अभिनेता रवीन्द्रको हिजोका कुरा : हिरो बनेपछि कमेडी छुट्यो, जेमन्तपछि दरबारको चासो बढ्यो

अभिनेता रवीन्द्रको हिजोका कुरा : हिरो बनेपछि कमेडी छुट्यो, जेमन्तपछि दरबारको चासो बढ्यो

काठमाडौं : नेपाली रङ्गमञ्च र फिल्मका पुराना दर्शकमाझ परिचित नाम हो- रवीन्द्र खड्का। वि.सं. २०१६ सालमा काभ्रेमा जन्मिएका खड्काको अभिनय यात्रा २०३३ सालमा नेपाल प्रज्ञा-प्रतिष्ठानको मञ्चबाट सुरु भएको थियो। रङ्गमञ्चको जगबाट आएका उनले २०३९ सालमा 'बदलिँदो आकाश'मार्फत फिल्मको पर्दामा पाइला टेके।

वि.सं. २०४३ मा प्रदर्शित 'मायापिरती'मा मुख्य अभिनेताको भूमिका निर्वाह गरेपछि उनको चर्चा चुलियो। वर्षमा एउटा वा दुई वटा मात्र फिल्म बन्ने समयमा 'मायापिरती'को सफलताले उनलाई स्थापित मात्र गरेन, त्यसपछि 'भाग्यरेखा', 'रक्षा', 'चेली' र 'पहिलो प्रेम' जस्ता फिल्मको लामो शृङ्खला नै चल्यो।

राजनीतिक पृष्ठभूमिमा हुर्किएका खड्काका बुबा पञ्चायतकालमा दुई पटक सांसद र दुई पटक जिल्ला सभापति हुनुहुन्थ्यो। बुबाको इच्छा छोरो प्रधानन्यायाधीश बनोस् भन्ने थियो, जसका लागि उनले २०३६ सालमा नेपाल ल क्याम्पसमा भर्ना पनि लिए। तर, कानुनका किताब भन्दा अभिनयका संवादहरूले उनको ध्यान बढी तान्न थाल्यो। अन्ततः एक वर्षमै कानुनको पढाइ छाडेर उनी रङ्गमञ्चमै रमाउन थाले।

कुनै समय सन्तोष पन्तसँग जोडी बाँधेर प्रज्ञा-भवनमा गाईजात्राका हास्य प्रस्तुति दिने खड्का अहिले पनि कलाकारितामै सक्रिय छन्। हाल चरित्र अभिनेताका रूपमा पर्दामा देखिँदै आएका उनै खड्काले आफ्नो बाल्यकाल, रङ्गमञ्चको सङ्घर्ष र फिल्मी यात्राका अनुभवहरू यसरी सुनाए :

बाल्यकालमा हेरेको नाटक र फिल्मको प्रभाव
मेरो जन्म वि.सं. २०१६ सालमा काभ्रेको पतौनी, सुनथानमा भएको हो। मैले थाहा पाउँदा मुलुकमा पञ्चायती व्यवस्था थियो। मेरो बुबा पञ्चायतकालमा दुई पटक माननीय र दुई पटक जिल्ला सभापति हुनुभयो। त्यस समयमा अहिलेको प्रदेश संरचना जस्तै अञ्चल स्तरीय निर्वाचन हुन्थ्यो र अञ्चलभरीकाले भोट दिएर जिताउने गर्थे। 

बुबा माननीय भएपछि उहाँको कार्यक्षेत्र सिंहदरबार भयो, त्यसैले हामीलाई पनि सानै उमेरमा (करिब ५-६ वर्षको हुँदा) पढाउनका लागि काठमाडौं ल्याउनुभयो।

त्यस समयदेखि म हालसम्म काठमाडौंमै छु र मेरो शिक्षादीक्षा पनि यहीँ भयो। गाउँमा शारदा माध्यमिक विद्यालय छ, जुन मेरो बुबाआमाकै पालामा स्थापना भएको हो। त्यहाँ मेरी कान्छी आमाले अध्यापन गराउनुहुन्थ्यो। हामी दुई आमातर्फबाट तीन दाजुभाइ छौं। म जेठी आमाको जेठो छोरा हुँ र मेरो एउटा भाइ छ। 

