निरन्तर प्रतिपक्षी
आत्मबल त देखिन्थ्यो, उनी सर्लाही-४ मा सक्रिय पनि थिए। तर चुनावी परिणाम आफ्नो पक्षमा नआउने सूचना गगन थापाले मतदान हुने दिन फागुन २१ भन्दा एक साताअगाडि नै पाइसकेका थिए।
‘१० हजारभन्दा बढी मतान्तर छ’- उनले पाएको सूचना यही थियो। सूचना पाएपछि उनी काठमाडौं आए। कोर टिमका सदस्यहरूसँग यसबारे छलफल गरे। सहमतिअनुसार प्रयास त भयो तर त्यसले माहोल बदल्न सकेन। अन्ततः उनी कमजोर ठानिएका अमरेशकुमार सिंहसँग पाएको सूचना बराबरकै मतान्तरमा पराजित भए।
जेनजी पुस्ताको विद्रोह, विशेष महाधिवेशनमार्फत पार्टीमा गरेको हस्तक्षेप अनि भावी प्रधानमन्त्रीका रूपमा आफ्नो उम्मेदवारी। यी सबै कोणबाट उनी र नेपाली कांग्रेस दुवैका लागि फागुन २१ को निर्वाचनबाट आउने मतपरिणाम निकै महत्त्वपूर्ण थियो। बहुमत सम्भव देखिएको थिएन।
कमसेकम सिटका आधारमा सबैभन्दा ठूलो दल वा बलियो प्रतिपक्षी बन्ने उनको लक्ष्य थियो। तर, दुवै सम्भव भएन। उनी दललाई प्रमुख प्रतिपक्षी बनाउन त सफल भए तर निकै कमजोर अवस्थामा। आफूसहित पार्टीका महत्त्वपूर्ण नेताहरू पराजित भए।
समानुपातिकदेखि प्रत्यक्षसम्म सुरक्षित देखिएको काठमाडौं क्षेत्र नम्बर ४ छाडेर उनी २०७९ को आम चुनावमा समानुपातिकतर्फ आएको मतका आधारमा ‘काठमाडौं र मधेसलाई जोड्ने’ नारासहित सर्लाही-४ मा चुनावी प्रतिस्पर्धामा गएका थिए। २०७९ मै पनि उनी काठमाडौं छाडेर सर्लाही-४ मा जाने चर्चा थियो। तर उनी यतै उम्मेदवार बने।
यसपटक भने ‘सरप्राइज’का रूपमा आफ्नै दलबाट संसदीय यात्रा सुरू गरेर स्वतन्त्र हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गएका अमरेशसँग प्रतिस्पर्धा गर्न उनी सर्लाही पुगेका थिए। तर, बालेनको क्रेजका अगाडि उनको तार्किक अभियानले काम गरेन। ‘जसलाई मत दिए पनि त्यो बालेनलाई प्रधानमन्त्री बनाउने मत हो’, भन्ने सन्देशका अगाडि उनको केही जोड चलेन र पराजित भए।
प्रारम्भमा सर्लाही-४ बाट चुनाव उठ्दा धेरै नखटे पनि चुनाव जितिने र देशभर पार्टीको चुनावी माहोल आफ्नो पक्षमा पार्न सकिने अनुमान उनको कोर टिमले गरेको थियो। तर अवस्था उल्टो बनिदियो। बालेन टिमकै स्रोतहरूका अनुसार उनी सकेसम्म थापाले जितुन् भन्ने नै चाहन्थे।
त्यसैले अमरेशले जति करबल गर्दा पनि बालेन उनको निर्वाचन क्षेत्रको शहरी इलाकामा मात्र गएर फर्किएका थिए। तर, यसमा बालेनको अघोषित साथले पनि गगनलाई काम गरेन। अन्ततः थापा सिंहसँग १२ हजार ८५७ मतान्तरले पराजित भए। थापाले कुल २२ हजार ८३१ मत ल्याउँदा सिंहले ३५ हजार ६८८ मत ल्याएर सत्ताधारी हुन असफल भए। उनी पार्टीभित्र प्रतिपक्षीबाट 'सत्ताधारी' त भए तर संसदीय राजनीतिमा भने प्रतिपक्षमा खुम्चिए।
गगनसंगै मतदाता पनि फेरिए
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल खुलाउने र युवा नेतृत्व स्थापित गर्ने मुख्य माग राखेर भएको थियो। २३ गते बानेश्वरमा मात्रै १९ जना युवाको ज्यान गयो। २४ गते पनि धेरैको ज्यान गयो।
