बीमा दाबी र धितोको सुन पचाउन आफ्नै पसलमा चोरीको ‘नाटक’, बुटवलका व्यवसायीसहित दुई जना पक्राउ

बीमा दाबी र धितोको सुन पचाउन आफ्नै पसलमा चोरीको ‘नाटक’, बुटवलका व्यवसायीसहित दुई जना पक्राउ

बुटवल : बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा करोडौं रुपैयाँ बराबरको सुन चोरी भएको भनिएको घटना सञ्चालककै योजनामा रचिएको नक्कली प्रपञ्च भएको खुलेको छ।

बीमा कम्पनीबाट करोडौंको क्षतिपूर्ति दाबी गर्न तथा ग्राहकले धितो राखेको सुन फिर्ता गर्ने दायित्वबाट उम्किन सञ्चालकले नै योजनाबद्ध रूपमा चोरीको नाटक गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटनामा संलग्न पसल सञ्चालक दीपक विक (सेन्चुरी) र उनलाई सघाउने कर्मचारी नवीन विकलाई प्रहरीले पक्राउ गरेको छ।

गत जेठ १७ गते पसलबाट करिब ८० तोला सुन र विभिन्न गरगहना चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले विस्तृत अनुसन्धान थालेको थियो।

घटनास्थल पुगेको प्रहरी टोलीलाई सुरुदेखि नै यो चोरी शङ्कास्पद लागेको थियो। पसलको बाहिरी सटर र च्यानल गेटमा कुनै तोडफोडको निशाना थिएन, तर भित्र रहेको सुनको लकर भने खुला अवस्थामा थियो।

पसलभित्रै चाबीको ठूलो गुच्छा फेला पर्नु र बाहिरबाट जबरजस्ती प्रवेश गरेको कुनै सङ्केत नदेखिनुले प्रहरीको शङ्का सञ्चालक दीपकतर्फ सोझिएको रुपन्देहीका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए।

व्यस्त व्यापारिक क्षेत्रमा भएको यो घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले बुटवलका १५० भन्दा बढी स्थानका सीसीटीभी फुटेजहरू सङ्कलन गरी सूक्ष्म अध्ययन गरेको थियो।

‘पोखरा’को बहाना र सीसीटीभीले खोलेको पोल
घटना हुनुअघि सञ्चालक विकले आफू पोखरा जान लागेको भन्दै हिँडेका थिए। तर, सीसीटीभी फुटेजको विश्लेषण गर्दा उनी बुटवलमै बसेर कर्मचारी नवीन विकसँग मिलेर योजना बनाइरहेको देखियो।

प्रहरीका अनुसार जेठ १६ गते राति सञ्चालक दीपक र कर्मचारी नवीन बुटवलकै एक होटलमा भेटिएका थिए। सोही रातको मध्यरातपछि दीपक आफ्नै पसलमा प्रवेश गरेको र त्यहाँ करिब दुई घण्टा बिताएको फुटेजमा देखिन्छ।

राति साढे २ बजेतिर उनी सुन र गहना भरिएको झोला बोकेर पसलबाट बाहिरिएका थिए। त्यसपछि उनी तिनाउ पुल पार गर्दै गोलपार्क र सिद्धबाबातर्फ लागेको सीसीटीभी फुटेजबाट पुष्टि भएको छ।

आर्थिक दबाबका कारण ठगीको योजना
प्रहरी अनुसन्धानका अनुसार सञ्चालक विक केही समयदेखि गम्भीर आर्थिक र पारिवारिक समस्याबाट गुज्रिरहेका थिए।

ग्राहकहरूले धितोमा राखेका सुनका गरगहना उनले पहिले नै बिक्री गरिसकेका थिए। पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर बढेपछि ती गहनाहरू पुनः खरिद गरी ग्राहकलाई फिर्ता गर्न उनी असमर्थ बनेका थिए।

चर्को आर्थिक दबाब र दायित्वबाट उम्किन उनले पसलमा चोरी भएको बहाना बनाएर एकातिर ग्राहकको धितो फिर्ता गर्न नपर्ने र अर्कोतिर बीमा कम्पनीबाट मोटो रकम क्षतिपूर्ति पाइने प्रलोभनमा यो योजना बुनेका थिए।

प्रहरीका अनुसार सोधपुछका क्रममा दीपक विकले योजनाबद्ध रूपमा चोरीको नाटक गरेको स्वीकार गरिसकेका छन्। नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जेठ २८, २०८३ बिहीबार ०९:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।