म १३ वर्षको हुँदा मेरी आमाको मृत्यु भयो, त्यसपछि बुबाले कान्छी आमा ल्याउनुभएको हो। कान्छी आमाले मलाई कहिल्यै पनि सौतेनी व्यवहार गर्नुभएन। यदि उहाँले विभेदपूर्ण व्यवहार गरिदिनुभएको भए सायद म आज यो स्थानसम्म आइपुग्ने थिइनँ होला। म जे-जस्तो अवस्थामा छु, उहाँकै कारणले छु।

रंगमञ्चको नसा
मलाई अझै सम्झना छ, मेरो मावली काभ्रेकै खोपासी भन्ने गाउँमा हो। प्रायः हामी दसैंको समयमा मावली जाने गर्थ्यौं। एक पटक मावल जाँदा मेरा दाजु (मामाका छोरा) दामोदर सिलवालले नाटक प्रदर्शन गर्नुभएको थियो। (उहाँ हाल नेपाली सेनाको करसाबबाट अवकाशप्राप्त हुनुहुन्छ)। नाटकको नाम ‘यी खेत हाम्रै हुन्’ थियो। ८-९ वर्षको उमेरमा हेरेको त्यो नाटकको नाम मलाई अहिले पनि याद छ।

पछि बुझ्दा त्यो अलि क्रान्तिकारी शैलीको नाटक रहेछ, जसमा धनी वर्गले गरिबमाथि गर्ने शोषण र त्यस विरुद्धको विद्रोह देखाइएको थियो। त्यस समयमा महिला कलाकारहरू खासै हुँदैनथे; पुरुषलाई नै महिलाको भेषमा अभिनय गराइन्थ्यो। तर, उक्त नाटकमा अभिनेत्री महिला नै थिइन्। पछि दाजुसँग सोध्दा थाहा भयो- ती अभिनेत्री नेपालका नभई दार्जिलिङबाट ल्याइएकी रहिछन्। वि.सं. २०२४-२५ सालतिरको त्यो समयमा छोरी मान्छेलाई नाटकमा अभिनय गर्न सरकारले भन्दा पनि परिवार र समाजले बन्देज लगाउने चलन थियो। 

दाजुको अभिनय हेर्न मानिसहरूको ठूलो घुइँचो लाग्थ्यो र सबैले ताली बजाएर प्रशंसा गर्थे। त्यो देखेर मलाई पनि नाटक खुब मन पर्यो। अभिनय गरेपछि सबैको ताली र प्रशंसा पाइने रहेछ भन्ने कुरा मेरो बालमस्तिष्कमा गहिरो गरी बस्यो। सोही ताका मैले पहिलो पटक जय नेपाल हलमा ‘बेटी बेटा’ फिल्म हेरेको थिएँ। 

सानै भएकाले त्यतिबेला के हेरेँ भन्ने खासै बुझिनँ, तर पछि नीर शाहसँगको कुराकानीका क्रममा त्यतिबेला जय नेपाल हलमा कुन फिल्म चलेको थियो भन्ने प्रसङ्ग निस्कँदा मैले हेरेको फिल्म ‘बेटी बेटा’ नै रहेको थाहा भयो। वि.सं. २०२२ सालतिर त्यो फिल्म हेरेपछि मैले अरू धेरै फिल्महरू पनि हेरेँ। नाटकमा दाजुले पाएको तारिफ र फिल्मका कलाकारहरूको चर्चाले मभित्र पनि अभिनयप्रति एउटा छुट्टै भोक जगाउन थाल्यो।

काठमाडौंमा सुकुल ओछ्याएर टोलटोलमा नाटक
मैले  थाहा पाउँदा काठमाडौंका नेवार समुदायले टोल-टोलमा नाटक प्रदर्शन गर्ने गर्थे। त्यसबेला डबु प्याख्या नामक नाटक गर्ने समूह थियो। विशेष गरी साँझको समयमा ऐतिहासिक र पौराणिक कथाहरूमा आधारित नाटकहरू देखाइन्थे, जुन म निकै चाख मानेर हेर्थेँ। नाटक सकिएपछि कलाकारले पाउने ताली र सम्मान देखेपछि मेरो मन पढाइभन्दा बढी अभिनयतर्फ जान थाल्यो।