सँगै सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद्लगायतका मुख्य प्रशासनिक निकायदेखि प्रहरी कार्यालयसम्ममा आगजनी र तोडफोड भयो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो।
दलहरू केही दिनपछि आफ्ना धारणाहरू राख्न थाले। भदौमै गगन थापाले ‘पुराना दलहरू बिग्रेकाले सुध्रिनु पर्ने’ भन्दै जेनजी आन्दोलनमा उठेका मागहरूको आफूले अपनत्व लिने भिडियो सन्देश जारी गरे। उनले सबै दलहरू पुस्तान्तरण र रूपान्तरण हुनुपर्ने भन्दै आफ्ना विचारहरू राख्दै गए। त्यसको सुरुवात आफ्नै पार्टी नेपाली कांग्रेसबाट गर्ने भन्दै महामन्त्रीसमेत रहेका थापाले पार्टीमा विशेष महाधिवेशनको माग उठाए।
थापासहितको समूहले विशेष महाधिवेशनको माग गर्योा। विवादास्पद पुराना नेताहरूको नेतृत्वमा चुनावमा जाँदा मत माग्ने बाटै नहुने भन्दै उनीहरूले कांग्रेस केन्द्रीय समितिको बैठकमा निरन्तर विरोध गरिरहे। कांग्रेसभित्र सुरु भएको परिवर्तनको मागप्रति अन्यको पनि ध्यान तानिएको थियो। त्यतिबेलासम्म बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर पदमै कायम थिए।
तर कांग्रेसमा विलम्ब भइरहेको थियो। ४९ दिन बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन टार्न ‘नियमित महाधिवेशन नै गर्न सकिने’ भन्दै कार्यतालिका सार्वजनिक गर्योत। तर देउवा र कोइराला समूहले समयमै महाधिवेशन गर्न आलटाल गरिरहे। कार्यतालिका बदलेर निर्वाचनपछि पुर्याए।
कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने हुन्छ। देउवा र कोइराला समूहले विशेष महाधिवेशन गर्न अस्वीकार गरे पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व लिएर संस्थापन पक्षको असहमतिबीच भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशनको आयोजना गरे।
महाधिवेशन उद्घाटन गर्दै थापाले ‘कांग्रेस दास र लासको पार्टी हैन, जिउँदा मानिसहरूको पार्टी भएको’ भन्दै मासलाई उत्साहित बनाए। जति प्रयास गरे पनि संस्थापन (देउवा) र संस्थापनइतर (कोइराला) समूह विशेष महाधिवेशनमा आएनन्। उल्टो गगन र विश्वप्रकाशलाई कारबाही गरे।
अन्ततः विशेष महाधिवेशनले थापालाई सभापति चयन गर्दै नयाँ कार्यसमिति बनायो। कांग्रेसको विवाद निर्वाचन आयोग पुगे पनि आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो। देउवा समूह आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्यो। यता थापा समूह भने निर्वाचनतिर लाग्यो। कांग्रेसले १२ वर्षपछि १६५ स्थानमै प्रत्यक्ष उम्मेदवारी दियो।
थापाले टिकट वितरणमा शेरबहादुर देउवा र आरजु राणा देउवाबाहेक अन्यको हकमा प्रतिबन्ध लगाएनन्। विशेष महाधिवेशनमा साथ नदिए पनि कोइराला र देउवा समूहका आकांक्षीहरूलाई टिकट दिए।
