगेकी थिइन्। डा. शिरिषले उनको स्वास्थ्य परीक्षण गरी समस्याका बारेमा जानकारी लिए।

उनको अवस्था निकै कमजोर थियो; उनका केही दाँत झरेका र भाँचिएका थिए भने केहीमा कीरा लागेको थियो। दाँतको समस्याका कारण उनलाई खाना चपाउन कठिनाइ हुनुका साथै तीव्र दुखाइ पनि थियो।

न्यून पोषण र कठिन जीवनशैलीका कारण शारीरिक रूपमा दुब्लाएकी ती महिला ६५ वर्षको उमेरमा पनि वास्तविक उमेरभन्दा बढी वृद्धा देखिन्थिन्।

उनको खानपान सहज बनाउन कृत्रिम दाँत लगाउनुपर्ने आवश्यकता थियो। उक्त उपचारका लागि करिब ५ हजार रुपैयाँ लाग्ने भएता पनि उनीसँग ५ सय रुपैयाँ समेत थिएन। 

आर्थिक अभावका कारण उपचार नहुने चिन्तामा रहेकी उनी डा. शिरिषकै अगाडि रुन थालिन्। उनको यस्तो अवस्था देख्दा डा. शिरिष भावुक बने।

उनको आर्थिक अवस्था कमजोर भएको बुझेपछि डा. शिरिषले वरिष्ठ चिकित्सक, अस्पताल प्रशासन र सहकर्मीहरूसँग समन्वय गरे। उनले ती महिलाको निःशुल्क उपचार र कृत्रिम दाँतको व्यवस्था मिलाए। 

डा. शिरिष सम्मिलित चिकित्सक टोलीले करिब १० दिनको अवधिमा कृत्रिम दाँतको सेट तयार गरी जडान गरिदियो। उपचारपछि ऐनामा मिलेका आफ्ना दाँत देखेर उनी प्रसन्न भइन्। यसपटक उनका आँखाबाट खुसीका आँसु झरे।

आर्थिक अभावका कारण उपचार नहुने चिन्तामा रहेकी ती महिलाको सफल उपचारपछि उनमा देखिएको सन्तोषले डा. शिरिषलाई पनि आत्मसन्तुष्टि मिल्यो। निःशुल्क कृत्रिम दाँत लगाएपछि उनी आफ्नो गाउँ फर्किइन्।

डा. शिरिष भन्छन्, "आमैको त्यो निष्कपट मुस्कान सम्झँदा मलाई अझै पनि आत्मिक सन्तोष मिल्छ।" आफूले उपचार गरेका बिरामीहरू निको भएपछि खुसी हुँदै कहिलेकाहीँ घरबाट तरकारी, फलफूल जस्ता अर्गानिक कोसेली बोकेर आउने गरेको उनले सुनाए।

प्रहरी विद्यालयबाट उच्च अंकमा साथ एसएलसी
२०४६ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिका-७ मा जन्मिएका शिरिषचन्द्र रेग्मीले कक्षा ३ सम्म गाउको विद्यालयमा अध्ययन गरे। बुबा नेपाल प्रहरीमा जागिरे भएकाले उनी कक्षा ४ मा काभ्रेको साँगास्थित दीपेन्द्र प्रहरी आवासीय विद्यालयमा भर्ना भए।

प्रहरी विद्यालयमा भर्ना हुँदा पढाइमा केही कमजोर रहे पनि उनले क्रमशः आफ्नो शैक्षिक स्तरमा सुधार गरे। उनले २०६१ सालमा ८१ प्रतिशत अङ्कसहित सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। 

प्लस-टु मा पनि प्रथम श्रेणी हासिल गरेका उनी आफ्नो ब्याचको उत्कृष्ट विद्यार्थी रहे। प्लस-टु पछि डा. शिरिषले चिकित्साशास्त्रको अध्ययन सुरु गरे। 

उनी २०६४ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा बीडीएस (ब्याचलर अफ डेन्टल सर्जरी) अध्ययनका लागि भर्ना भए। २०७० सालमा अध्ययन पूरा गरेपछि उनले केही समय ललितपुरस्थित किष्ट मेडिकल कलेजमा मेडिकल अधिकृतका रूपमा कार्य गरे।

फौजी डाक्टर बन्ने त्यो सपना
डा. शिरिषलाई फौजी पोसाक लगाएर बिरामीको सेवा गर्ने ठूलो इच्छा थियो। किनभने उनी विद्यालय तहदेखि नै प्रहरीकै वातावरण र पोसाक लगाएका फौजीहरूकै वरिपरि हुर्किएका थिए। त्यसैले उनले नेपाल प्रहरीमा चिकित्सक पदका लागि आवेदन दिए।

