असममा भारतीय सैन्य विमान दुर्घटना : दुई टुक्रा भई आगलागी हुँदा पाइलटसहित ५ जनाको मृत्यु, सह-पाइलट घाइते

असममा भारतीय सैन्य विमान दुर्घटना : दुई टुक्रा भई आगलागी हुँदा पाइलटसहित ५ जनाको मृत्यु, सह-पाइलट घाइते

एजेन्सी : भारतको असमस्थित जोरहाट वायुसेना स्टेशनमा सैन्य विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ५ जनाको मृत्यु भएको छ। 

शनिबार बिहान रौरियास्थित भारतीय वायुसेनाको बेसमा अवतरण गर्ने क्रममा एएन-३२ ट्रान्सपोर्ट विमान दुर्घटनामा परेको हो।

भारतीय वायुसेनाका अनुसार नियमित उडानमा रहेको सो विमान अवतरणको प्रयास गर्दा रनवे नजिकै खसेर दुई टुक्रा भएको थियो र त्यसमा तत्कालै आगलागी भएको थियो। 

भारतीय वायुसेनाले सामाजिक सञ्जाल 'एक्स' मार्फत दुर्घटनाको पुष्टि गर्दै विमान दुर्घटनामा भएको पाँच कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा  स्क्वाड्रन लीडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन्।

दुर्घटनामा विमानका सह-पाइलट भने गम्भीर घाइते भएका छन्। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना लगत्तै आपतकालीन टोलीहरूले विमानमा लागेको आगो नियन्त्रणमा लिएर उद्धार कार्य अघि बढाएका थिए। ट्वीन-इन्जिन भएको यो मालवाहक विमान सैन्य बन्दोबस्ती र जवानहरू ओसारपसारका लागि दुर्गम क्षेत्रमा प्रयोग हुने गर्दछ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन भारतीय वायुसेनाले 'कोर्ट अफ इन्क्वायरी' (उच्चस्तरीय छानबिन) को आदेश दिइसकेको छ।

जेठ ३०, २०८३ शनिबार १६:५३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।