टिकट वितरण गर्दा प्रत्यक्षमा १० प्रतिशत महिला उठाइएको थियो भने १ जना मात्रै दलित उठाइएका थिए। अन्य निर्वाचनको तुलनामा चुनावी प्रचार व्यवस्थित नै देखिएको थियो। क्षेत्रगत रूपमा सभा आयोजना गरिएको थियो। चुनाव प्रचारको मुख्य थलो सामाजिक सञ्जाल बनेसँगै कांग्रेस पनि त्यसमै केन्द्रित देखियो।
हरेक एजेन्डाबारे आफ्नो धारणासहित गगनका भिडियोहरू सार्वजनिक हुन्थे। ती रुचाइएका पनि देखिन्थे। बहस पनि भइरहेकै थियो उनको एजेन्डामाथि। तर, विशेष महाधिवेशन गरेर निर्वाचनको प्रचारले गति लिनुअगाडि नै बालेनको पक्षमा बलियो माहोल बनिसकेको थियो। रास्वपाबाट भावी प्रधानमन्त्री घोषित उनी जहाँ पुग्थे, भव्य स्वागत हुन थाल्यो। गगन सर्लाही र केही क्षेत्रको प्रचारमा केन्द्रित हुँदा बालेन भने सम्भव भएसम्म धेरै क्षेत्र पुग्न ‘रोड शो’को शैलीमा हिँडिरहेका थिए।
एमाले निर्वाचनको प्रारम्भबाटै रक्षात्मक बनेको थियो र अवधिभर त्यस्तै रह्यो। एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ भन्दा अन्त गएनन्। उनको पक्षमा माहोल पनि थिएन। कमसेकम गगनले केही हदसम्म कांग्रेसको पक्षमा माहोल बनाउन सफल भएका थिए। तर यसपटक ‘बालेनलाई भोट’ भनेर निर्णय गरिसकेका मतदाताको मन उनको प्रयासले बदलिन सकेन।
रास्वपाको पक्षमा माहोल यस्तो बनिसकेको थियो कि, निर्वाचन क्षेत्रमा को उम्मेदवार छ भन्ने अर्थ नै थिएन। प्रत्यक्ष निर्वाचित कार्यकारीको शैलीमा सबैले बालेन सम्झिएर मत दिए। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरेर १८२ सिटसहित प्रतिनिधि सभाको सबैभन्दा शक्तिशाली दल बन्यो। थापाको शिरमा समेत नराम्रोसँग ‘घण्टी’ बज्यो। गगनले विशेष महाधिवेशनबाट पार्टी फेरिएको संकेत त गरे, तर मतदाताले मन फेरिसकेकाले उनी किनारामा पुगे।
सफल आन्दोलनकारी
पुसमा विशेष महाधिवेशन भएको बेला पार्टीमा अराजकता मच्चाएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले तत्कालीन महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो।
कारबाहीपछि विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले ‘कांग्रेस कसैको व्यक्तिगत कम्पनी नभएको’ भन्दै आफूले ९ कक्षा पढ्दादेखि कांग्रेसको राजनीति गरेको बताएका थिए। उनको यात्रा देखिन्छ पनि त्यस्तै।
२०४६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका गगन आईएस्सी पढ्न त्रिचन्द्र कलेजमा भर्ना भए। भर्ना भएसँगै नेविसंघमा रहेर काम गरेका उनी २०५१ सालमा स्ववियु सदस्य निर्वाचित भए। २०५३ सालमा त्रिचन्द्र क्याम्पस स्ववियु सभापति निर्वाचित भए।
२०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष र २०५९ मा महामन्त्रीको जिम्मेवारी पाए। २०५८ सालमा राजा वीरेन्द्रको दरबार हत्याकाण्ड भयो। त्यसपछि राजसंस्थाप्रति आस्था राख्नेहरूले समेत नयाँ राजा ज्ञानेन्द्र शाहलाई स्वीकार्न सकेका थिएनन्। त्यसमाथि ज्ञानेन्द्रले राजनीतिक ‘कु’ गरे। दलहरूमाथि प्रतिबन्ध लगाएर आफैँले सत्ताको नेतृत्व लिए।