लोकसेवा आयोगले लिएको कठिन परीक्षामा सामेल भए। उनी नेपाल प्रहरीमा छनोट मात्र भएनन्, २०७१ सालमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) चिकित्सकका रूपमा पहिलो नम्बरमै उनको नाम निस्कियो। फौजी चिकित्सकका रूपमा सेवा गर्ने आफ्नो बाल्यकालको सपना पूरा हुने भएपछि उनको खुसीको सीमा रहेन।

नेपाल प्रहरीमा चिकित्सकका रूपमा भर्ना भएपछि अन्य प्रहरी जवान सरह उनले पनि केही महिनाको कठिन सैनिक तालिम लिए। जुन तालिम जति कठिन थियो, उनी त्यति नै त्यसमा रमाए। उनले प्रहरी कवाज, हतियार चलाउने कला र सुरक्षासम्बन्धी महत्त्वपूर्ण ज्ञान तथा सीप सिके।

तालिम सकिएपछि डा. शिरिष नेपाल प्रहरी अस्पतालमा खटिए। त्यसपछि नयाँ जोस र जाँगरका साथ अस्पतालमा बिरामीको उपचार गर्ने उनको दैनिकी सुरु भयो।

जागिरकै क्रममा उनले सुडानमा संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा जाने अवसर पाए। त्यहाँ उनले करिब एक वर्ष बसेर चिकित्सकका रूपमा काम गरेर नेपाल फर्किए। त्यसपछि उनले केही समय हालको मधेश प्रदेश प्रहरी अस्पतालमा पनि सेवा गरे।

अध्ययनको तिर्खा मेट्न डा. शिरिष चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमडीएस (मास्टर्स इन डेन्टल सर्जरी/प्रस्थोडोन्टिक्स) अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा भर्ना भए र २०७४ सालमा एमडीएसको अध्ययन पूरा गरे।

यो विषय अध्ययन गरेका चिकित्सकलाई कृत्रिम दाँत राख्ने तथा बङ्गारा पुननिर्माण गर्ने कृत्रिम दन्त विशेषज्ञ (प्रस्थोडोन्टिस्ट) का रूपमा चिनिन्छ।

दाँत नभएका बिरामीको कृत्रिम दाँत (डेन्टल इम्प्लान्ट्स) लगाउने, दाँतमा टोपी (क्याप) लगाउने र निकाल्न तथा राख्न मिल्ने कृत्रिम दाँतको सेट (डेन्टर्स) लगाउने जस्ता जटिल कामहरू गर्नु नै यो विधा पढेका डाक्टरहरूको मुख्य कार्य हो।

२०७७ सालमा एमडीएसको अध्ययन पूरा गरेर डा. शिरिष पुनः नेपाल प्रहरी अस्पतालमै फर्किए। हाल उनी सोही अस्पतालमा कार्यरत छन्।

इन्स्पेक्टरका रूपमा नेपाल प्रहरीको सेवा सुरु गरेका उनी हाल बढुवा भएर डिएसपी (प्रहरी नायब उपरीक्षक) चिकित्सकका रूपमा कार्यरत छन्। उनकी श्रीमती पनि दन्त चिकित्सक नै हुन् र उनीहरूका दुई छोरी छन्। प्रहरी सङ्गठनको माया र पारिवारिक साथले नै उनलाई सधैँ अघि बढ्न ऊर्जा दिएको छ।

मुखको क्यान्सरको जोखिम र बच्ने उपाय
आफ्नो चिकित्सकीय अनुभवका आधारमा डा. शिरिष भन्छन्, "विशेष गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पाको उमेर हुँदै जाँदा मुखको क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको छ। चुरोट र खैनी अत्यधिक खाने तर समयमै दाँतको उपचार नगर्दा मुखमा अल्सर (घाउ) भएर क्यान्सरको रूप लिने जोखिम रहन्छ।"

विशेष गरी चुरोट, खैनी वा सुर्तीजन्य पदार्थ सेवन गर्ने ४० वर्ष नाघेका व्यक्तिहरूले प्रत्येक ६ महिनामा अनिवार्यरूपमा दाँत र मुखको परीक्षण गराउनुपर्ने डा. शिरिषको सुझाव छ। समयमै परीक्षण गराउन सके मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ र उपचारमा हुने ठूलो आर्थिक एवं भौतिक क्षतिबाट जोगिन सकिन्छ।

असार ६, २०८३ शनिबार १७:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।