गोरखा पुगेर गगनले भने : पार्टी छोडेर जानेलाई जान दिनू, नेता होइन जनता फकाउनू
गोरखा : नेपाली कांग्रेसका सभापति गगन थापाले अवसरको खोजीमा पार्टी छोडेर जान चाहनेहरूलाई नफकाउन र अबको राजनीति नेताभन्दा जनतामा केन्द्रित गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
मंगलबार गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रको आन्तरिक सुधार र शुद्धीकरणको आवश्यकतामा जोड दिए।
उनले भने, "अहिलेको बेला पार्टी अलिकति कमजोर भएको छ भनेर कतिपय मानिस यता मौका हुन्छ, उता मौका हुन्छ भनेर कोही दौडन्छ भने दौडन दिनुस्। धेरै फकाउनेतिर पनि नलाग्नुस्। पार्टी केही साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस्।"
कांग्रेसभित्रको कमजोरी सुधार गर्नुपर्ने बताउँदै उनले भने, "पार्टीको विचार र दृष्टिकोण ठिक गरौं, हिजो गठबन्धनका कारण ध्वस्त बनाएको राजनीति सपारौं, सत्ता-सत्ता-सत्ता भनेको ठाउँमा जनता-जनता-जनता भनौं, यी कुराहरू ठिक बनाऔं, आफै ठिक भएर आउँछ, चुम्बकजस्तो तान्दै ल्याउँछ।"
पार्टीको साधारण सदस्यको महत्त्व ठूलो भएकाले त्यसको कदर र संरक्षण गर्नु सबैको जिम्मेवारी भएको उनको तर्क थियो। थापाले भने, "हाम्रो मन्त्र नेता मिलाउने होइन, अब पार्टीसँग जनतालाई मिलाउने हो। हामीसँग रिसाएका नागरिकलाई व्यवहारबाट फकाउने हाम्रो मन्त्र हुनुपर्छ, हामी यसतर्फ काम गर्छौं।"
पार्टीभित्र नेता रिसाउने डरभन्दा मतदाताको चिन्ता गर्न सुझाव दिँदै उनले भने, "फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस्। पार्टीको चुनाव चिन्हमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्। माथि, केन्द्र म मिलाउँछु। तल, जिल्ला तपाईंहरू मिलाउनुस्।"
विगतको निर्वाचनमा भएको चुनावी तालमेलप्रति टिप्पणी गर्दै उनले भने, "कांग्रेसले अर्काको चुनाव चिन्हमा भोट हाल्नु जस्तो ऐतिहासिक गल्ती अरू केही होइन।"
थापाले आगामी २०८४ को निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाटै हुने दाबी गरे। उनले भने, "अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन गयो। अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ।"
जेठ २६, २०८३ मंगलबार १७:०८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।