यो संविधानप्रतिको ‘कु’ थियो। तत्कालीन नेताहरू गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपालहरू आलोचित थिए। दलहरू नै प्रतिबन्धित भएपछि उनीहरू पनि राजसंस्था विरोधी बने। नेपाली कांग्रेसको विधानमै संवैधानिक राजतन्त्रको वकालत गरिएको थियो।
एकातिर सशस्त्र युद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र अर्कोतिर राजा ज्ञानेन्द्रको कु। दलहरू राजसंस्थाको आलोचना गर्न त थालेका थिए तर विकल्प खोजिसकेका थिएनन्। कांग्रेसका नेताहरू ढुलमुलमै थिए। उता सडकमा नेविसंघबाट गगन थापा र अनेरास्ववियुबाट रामकुमारी झाँक्रीहरूले गणतन्त्रका नारा लगाउन थालिसकेका थिए। यो नारा तत्कालीन संविधानविरोधी थियो। थापाले यही नारा लगाएका कारण राजद्रोहको मुद्दा खेपेर थुनामा पर्नु परेको थियो।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि त्यसविरुद्ध २०६० पुस १ गते विद्यार्थी संगठनले आन्दोलन चर्काएका थिए। उनीसहितका नेतालाई तत्कालीन सरकारले निगरानीमा राखेको थियो। नागरिक समाजले २०६१ साउन १० गते गरेको कार्यक्रममा राजतन्त्रको विरोध गर्दै उनले गणतन्त्रको माग गरेका थिए।
गगन त्यतिबेला कांग्रेस नेता नरहरि आचार्यको गणतान्त्रिक वैचारिक समूहमा रहेर काम गरिरहेका थिए। पार्टीमा आचार्य तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका प्रतिद्वन्द्वी थिए। सिंगो पार्टी परम्परागत संवैधानिक राजतन्त्रको पक्षमा अडिग रहँदा आचार्य, थापा, सुप्रभा घिमिरेजस्ता केही नेताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय स्वरूपको समेत वकालत गरेका थिए। समावेशिता, संघीयता र नागरिक अधिकारका सवालमा खुलेर बोलेका थिए।
नेविसंघ दसौं महाधिवेशनको तयारी गरिरहेको थियो। उनी सभापति बन्ने तयारीमा थिए। तर सोही समयमा पार्टी सभापति रहेका गिरिजाप्रसाद कोइरालाले उनै थापालाई ‘दरबारको एजेन्ट’को आरोप लगाए। सभापति कोइरालाले गणतन्त्रको वकालत गरेपछि लोकतन्त्र खतरामा पर्ने तर्क गरेका थिए।
सभापतिले बोलेको कुरामा आरोप पुष्टि गर्न थापाले चुनौती नै दिएका थिए। सो समयमा महाधिवेशन भाँडियो। २०६५ सालमा भएको महाधिवेशनमा थापाको पनि सहभागिता थियो। थापाले प्रदीप पौडेलको समर्थन गरेका थिए र उनै पौडेल अध्यक्ष निर्वाचित भए।
ज्ञानेन्द्रको ‘कु’ र माओवादीको ‘जनतन्त्र’लाई मझधारमा ल्याउने उपाय लोकतान्त्रिक गणतन्त्र व्यवस्था रहेको दलहरूले आँकलन गरे। अन्त्यमा कांग्रेसले गणतन्त्रको नारा बोक्यो। नीतिगत रूपमा थापाले जिते।
२०६२/०६३ को जनआन्दोलनमा विद्यार्थीको भूमिका त्यति नै छ, जति दलहरूको छ। गगन विद्यार्थी नेताका तर्फबाट अग्रपंक्तिमा थिए। आन्दोलनताका शान्तिवाटिकामा उनले प्रहरीतर्फ ढुंगा हान्दै गरेको तस्बिर अहिले पनि सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बन्छ।
आन्दोलन सफल भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा गगन थापा समानुपातिक सूचीमा समेटिए, र संसदीय यात्रा तय गरे। यो उनको पहिलो संसद् यात्रा थियो।