त्यतिबेला हामी न्युरोडको पाखा टोलमा बस्थ्यौं र मेरो बाल्यकाल पनि त्यहीँ बित्यो। दिउँसो स्कुल जाने, बेलुका गृहकार्य गर्ने र खाना खाइसकेपछि नाटक हेर्न टोलमा भेला हुनु हाम्रो दैनिकी थियो। सुकुल वा कपडाले बेरेर बनाइएको मञ्चको वरिपरि नाटक हेर्नेहरूको ठूलो भिड हुन्थ्यो। 

'डबु प्याख्या' समूहले विभिन्न ठाउँमा नाटक देखाउने भएकाले हाम्रो टोलमा उनीहरूको पालो कतिबेला आउला भनेर हामी निकै पर्खिन्थ्यौं। करिब एक-डेढ घण्टाको एउटा नाटक सकेपछि उनीहरू अर्को टोलमा जान्थे। त्यो नाटकले मेरो मनमा कलाकारिताप्रति गहिरो प्रभाव पार्यो। कलाकार हुनु त निकै राम्रो कुरा रहेछ भन्ने भावना जाग्यो। यो २०३० सालभन्दा अघिको कुरा हो।

नाटक यात्राको सुरुवात
मैले वि.सं. २०३३ सालमा पहिलो पटक नाटकमा अभिनय गर्ने अवसर पाएँ। न्युरोडकै मेरो साथी दीपक घिमिरेले मलाई सोध्नुभयो- "ओई रवि, नाटक खेल्छौं?" अभिनयको इच्छा पलाइरहेको बेलामा यस्तो प्रस्ताव आएपछि मैले तुरुन्तै हुन्छ भनिदिएँ। दीपकले नै मलाई त्यतिबेलाका प्रसिद्ध र कलाकार जन्माउने निर्देशक मनहरि भण्डारीसँग भेटाउनुभयो।

उहाँको निर्देशनमा मैले २०३३ सालमा ‘जाल’ नामक नाटक खेल्ने तय भयो। मलाई अझै सम्झना छ, हामीले माघ-फागुनतिर त्यसको रिहर्सल गरेका थियौं। २०३४ साल वैशाख १ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको नाटक महोत्सवमा हामीले उक्त नाटक मञ्चन गर्यौं। नाटकमा मेरो भूमिका ठूलो त थिएन, तर प्रभावकारी थियो। 

म गुण्डाहरूको एउटा सहयोगी (चम्चे) को भूमिकामा थिएँ। दृश्यमा गुण्डाहरूले "ला, यो पिपलामेन्ट (चकलेट) खा" भन्दा मैले अनुहार बिगारेर "हवस् हजुर" भन्थेँ। मलाई सुरुदेखि नै हास्य भूमिका गर्न निकै रमाइलो लाग्थ्यो। मेरो त्यो शैली दर्शकले निकै मन पराउनुभयो। हलमा तालीको गडगडाहट सुन्दा मेरो खुसीको सीमा रहेन।

त्यो नाटकबाट मैले दुई सय एक रुपैयाँ पुरस्कार र सूर्यविक्रम ज्ञवाली, सत्यमोहन जोशी तथा विजय मल्ल जस्ता दिग्गज व्यक्तित्वहरूको हातबाट प्रशंसा-पत्र प्राप्त गरेँ। त्यो पैसाले के किनेँ भन्ने कुरा अहिले ठ्याक्कै सम्झना छैन, तर पुरस्कार पाउँदाको त्यो क्षण आज झण्डै ५० वर्षपछि पनि मलाई याद छ।

त्यसै दिनदेखि मेरो नाट्य यात्राले निरन्तरता पायो। निर्देशक मनहरि भण्डारीसँग मैले ‘जाल’ र ‘अन्धकारको दियालो’ गरी दुई वटा नाटकमा काम गरेँ।

