काठमाडौंको काँठमा धान रोपाइँको चटारो
काठमाडौं : मंसिरमा मुरी फलाउन असारमा मानो रोप्ने समय सुरु भएको छ। मनसुन आगमनपूर्व नै काठमाडौं उपत्यकाको माथिल्लो (काँठ) क्षेत्रमा धान रोपाइँको चटारो छ।
यतिबेला किसानहरू खेत जोत्ने, बीउ काढ्ने र धान रोप्ने काममा व्यस्त देखिन्छन्। काठमाडौंको उत्तरी भेगमा पर्ने पलुबारी, साँखु, भद्रबास, आलापोट र गागलफेदी लगायतका स्थानमा यस वर्षको रोपाइँ सुरु भइसकेको छ।

यो वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढी हुने पूर्वानुमान छ। तर, मनसुनपूर्वको वर्षा र केही दिनयता सुरु भएको मनसुनी सक्रियताले रोपाइँको कामले गति पाएको छ।

खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा किसानहरूले हाते ट्रयाक्टरले खेत जोत्न थालेका छन्। यद्यपि, रोपाइँमा परम्परागत अर्मपर्म प्रणाली अझै कायम छ, जहाँ महिलाहरू सामूहिक रूपमा रोपाइँमा जुट्छन्।

बढ्दो शहरीकरणले घरहरूको संख्या बढ्दा खेतीयोग्य जमिन खुम्चिँदै गए पनि धान खेतीको महत्त्व र सन्दर्भ भने घटेको छैन। धान बाली नेपालको खाद्य सुरक्षाको मुख्य आधार हो। यसको महत्त्वलाई दृष्टिगत गरी सरकारले प्रत्येक वर्ष असार १५ गतेलाई 'राष्ट्रिय धान दिवस'का रूपमा मनाउँदै आएको छ।










जेठ २९, २०८३ शुक्रबार १८:०४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।