रोकिएन यात्रा
२०६७ मा कांग्रेसको १२औं महाधिवेशनबाट थापा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए। फागुन २०७२ मा भएको १३औं महाधिवेशनमा नरहरि आचार्य संस्थापन पक्षमा सामेल भइसकेका थिए।
सुशील कोइरालाको प्रतिस्पर्धामा उत्रिएका नेता कृष्णप्रसाद सिटौलाको समूहबाट गगनले महामन्त्रीमा प्रतिस्पर्धा गरे। त्यतिबेला ससुरा अर्जुननरसिंह केसी देउवाको तर्फबाट प्रतिस्पर्धी थिए। ससुरा-ज्वाइँ दुवै पराजित हुँदा बीपी पुत्र शशांक कोइराला महामन्त्रीमा विजयी भए। यसपछि सिटौलासँगको सम्बन्ध पनि कमजोर हुँदै गयो र टुट्यो।
मंसिर २०७८ मा भएको १४औं महाधिवेशनमा उनी नेता शेखर कोइरालासँग उभिए। कोइराला सभापतिमा पराजित भए पनि गगन महामन्त्रीमा निर्वाचित भए। त्यसपछि अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग उनको मित्रता बढ्यो।
संसद्देखि पार्टीको उच्च नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन भयो। जेनजी आन्दोलनको भाव बुझेर नेपाली कांग्रेसका गगन थापानिकट नेताहरूले पुस्तान्तरणमा जोड दिए। यसमा थापाको भूमिका प्रमुख छ।
नेतृत्व परिवर्तन, संगठन सुधार र पुस्तान्तरणको माग नै विशेष महाधिवेशन मागिनुको मुख्य कारण थियो। थापा पुस्तान्तरणको समय पर्खेर बसेका थिए। जेनजी आन्दोलन उनको लागि अवसर बनिदियो। शक्तिशाली मानिएका शेरबहादुर देउवालाई पार्टी नेतृत्वबाट हटाएर आफू सभापति बन्ने लाइनमा थापा उभिए। संस्थापन पक्षले नियमित महाधिवेशन गराउन आनाकानी गरिरहेको अवस्था र जेनजी आन्दोलनले दिएको अवसरलाई सदुपयोग गर्दै गगनले विशेष महाधिवेशन सम्पन्न गरेर देउवालाई हटाउँदै पार्टीको नेतृत्व लिन सफल भए।
मुख्य दलहरू एमाले र कम्युनिस्ट पार्टी लगायतले पुस्तान्तरणमा न त कांग्रेसको जस्तो विद्रोह गर्न सके, न त युवा पुस्ताले दलमा पकड नै जमाउन सके। उदाहरणका लागि, एमाले नेताहरू भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनाले भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा बोल्दा पार्टीले कारबाही गर्यो ।
उता नेकपामा त बोल्न सक्ने आँट गर्ने युवा नै अगाडि आउन नसकेको अवस्थामा, थापाले पार्टी नेतृत्वलाई हटाउनु भनेको एक प्रकारले विद्रोह नै थियो। जसमा उनले सोचेअनुसारको परिणाम नआएको भए, पार्टीले ५ वर्षका लागि कारबाहीसमेत गरेको थियो।
नेपाली कांग्रेसमा पुस्तान्तरणको वकालत गर्ने थापा आफ्नो लामो राजनीतिक यात्रामा विवाद, आलोचना र प्रशंसाका पात्र हुन्। पुस्तान्तरणको वकालत गरेका उनै थापाले प्रशंसा मात्रै पाएका छैनन्। उनी ‘अपेक्षा बढी, उपलब्धि कम’ देखिने नेताका रूपमा समेत चित्रण गरिन्छन्।
युवा पुस्ताको विषयमा बोलिरहँदा उनी करिब ५० वर्ष पुग्न लागिसके। उनले बारम्बार भन्दै आएको एउटा कुरा के हो भने, ५५ वर्ष पुगेपछि राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। यसमा अडिग रहे भने थापा नेपाली राजनीतिमा चासो र चर्चाको विषय बन्नेछन्।