नायक बनेपछि हास्य अभिनयमा लागेको ब्रेक
वि.सं. २०३५ सालमा एसएलसी उत्तीर्ण भएपछि बुबाले मलाई नेपाल ल क्याम्पसमा भर्ना गरिदिनुभयो। उहाँको चाहना म भविष्यमा प्रधानन्यायाधीश बनेको हेर्ने थियो। तर, त्यहाँ एक वर्ष पढ्दा पनि मेरो मन भने रङ्गमञ्च र अभिनयमै अल्झिरह्यो। मेरा सहपाठीहरू वकिल बन्नतर्फ लाग्दा म भने सरस्वती क्याम्पसमा भर्ना भएँ। त्यहीँ मेरो भेट सन्तोष पन्तसँग भयो। 

उहाँले मलाई सहायक निर्देशक र कलाकारका रूपमा लिनुभयो र हामीले मिलेर रङ्गमञ्चमा काम गर्न थाल्यौं। वि.सं. २०३९ देखि २०४३ सालसम्म हामीले लगातार गाईजात्रा गर्यौं। त्यसबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह’ जोडी अनि किरण केसी र राजाराम पौडेलको ‘किरा’ जोडी जस्तै हाम्रो ‘सर’ (सन्तोष र रवि) जोडी पनि निकै चर्चित थियो।

हास्य कलाकारका रूपमा मेरो चर्चा भइरहँदा मैले फिल्म ‘मायापिरती’मा नायकका रूपमा अनुबन्धित भएँ। फिल्ममा नायकको भूमिका निर्वाह गरेपछि धेरैले मलाई 'अब हिरो भइसकेपछि जे पायो त्यही सानोतिनो भूमिका नगर्नू' भनी सल्लाह दिन थाले। मलाई पनि हो कि जस्तो लाग्यो र मैले कतिपय भूमिकाहरू गर्न छाडिदिएँ। 

आज फर्केर हेर्दा लाग्छ, त्यो निर्णयले मेरो अभिनय यात्रामा केही असर पुर्यायो। मलाई ५० वर्षभन्दा माथिका दर्शकले त अझै चिन्नुहुन्छ, तर नयाँ पुस्ताका दर्शकहरूका लागि म उति परिचित छैन। रङ्गमञ्चपछि मैले किरण प्रधानको निर्देशनमा ‘प्रयास’ टेलिफिल्ममा काम गरेँ। यस्तै, ‘मायापिरती’, ‘भाग्यरेखा’ र ‘आजका युवा’ जस्ता फिल्ममा अभिनय गरेँ। ‘आजका युवा’बाटै अभिनेत्री मौसमी मल्लले फिल्म क्षेत्रमा पाइला राख्नुभएको थियो।

‘बदलिँदो आकाश’ मैले वि.सं. २०३९ सालमा नै गरेको थिएँ। त्यतिबेला अन्तर्वार्ता दिएपछि मात्र फिल्म खेल्न पाइन्थ्यो। त्यस समय अहिलेको जस्तो वर्षमा सयौं फिल्म बन्दैनथे; चार-पाँच वर्षमा एउटा फिल्म मुस्किलले निर्माण हुन्थ्यो। ती फिल्म प्रायः तत्कालीन ‘शाही नेपाल चलचित्र संस्थान’ले बनाउँथ्यो र कलाकार बन्न अडिसन दिनुपर्थ्यो। 

त्यसबेला अहिले जस्तो सञ्चारमाध्यम नभएकाले अडिसनको नतिजा हेर्न ‘गोरखापत्र’ नै कुर्नुपर्थ्यो। लक्ष्मीनाथ शर्माको निर्देशनमा बनेको ‘बदलिँदो आकाश’का लागि मैले अडिसन दिएरै पास भएको थिएँ। पछि ‘भाग्यरेखा’मा काम गर्ने बेलासम्म म राष्ट्रिय नाचघरमा जागिरे भइसकेको थिएँ।

