गायकबाट नायक बन्ने होडमा पशुपति शर्मा
काठमाडौं : गीत गाएर फिल्ममा अभिनय गर्नेहरूको सूची लामो छ, तर यसमा सफल हुनेको संख्या भने कम छ।
उदित नारायण झा, रामकृष्ण ढकाल, प्रशान्त तामाङ, यस कुमार, बाबु बोगटीदेखि पछिल्लो समय प्रकाश सपुतसम्म हेरो बन्नेहरूको सूचिमा छन्। अब यो सूचीमा लोकदोहोरी गायक पशुपति शर्माको पनि नाम थपिने भएको छ।
उनी एक अनटाइटल फिल्मका लागि अनुबन्धित भएका छन्। यद्यपि, यो फिल्म बन्ने वा नबन्ने भन्ने कुरा निश्चित छैन, तर शर्मा फिल्ममा अभिनय गर्न तयार भएको खबरले चर्चा पाएको छ।
लोकगीतमा आफ्नै छुट्टै पहिचान बनाएका शर्मामा फिल्मको नायक बन्ने सोच जागेको छ। उनले नाम नखुलाइएको एक फिल्मका लागि सम्झौता गरिसकेका छन्। जसको व्यापक हल्ला छ।
लकडाउनको समयमा नाजिर हुसेनलाई लिएर ‘चिलगाडी’ निर्माण गरेका रघुनाथ सापकोटाले नयाँ फिल्मका लागि गायक शर्मालाई अनुबन्ध गरेका हुन्। यति मात्र होइन, रघुनाथले गत माघमा 'कालकट्टी' र 'काकाको बिहे' नामक दुई फिल्म निर्माण गर्ने घोषणा पनि गरिसकेका छन्।
यी दुवै फिल्म २०८३ मा प्रदर्शनमा आउने चर्चा थियो। यसमध्ये कुनै एक फिल्ममा पशुपति शर्माले अभिनय गर्ने अनुमान गरिएको छ, किनभने दुवै फिल्मको कथा र निर्देशन अमरदीप सापकोटाले गर्नेछन्।
फिल्मको छायांकन आगामी असारको दोस्रो सातादेखि सुरु हुने चर्चा छ। यदि छायांकन समयमै सुरु भएमा रघुनाथले फिल्म निर्माण गर्नेछन्, अन्यथा चिलगाडी जस्तै हल्लामा सीमित हुनेछ।
जेठ २५, २०८३ सोमबार १७:०७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।