थापाका अगाडि अब दुई बाटा छन्- तत्कालीन चुनावी यथार्थलाई स्वीकार गर्दै रणनीतिक मौनता रोज्ने, वा राजनीतिक जोखिम लिएर पार्टीभित्र स्पष्ट ध्रुवीकरणको बाटो रोज्ने? यी दुवै बाटा उनका लागि चुनौतीपूर्ण छन्।
निरन्तर प्रतिपक्षी
गगन थापाले पार्टीभित्र र बाहिर पुस्तान्तरणको वकालत गरिरहे। सडकदेखि संसद्सम्म, सरकारमा बसेको नेतृत्व नसुध्रिए युवाले विद्रोह गर्ने कुरा गर्दै आएका थिए। थापाले भनेझैँ भयो भदौ २३-२४ को जेनजी आन्दोलन। तर यो आन्दोलनपछि भएको निर्वाचनले थापाको संसदीय यात्रामा ‘ब्रेक’ लगाइदियो।
‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्दै निर्वाचनमा होमिँदा गगनले ‘कांग्रेस २.०’ भन्दै नयाँ भर्सनमा आएको जनाउ दिएका थिए। तर बारम्बार सत्तामा पुगेर काम गर्न नसकेको भन्दै मतदाता सुधारिएको पुरानो दलको साटो ‘नयाँ दल’को पक्षमा गए।
जनमत अबको ५ वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गयो। यसबीचमा कमजोर संख्या भए पनि कांग्रेसको काँधमा प्रमुख प्रतिपक्षीका रूपमा सरकारको राम्रो काममा साथ र गलत काममा दरिलो खबरदारी गर्ने जिम्मेवारी छ। त्यो संसदमा केही हदसम्म देखिएको पनि छ।
फागुन २१ को निर्वाचनको मतपरिणाममा नाम र चुनाव चिह्न रास्वपाको भए पनि जनमत बालेनको पक्षमा उर्लिएको प्रस्ट छ। अनि मतदाताले दल हैन, मत मात्रै बदलेको प्रस्ट देखिएको थियो फागुनमा। उनीहरू खुलेरै भनिरहेका थिए, “यो पालि मत बदल्ने, दल पुरानैमा बस्ने। यी नयाँले पनि नगरे आफ्नो दल छँदै छ।”
संघीय सरकार गुमाए पनि प्रदेश अनि अधिकांश स्थानीय तहमा कांग्रेससहित पुरानै दलका प्रतिनिधिहरू छन्। उनीहरूले इच्छा गरेमा दल बदलिएको स्थानीय र प्रदेशको कार्यशैली बदलेर सन्देश दिन सक्छन्। बीचमा कुनै राजनीतिक दुर्घटना नभए २०८७ मा हुने नियमित निर्वाचनमा मतदाताले पक्कै नयाँको पनि मूल्यांकन गर्ने नै छन्।
२०८२ फागुन २१ मा भएको चुक सुधार्ने हो भने अब सुधारिएको नारा मात्र हैन, व्यवहार र शैलीसहित सक्रिय र संसदमा बाधक हैन रचनात्मक निगरानीकर्ता बन्नुको विकल्प छैन गगनसँग। सँगै १५ औँ महाधिवेशनको सफल बनाएर नेतृत्वमा फर्कने चुनौती पनि उत्तिकै छ।
नत्र राजनीतिमा उद्देश्य राखिने प्रमुख कार्यकारीको भूमिका केवल रहर मात्रै हुने निश्चित छ। किनकि, घोषणा गरेकै समय हेर्ने हो भने पनि गगनका लागि अब सुविधाजनक समय छैन। उमेर र उनले सक्रिय राजनीतिमा लाग्ने भनेर तोकेको मिति दुवैले उनलाई चेप्दै लगिरहेको छ।
समयमै बौरिएर राजनीतिमा उस्तै गतिमा सक्रिय नभए विद्यार्थी राजनीतिदेखि पार्टीभित्रसम्म प्रतिपक्षी भूमिकामा रहेका गगनको राजनीतिक यात्राको पूर्णविराम प्रतिपक्षीकै रूपमा हुने जोखिम उस्तै छ।
असार १, २०८३ सोमबार ०८:४५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।