‘जेमन्त’ नाटक र दरबारको चासो
रङ्गमञ्चमा सक्रिय रहँदा मैले अभिनय गरेको तथा मोहनराज शर्माद्वारा लिखित नाटक ‘जेमन्त’ निकै चर्चित भयो। ‘जेमन्त’ (जसको अर्थ ‘जे मनमा आयो’ भन्ने बुझिन्थ्यो) जताततै हिट भएपछि तत्कालीन राजा वीरेन्द्रले पनि यसप्रति चासो देखाउनुभयो।

त्यस समयमा हरेक वर्ष असार १० गते प्रज्ञा भवनमा कविता महोत्सव आयोजना हुन्थ्यो र महोत्सवको अन्तिममा नाटक देखाउने परम्परा थियो। उक्त नाटक हेर्न राजा स्वयम् आउने गर्नुहुन्थ्यो।

रेडियो र गोरखापत्रमा नाटकको चर्चा सुनेपछि राजा वीरेन्द्रले यो नाटक हेर्ने इच्छा व्यक्त गर्नुभयो र वि.सं. २०३९ सालमा हामीले उहाँका सामु मञ्चन गर्यौं। नाटक हेरिसकेपछि उहाँबाट हामीले राम्रो प्रशंसा पायौं। त्यतिबेला तत्कालै त होइन, तर पछि मैले ‘दक्षिण गोरखा’ प्राप्त गरेँ। त्यस समयको दरबारले देशको कला र साहित्यमा के भइरहेको छ भन्ने कुरामा चासो राख्ने गर्थ्यो। कसैको भनसुन वा ‘सोर्सफोर्स’ लगाएर 'सरकार, मेरो नाटक हेरिबक्सियोस्' भन्ने जमाना थियो। तर, चर्चा र पढेको भरमा राजा आफैँले पनि नाटक हेर्ने इच्छा जाहेर गर्थे।

फिल्ममा काम गर्दाको रासन भत्ता
शाही नेपाल चलचित्र संस्थानले निर्माण गर्ने फिल्ममा काम गर्दा कलाकार तथा प्राविधिकहरूले दैनिक रासन भत्ता पाउने गर्थे। त्यसबेला पारिश्रमिक थोरै हुन्थ्यो, तर खानपानका लागि दैनिक रासन भत्ताको व्यवस्था हुन्थ्यो।

हामीले खर्च भएको बिल-भाउचर पेश गरेपछि सोही अनुसारको पैसा पाउँथ्यौं। अहिलेका कलाकारहरू निकै शौखिन स्वभावका छन्, तर हाम्रो समयमा जे उपलब्ध हुन्थ्यो, त्यसैमा रमाएर फिल्ममा काम गर्ने गरिन्थ्यो।

रङ्गमञ्चका लागि क्यासेट प्लेयर बेच्दाको त्यो क्षण
अहिलेको समयमा नाटकबाट आम्दानी गर्ने बाटो खुलेको छ, तर हाम्रो पालामा अवस्था निकै फरक थियो। एक पटक नाट्यकर्मी राजेन्द्र सलभ, रविन नेपाली र म मिलेर एउटा नाटक मञ्चन गरेका थियौं।

नाटक त सफल भयो, तर हलको भाडा तिर्ने पैसा हामीसँग जुटेन। हलको भाडा तिर्न नसकेपछि साथी रविन नेपालीले आफ्नो घरको नयाँ र निकै राम्रो क्यासेट प्लेयर बेचेर पैसाको जोहो गर्नुभएको थियो। त्यसरी अभावका बीच पनि हामी नाटक गर्ने गर्दथ्यौं।

हाम्रो पुस्ताले रङ्गमञ्चलाई जोगाएर राखेकाले नै आजको पुस्ताले यो सहज अवस्था पाएको हो। त्यस कारण, म के भन्छु भने नयाँ पुस्ताका रङ्गकर्मीहरूले पुराना स्रष्टाहरूको संघर्षलाई बिर्सनु हुँदैन। हामीले आफ्नो गोजीको दुई-पाँच रुपैयाँ खर्च गरेर यो क्षेत्रलाई जीवित राखेका थियौं। आज कलाकारहरूले नाटकबाट नाम र दाम दुवै कमाइरहेका छन्, जुन हाम्रो समयमा निकै कठिन थियो।

असार ४, २०८३ बिहीबार १७:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।